मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पुस्तक लेखेको आरोपमा अर्थशास्त्री गिरफ्तार

सोमबार, ०५ कात्तिक २०७५, १६ : ५४
सोमबार, ०५ कात्तिक २०७५

कायरो– इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ । 

फारुकले गत साता आफ्नो पुस्तक ‘के इजिप्ट साँच्चिकै गरिब मुलुक हो ?’ का कैंयौं प्रति सुरक्षाकर्मीले जफत गरेको बताएका थिए । 

‘उहाँलाई गिरफ्तार गरिएको छ र पुस्तककै कारण उहाँलाई राज्य सुरक्षा अभियोजक समक्ष भोलि उपस्थित गराइनेछ,’ मानवअधिकार सूचनाका लागि अरब सञ्जालको नेतृत्व समेत गरिरहेका कानुन व्यवसायी गमाल इदले बताए । 

फारुक विरुद्धको मुख्य आरोपका बारेमा सरकारी अभियोजनकर्ताले निर्णय गर्नेछन्, इदले भने ।  प्रहरीले पनि पुस्तककै कारण गिरफ्तार गरिएको मौखिक जानकारी गराएको बताइएको छ । 

इजिप्टको राष्ट्रपतिका रुपमा सन् २०१४ मा अब्देल फतेह अल–सीसी सत्तामा आएपछि मानव अधिकार समूहहरुले सबैजसो विपक्षीहरुलाई इजिप्ट सरकारले दबाएको आरोप लगाउँदै आएका छन् । 

सरकारी अधिकारीहरुले आफ्नो मुख्य लक्ष्य आतङ्कवादसँग लड्नु र गलत सूचना फैल्याउने कार्य रोक्नु रहेको बताएका छन् । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप