शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली सरकारले दुईतिहाई बहुमतको दम्भको ताण्डव नृत्य देखाईरहेको छ : बस्नेत

शनिबार, ०३ कात्तिक २०७५, १८ : ००
शनिबार, ०३ कात्तिक २०७५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार गरिरहेको गम्भिर आरोप लगाएका छन् । 

उनले भने, ‘सरकारले दुई तिहाई बहुमतको दम्भसमेत देखाएर जुन किसिमले लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार गर्नेमात्रै होईन, राज्यको चौथो अंगको रुपमा रहेको मिडियाको क्षेत्रलाई समेत आक्रमण गर्न थालेको छ ।’  

शनिबार एक कार्यक्रममा बोल्दै नेता बस्नेतले वर्तमान सरकार दुई तिहाई बहुमतको दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाईरहेको गम्भिर आरोप लगाए । उनले भने, ‘सरकार पूर्ण रुपमा असफल भएको छ भन्ने कुरा जसले यो सरकारलाई समर्थन गर्नुभएको छ, उहाँहरुले पनि यो कुरा भनिसक्नुभएको छ । देशमा अहिले शान्ति, सुरक्षाको अवस्था दयनीय छ । दशैंजस्तो चाडको बीचमा महँगी अत्यधिक बढेको छ । बलात्कारको घट्ना सबैभन्दा बढि यो अवधिमा भएको छ ।’

उनले भने, ‘बलात्कारीहरुलाई पत्ता लगाउनुको साटो सरकारले प्रमाणहरु लुकाउने काम गर्यो  जतिवटा छानबिन आयोग गठन भएपनि अहिलेसम्म गहिराई त परै जाओस् सतहीमा पनि पुग्न सकेको छैन् । किनभने जसले छानबिन गर्नुपर्ने हो, उनीहरुले घट्नामा मुछिएका छन् भन्ने कुरा बाहिर आएका छन् ।’

जनताले बलात्कारीलाई पत्ता लगाएर कारबाही गर्नुपर्छ, महँगी नियन्त्रण गर्नुपर्छ, बाटोघाटो बनाउनुपर्यो भनेर गुनासो पोख्न थालेपछि प्रधानमन्त्रीजस्तो व्यक्तिले भन्नै नहुने कुरा बोलेको पनि उनले गुनासो पोखे ।
उनले भने, ‘उहाँजस्तो व्यक्तिले भन्नै नहुने कुरा अरिंगाल भएर हाम्रा कार्यकर्ताहरु प्रस्तुत हुनुपर्छ भन्नुभयो । सरकारमा गएर नेतृत्व गरेको व्यक्तिले मौरी भएर जनतालाई मह पो देउ भनेर भन्नुपर्यो । जोकरशैलीमा मात्रै सरकार चल्न सक्दैन् । प्रधानमन्त्रीले गम्भिर विषयहरुलाई सामान्य रुपमा लिएको अवस्था छ ।’

प्रमुख प्रतिपक्षीको तर्फबाट कांग्रेसले आफ्ना कुराहरु राखिरहेको पनि उनले सुनाए । उनले भने, ‘कांग्रेसले आफ्ना कुराहरु राखिरहेको छ । चाहे महँगीको विषयमा होस् । चाहे संविधान कार्यान्वयन गर्ने कुरा होस् । चाहे लोकतन्त्रका बारेमा होस् । चाहे प्रेसमाथिको हस्तक्षेपका बारेमा होस् । हामीले सिंहदरबारको अधिकार गाउँ गाउँमा लैजाने भन्यौं । बजेट विनियोजनमा ११–१२ प्रतिशतभन्दा बढि स्थानीय तहमा पुगेको छैन् । हामीले भन्नुपर्दैन् । सत्तारुढ पार्टीका सांसदहरुको डेलिगेशन आएर, त्यतिमात्रै होईन मुख्यमन्त्रीहरुको डेलिगेशन आएर भनेका छन् । सांसदहरुले त अहिलेका अर्थमन्त्री फेर्न पर्यो भन्नुभएको छ ।’

सही ढंगबाट आफुहरुलाई अधिकार प्रत्यायोजन गरिएन भनेर मुख्यमन्त्रीहरुले गुनासो पोखेको पनि उनले बताए । उनले भने, ‘केन्द्रले हामीलाई कुण्ठित गर्यो । संविधान अनुसारको अधिकारको अधिकार पाईएन भनेर उहाँहरुबाट गुनासाहरु आएका छन् ।’ 

मुलुकलाई संघीय ढाँचामा लैजानुपर्छ भने मधेशकेन्द्रित राजनीतिक दलहरुले धेरै ठूलो आवाज उठाएको पनि उनले बताए । उनले थपे, ‘उनीहरुले आवाजमात्रै उठाएनन्, धेरै व्यक्तिहरु सहिदपनि भए । अन्तत्वगत्व मुलुक संघीय संरचनामा गयो । हामी सबै लाग्यौं । मधेश केन्द्रित दलहरुले डबल स्ट्याण्ड देखाएकोजस्तो पनि भैरहेको छ । उहाँहरुले यो सरकारलाई दुई तिहाई बहुमतपनि दिलाउनुभयो ।अनि संविधान संशोधन भएनपनि भनिदिने । संविधान संशोधनको लागि वजनदार कार्यक्रमहरु पनि नल्याउने । त्यसले गर्दा अहिले अन्यौलतापनि भैरहेको छ। तर, सरकारले अहिले राजपालाई जुन ढंगले झुक्याईरहेको अवस्था छ, यसले गर्दा राजनीतिक माहोल एकतावद्ध हुन सकेको छैन् । नेपाली कांग्रेसले जहिलेपनि तपाईहरुको पक्षमा छ । हामी तपाईहरुको समर्थनमा छौं ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको क्रममा जनकपुर र मुक्तिनाथ जाँदा भारतीय मिडियालाई लाईभ रिपोर्टिङ गर्न दिईएको तर नेपाली मिडियाकर्मीहरुलाई प्रवेश निषेध गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘हाम्रा नेपाली मिडियाकर्मीहरु हेरेरमात्रै बस्नुपर्यो । सेना प्रवेश भएको छ । त्यतिमात्रै होईन, संयुक्त सैन्य अभ्याससमेतको कुरा उठ्यो । नेकपाभित्रकै हैसियत राख्ने नेताहरुले विरोध गर्नुभयो । हुन त नेपालले भाग लिएन् । तर, त्यहीभित्रको विरोधका कारण हुन सकेन् । कहाँ पुग्यो राष्ट्रवाद ? यही हो राष्ट्रवादको परिचय ? आज नेपालको नक्शा साँघुरिएको छ । अहिले भर्खरै आईरहेको नक्शा सानो नक्शा आईरहेको छ। यो कुरा व्यापक चर्चाको विषय भैरहेको छ । सत्तारुढ दलकै देशभक्त नेताहरुले यो कुरा बुझिरहनुभएको छ । तर, हिजो राष्ट्रवाद बोक्नेहरु आज सरकारमा बसिरहनुभएको छ। उहाँहरु आज के हेरिरहनुभएको छ ?’

उनले सिमाका खम्बाहरु ठाउँ–ठाउँमा मिचिँदा विरोध र आन्दोलन हुँदापनि सरकारले आधिकारिक भाषा कहिले बोलेको छ भन्दै प्रश्न गरे । उनले भने, ‘मेरो यो सरकारलाई प्रश्न छ । आज देशमा सिमा क्षेत्रमा त्यत्रो बबाल भैरहेको छ । मलाई याद छ, सत्तामा नहुँदा चाहे तत्कालिन् नेकपा माओवादी होस् चाहे एमाले होस्, कहिले कालापानीमा मार्चपास भनेको छ, त कहिले लिपियाधुरीमा मार्चपास भनेको छ । तर सत्तामा गएपछि त्यो उत्रियो । मुलुक रहे त हामी रहन्छौं । मुलुक रहे त हामी सबै राजनीतिक दल रहन्छौं ।’

बुढीगण्डकीजस्तो ठूलो राष्ट्रिय योजना चिनीयाँ कम्पनी गेजुवालाई दिएकोमा उनले आपत्ति जनाए । उनले भने, ‘सारा विज्ञहरुले यो राष्ट्रघाती कदम भनिरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यो निर्णय उल्टाएको थियो । नेपाली जनताले त्यो आवश्कत्ता औंल्याएका थिए । नेपालका मिडियाहरुले त्यो आवश्कत्ता औंल्याएका थिए । नेपालका विज्ञहरुले पनि त्यो औंल्याएका थिए । हामीले जनताको भनाई सही हो भनेर नै निर्णय उल्टाएका थियौं । फेरी अहिले बिना टेण्डर यस्ता यस्ता खर्बौ, खर्बौं रुपैयाको हाम्रो राष्ट्रिय सम्पत्तिहरु कसैलाई जिम्मा लगाईन्छ । के सँग साटिएको छ यी परियोजनाहरु ?’

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने क्रममा कोष्टारिका किन गएको भन्दै प्रश्न गरे । उनले भने, ‘कोष्टारिका जानुपर्ने के काम थियो ? खर्च कटौतीको कुरा धेरै भएको थियो । विदेश भ्रमण रोक्ने भनिएको थियो । अहिले चीनमा विदेश भ्रमण त्यो बाटोमै दर्घट्ना होलाजस्तो छ (आवातजावत) हेर्दाखेरि, दर्जनौं टोलीले नेतृत्व गरेर भैरहेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप