शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चोटग्रस्त मेस्सी तीन साता मैदान बाहिर, बार्सिलोना चिन्ताग्रस्त

आइतबार, ०४ कात्तिक २०७५, १२ : ३४
आइतबार, ०४ कात्तिक २०७५

काठमाडौँ -  बार्सिलोना फुटबल क्लब आफ्ना कप्तान तथा उच्च लयमा रहेका स्टार खेलाडी लियोनल मेस्सी चोटग्रस्त हुँदा चिन्ताग्रस्त बनेको छ । 

स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभियाविरुद्धको खेलका क्रममा घाइते बनेका बार्सिलोना कप्तान मेसी कम्तीमा तीन साता  मैदान बाहिर रहने भएका छन् । 

अर्जेन्टाइनी मेस्सी सेभियाबाट खेल्ने उनकै देशका खेलाडी फ्रान्को भाज्क्वेजसँग बल खोस्ने क्रममा ठोक्किएपछि मैदानमा लडेका थिए ।

बार्सिलोनाले ३१ वर्षीय मेसीको दायाँ हातको पाखुराको हड्डी फ्याक्चर भएको पुष्टि गरेको छ । मेस्सीलाई निको हुन कम्तिमा तीन साता लाग्नेछ । 

मेस्सी तीन साता मैदान बाहिर रहँदा ६ खेल गुमाउने छन् । यसमा ला लिगाका तीन, च्याम्पियन्स लिगका दुई तथा कोपा डेल रेको एक खेल रहेका छन् । 

मेसीले यसै साता कात्तिक ७ मा हुने च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँगको खेल गुमाउने छन् भने अर्को साता कात्तिक ११ मा हुने रियल म्याड्रिडविरुद्धको एल क्लासिको पनि खेल्ने छैनन् । 

यस्तै कात्तिक १४ मा लिओनेसा, कात्तिक १७ मा रायो भालेकानो, कात्तिक २०मा इन्टर मिलान तथा कात्तिक २५मा रियल बेटिसविरुध्दका खेलसमेत मेस्सीले गुमाउने छन् ।

मेसीले सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेका थिए । उनले १२ खेल खेल्दै १२ गोल गरिसकेका छन् । 

सेभियाविरुद्धको खेलमा २४औँ मिनेटमा घाइते हुनुअघि नै मेस्सीले एक गोल र एक असिस्ट गरेका थिए । उनले १२औँ मिनेटमा गोल गरेका थिए भने दोस्रो मिनेटमा फिलिप कोन्टिन्होले गरेको गोलका लागि पास मिलाई दिएका थिए । 

चोटग्रस्त मेसी ठीक होलान् कि भनी बार्सिलोनाका फिजियोले उनको हातमा ब्यान्डेज लगाएका थिए । तर, अत्यधिक दुखाइका कारण मेसीले खेल्न सकेनन् । उनको स्थानमा २७औँ मिनेटमा ओस्मान डेम्बेले मैदान प्रवेश गरेका थिए ।

मेसी मैदानबाट बाहिरीएपछि लुइस सुआरेजले बार्सिलोनाको आक्रमण सम्हालेका थिए । उनले त्यसक्रममा एक गोल पनि गरेका थिए । पछिल्लो ६ खेलमा गोल गर्न नसकेका सुआरेजले मेसीको अनुपस्थितिको अभाव खड्कन नदिन अब यस्तै प्रदर्शनलाई निरन्तरता दिनुपर्ने छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप