बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टिकटक : विश्वभर सामाजिक सञ्जालमा छाएको चिनियाँ एप

आइतबार, ०४ कात्तिक २०७५, १५ : ०६
आइतबार, ०४ कात्तिक २०७५

एजेन्सी । चिनियाँ सामाजिक सञ्जालका एपले बिरलै आफ्नो घरेलु प्रयोगकर्ताभन्दा बाहिर लोकप्रियता हासिल गरेको इतिहास छ । 

तर, यो परिस्थितिलाई बदल्दै छ टिकटकले ।

मात्र दुई वर्षको समयमा यो एपका आधा अर्बभन्दा बढी प्रयोगकर्ता भइसकेका छन् । जसमध्ये ४० प्रतिशत चीनबाहिरका रहेका छन् । 

यस एपबाट प्रयोगकर्ताहरुले लिप सिङ्क गर्दै आफू नाचेको, अभिनय गरेको वा रमाइलो गरेको भिडियोहरु सेयर गर्ने गर्नेछन् ।

बेइजिङमा रहेको स्टार्टअप बाइटडान्सले शुरु गरेको टिकटक एपले चीनका अन्य स्थापित सोसल मिडिया प्लाटफर्म जस्तै, टेनसेन्टको विच्याट, सिना वेइवो र अलिबाबाको योउकुलाई पनि पछि पार्न सफल भएको छ ।

‘फेसबुक, ट्वीटर र स्नापच्याट जस्ता विदेशी कम्पनीका प्लाटफर्महरुले सामाजिक सञ्जालमा अधिपत्य जमाइरहेको अवस्था बाइटडान्सको यो एपले आफूलाई भिन्नरुपमा उभ्याउन सफल भएको छ,’ एनालाइटिक फर्म सेनसर टावरमा मोबाइल इन्साइटका प्रमुख र्यान्डी नेलसन भन्छन् ।

सामाजिक भिडियो एपले यो वर्ष झनै लोकप्रियता हासिल गर्न सफल रह्यो । सेन्सर टावरका अनुसार विश्वभर डाउनलोड भएका शीर्ष १० एप मध्ये तीन सामाजिक सञ्जालको भिडियो एप थियो । त्यसमध्ये दुईवटा बाइटडान्सको टिकटक र भिगो थियो । अर्को थियो, फेसबुकको इन्सटाग्राम ।

बाइटडान्सको सफलताले ठूला बाइटडान्सले ठूला लगानीकर्ताहरु आकर्षित गरिरहेको छ । पछिल्लो समय टेक किङमेकर सफ्टबैंकले लगानीको लागि छलफल गरिरहेको छ  । यसपछि कम्पनीको मूल्य ७५ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । जबकी पछिल्लो वर्ष यसको मूल्य करिब २० अर्ब डलर मात्र थियो ।

यसो भएको खण्डमा उबरसँगै बाइटडान्स विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप हुनेछ ।

यसबारेमा बाइटडान्सले कुनै प्रतिक्रिया दिन चाहने भने सफ्टबैंकले पनि कुनै प्रतिक्रिया दिएन ।

मानिसलाई अल्झाउन एआईको प्रयोग

बाइटडान्सले आफूलाई आर्टिफिसियल इन्टिलिजेन्स कम्पनी भन्न रुचाउँछ । यसले मेसिन लर्निङ र एल्गोरिदमको प्रयोग गरेको मानिसहरुको रुची पत्ता लगाउँछ र उनीहरुले चाहेको कुरा प्रस्तुत गर्छ ।

यो कम्पनी चीनमा चर्चित न्युज एप जिनरी टाउटियाओ वा ‘टुडेज् हेडलाइन्स’ का लागि चनिन्छि । यो उसले सन् २०१२ मा लञ्च गरेको थियो । यसको कस्टमाइज्ड न्युज फिडबाट मानिसहरु तत्कालै यो एपमा आकर्षित बनेका थिए । 

यो एपको हाल २४ करोड मासिक प्रयोगकर्ता रहेका छन् भने उनीहरुले हरेक दिन औसत ७४ मिनेट यो एपमा बिताउने गरेका छन् ।

बाइटडान्सले यही फर्मूला सन् २०१६ मा लञ्च गरिएको डुओयिन नामक भिडियो एपमा प्रयोग गर्यो ।

यसमा स्नापच्याट जस्तै फङ्गसनहरु रहेका छन् जसमा प्रयोगकर्ताले १५ सेकेन्ड लामो भिडियोलाई सामाजिक सञ्जालमा पोष्ट गर्न अघि फिल्टरहरु राखेर इडिट थर्न सक्छन् । 

विश्व बजारमा प्रवेश

बाइटडान्सले शुरुमा नै विश्वबजारमा प्रवेश गर्ने लक्ष्य लिएको थियो । उसले सन् २०१५ मा अंग्रेजी समाचार एप ‘बज’बाट पहिलो अन्तर्राष्ट्रिय उत्पादन शुरु गरेको थियो ।

पछिल्लो वर्ष बाइटडान्स निकै आक्रामक देखियो । मात्र १० महिनाको अवधिमा कम्पनीले लस एन्जलिसको भिडियो स्टार्टअप फ्लिपग्रामलाई किन्यो, डाउयिनको विदेशी भर्सन टिकटक रिलिज गरयो र ८० करोड डलरमा अमेरिका र पश्चिमा देशमा लोकप्रिय म्युजिकल.लीलाई किन्यो ।

फ्लिपग्रामलाई अहिले भिगो भनेर चिनिन्छ भने म्युजिकल.लीका प्रयोगकर्ताहरु टिकटकमा समावेश भइसकेका छन् ।

यसले एसियामात्र नभएर युरोप र उत्तर तथा दक्षिण अमेरिकामा प्रयोगकर्ताहरु बढाउन मद्दत गर्यो ।

सेन्सर टावरका अनुसार बढ्दो प्रयोगकर्ताको अनुपातले बाइटडान्सलाई विश्वकै पाँचौ ठूलो एप निर्माता कम्पनी बनाएको छ ।

सन् २०१८ को तेस्रो क्वाटरमा पछिल्लो वर्षको तुलनामा टिकटकको डाउनलोड पाँच गुणाले बढेको छ ।

बाइटडान्सका अनुसार टिकटक डाउयिनको अहिले ५० करोड मासिक प्रयोगकर्ता रहेका छन् ।

यो ट्वीटरभन्दा बढी हो भने इन्सटाग्रामभन्दा आधा मात्र कम हो ।

टिकटकको लोकप्रियताले एप्पलका सिइओ टिम कुकको समेत ध्यान तान्न सफल रह्यो । गत हप्ता उनी बाइटडान्सको हेडक्वाटर्समा नै पुगेका थिए ।

आयको सम्भाव्यता

लगानीकर्तालाई बाइटडान्स मनपर्छ किनभने यसका करोडौँ प्रयोगकर्ताले विज्ञापनको ठूलो राशी आकर्षित गर्छ ।

बाइटडान्सले आफ्ना एपहरुले भित्र्याउने आयको बारेमा खुलाएको छैन । तर, स्रोत भन्छ टोउटियाओले चीनबाट मात्र २.९ अर्ब डलर संकलन गरेको थियो ।

यसका भिडियो एप झनै युवाहरुमा निकै चर्चित रहेको छ ।

सरकारसँग टकराव

यो स्टार्ट अपको लोकप्रियतासँगै चिनियाँ सरकारको ध्यानाकर्षित भएको छ ।

फेसबुक र ट्वीटर जस्तै बाइटडान्स पनि फेक न्युज र अनुचित कन्टेन्टको समस्याबाट जुझीरहेको छ ।

गत वर्ष सरकारी अधिकारीहरुले अनुचित कन्टेन्टको कारण देखाउँदै २४ घण्टा टाउटियाओलाई बन्द गरेको थियो ।

त्यस्तै, बाइटडान्सको नेइहान डुआन्झी नामक एपलाई अश्लिल सामाग्री तथा अनुचित समाजिक राय प्रस्तुत गरेको भन्दै पूर्णकालिन रुपमा बन्द गरिएको थियो ।

बाइटडान्सले यसबारे माफी माग्दै यस्ता कन्टेन्टलाई रोक्न थप जनशक्ति थप्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप