शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुढीगण्डकी गेजुवाले बनाउन सक्दैन्, सरकारले यसमा पूर्नविचार गर्नुपर्छ : भीमसेनदास प्रधान

बिहीबार, ०१ कात्तिक २०७५, १५ : २१
बिहीबार, ०१ कात्तिक २०७५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई दिएकोमा आपत्ति जनाउँदै उक्त परियोजना गेजुवाले बनाउन नसक्ने ठोकुवा गरेका छन् । 

राजधानीमा आयेजित एक कार्यक्रममा उनले भने, ‘म आफैँपनि सरकारमा भएको बेला बुढीगण्डकीको विषयमा टुँगो लागिसकेको थियो । नेपालमा गेजुवाको रेकर्ड राम्रो छैन् । त्यसकारण गेजुवालाई दिनु भनेको गलत हो । गेजुवाको अरु बिजनेश राम्रो छ । तर, नेपालमा उसको विगत हेर्ने हो भने उ असफल कम्पनी हो ।’ 

सरकारको उक्त निर्णयको बारेमा सबै ठाउँमा विरोध भएको उनले सुनाए । प्रधानले भने, ‘नेपालमा पनि विरोध भएको छ । सरकारले यसमा पूर्नविचार गर्नुपर्छ । यदि पूर्नविचार गरिएन भने फेरी द्वन्द्व हुन्छ । यही कारणले भोलि वर्तमान सरकार असफल हुन्छ ।’ सरकारले यो निर्णय गर्दा प्रतिपक्षी दलसँग कुनै छलफल तथा परामर्श नै नगरेको भन्दै उनले गुनासो समेत पोखे । 

उनले भने, ‘प्रतिपक्षीलाई मिलाएर लैजाने काम सरकारको हो । र, प्रधानमन्त्रीको हो । देशको नेतृत्व गरेर बसेको प्रधानमन्त्रीजस्तो व्यक्तिले पार्टीको नेतृत्व गरेर बसेजस्तो अभिव्यक्ति दिनुहुँदैन । यसले गर्दा गणतन्त्रलाई नै खतरा पर्ने सम्भावना हुन्छ ।’

चुनावको बेला तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार बनाउनको लागि तालमेल नगरेको तर बहुमत आएपछि सरकार गठन गरेको उनले स्पष्ट पारे । उनले भने, ‘त्यही पनि नेपाली जनताले दुई तिहाई बहुमतको सरकारबाट धेरै आशा गरेका थिए । केही न केही सुधार होला भनेर जनता खुशी पनि भए । तर, अहिले सरकारको निर्णय हेर्दा खुशी भन्दापनि जनता निराशा हुन थालेका हामीले महशुस गरेका छौं ।’ 

यद्धपी उनले सरकार गठन भएको थोरै समय व्यतित भएपनि हुने विरुवाको चिल्लो पात भनेझैं वर्तमान सरकारले खासै राम्रो छनक भने नदेखाएको गुनासो पोखे । 

फरक प्रसँगमा उनले संघीयता जातको लागि नभएर विकासको लागि भएको बताए । उनले भने, ‘पञ्चायतदेखि अहिलेसम्म नेताहरुले तीन–तीन ठाउँमा (पहाड, मधेश र काठमाडौं) मा घर बनाए, तर देश बनाउन सकेनन् । अब देश बनाउने हो भने मुख्यमन्त्रीहरुले विशेष भूमिका खेल्नुपर्छ । झापा, इलाम, डढेलधुराका नेता प्रधानमन्त्री भएका छन्, तर अहिलेसम्म त्यो ठाउँको विकास भएन् । किनकी उनीहरुको स्थायी बसोबास काठमाडौंमा भएको छ । उनीहरुलाई जिल्लाको माया छैन् ।’ त्यस्तै उनले अहिले काठमाडौंलाई अस्तव्यस्त बनाईएको भन्दै आक्रोश समेत पोखे । 

संघीयता मास्ने अवस्था नरहेको पनि प्रधानले स्पष्ट पारे । उनले भने,‘संघीयता विकासको लागि हो । त्यसैले यो मास्ने अवस्था छैन । अब राजतन्त्रपनि फर्किँदैन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप