शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यतिको एटीआर विमान काठमाडौँमा

शनिबार, ०७ साउन २०७४, १७ : ०८
शनिबार, ०७ साउन २०७४

काठमाडौं– निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटीआर ७२–५०० विमान भित्र्याएको छ । काठमाडौँमा शनिवार अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा खरिद गरेको हो । 

फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरबाट थाइल्याण्ड र थाइल्याण्डको च्याङमाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । 

यती एयरलाइन्सले आफ्नो सेवा थप विस्तारित गर्ने उद्देश्यका साथ एमएसएन ८७६ सहितको एटीआर विमान थपेको घोषणा गरेको हो । नेपाली दर्ता नम्बर ९एन–एएमएन (म्यानुफ्याक्चरिङ सिरियल नम्बर) रहेको नयाँ विमान एफएए÷ईएएसए चाप प्रमाणित नेपाली आन्तरिक उडान क्षेत्रकै सर्वाधिक नयाँ (कान्छो) विमान भएको कम्पनीले जानकारी दिएको छ । 

ट्विन ईञ्जिन सहितको एटीआर७२–५०० फ्रेञ्च–ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हुँदै गइरहेको छ । त्यसैगरी, वैश्विक बजारमा निरन्तर विस्तारित हुँदै विश्वका नयाँ बजारमा समेत प्रवेश पाइरहेको छ । 

एटीआर७२–५००लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दूई ओटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यू१२७ ईञ्जिनले शक्ति प्रदान गर्ने जनाइएको छ । यी अत्याधुनिक प्रविधि सुसज्जित इञ्जिन र प्रोपेलरले अद्वितिय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, इन्धन मितब्ययी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्ने कम्पनीले जनाएको छ । 

सो विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए । उनका अनुसार यो विमानले सातापछि विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान थाल्नेछ । यो एटिआर विमानसँगै यतिका अब सातवटा विमान भएको छ । हाल यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान जहाज सञ्चालन गरिरहेको छ । 

यतिले यसवर्षभित्र थप दुई एटिआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी भएको र एक महिनापछि अर्को विमान आउने व्यवस्थापक राईले जानकारी दिए । बुद्ध एयरले सुरुमै चारवटा एटिआर विमानबाट सेवा दिँदै आएको छ । 

भौतिक पूर्वाधार साँघुरो रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा एटिआर विमानले सहजता हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।  

“उडान सञ्चालनमा सहज हुन्छ, साना विमानको भीडमा ठूलो विमान हुँदा आकाशमा ‘होल्ड’ गर्नुपर्ने अवस्था आउँदैन, ‘एयर ट्राफिक’ जाम पनि हुँदैन र यसले ‘फ्रिक्वेन्सी’ जाममा पनि नपर्ने हुँदा उडानमा सहजता हुन्छ”– उनले भने ।  

प्रवक्ता ठाकुरले विमानस्थलको क्षमता साँघुरो भए पनि पर्यटन प्रवद्र्धनार्थ जहाज थपिनु सकारात्मक भएको धारणा व्यक्त गरे । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप