मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मातृका यादवले जन्माए मधेशमा अर्को संगठन

शनिबार, ०७ साउन २०७४, १९ : ५४
शनिबार, ०७ साउन २०७४

काठमाडौं – विभिन्न गठबन्धन, मोर्चा र समितिमार्फत मधेशमा आन्दोलन भइरहेको अवस्थामा शनिबार अर्को एक संगठनको जन्म भएको छ ।
‘एक मधेश एक प्रदेश’को माग राखि मधेशमा संघर्षका पाँच सदस्यीय मधेशी भ्वाइस एसम्बली गठन भएको छ ।


माओवादी केन्द्रको भातृ संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा र संयुक्त राष्ट्रिय मधेशी आन्दोलन समितिले शनिवार संयुक्त रुपमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सो एसम्बेली गठन भएको हो ।
सो एसम्बलीमा माओवादी केन्द्र कार्यालय सदस्य मातृका यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, नयाँ शक्ति नेपालका नेता डा.रामकेवल साह रहेका छन् ।
मधेशको एजेण्डा तथा संघीयता, समावेशीलगायतका विषयमा मधेशी जनतामा चेतना फैलाउनुको साथै संयुक्त मोर्चा निर्माणका लागि पहल गर्ने काम यो एसम्बेलीले गर्ने नेता मातृका यादवले बताए ।


वृहत आन्दोलनको तयारी गर्नुको साथै तराई मधेशका विभिन्न क्षेत्रका राजनीतिक प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना भइरहेको नेता यादवले जानकारी गराए ।
मधेशमा वृहत गठबन्धन निर्माण नगरेसम्म राज्यसँग अधिकार लिन नसकिने बताउँदै राजपा नेपालका अध्यक्ष महेन्द्र राय यादवले मधेशको आन्दोलन कमजोर भएको स्वीकार गरे । 

यसअघि गठन भएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेर मधेशमा यत्रो आन्दोलन गरे, मोर्चाका नाममा सहादत दियो तर मधेशी नेताको आपसि कटुताका कारण मधेशी मोर्चा विघटन भएको बताए ।


मधेशी टुट्नु हुँदैन, फेरि जोड्नका लागि प्रयास हुने बताउँदै उनले मधेशवादी दलको आन्तरिक कलहका कारण आन्दोलन सफल नहुने कुरामा जोड दिए । अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै उनले भने, मधेशवादी दलबीच धेरै कटुता बढेको छ, मधेशी दल बाहिरबाट राम्रो देखिए पनि भित्र भित्र चिरा परिसकेको छ ।’
उनले सविधान संशोधनको विधेयकमा आफूहरुको समर्थन रहेको उल्लेख गर्दै यो विधेयक पारित भएपछि मधेशी, आदिवासी जनजातिको थुप्रै मागहरु पूरा हुने विश्वास व्यक्त गरे । यदि सविधान संशोधन हुन सकेन भने चुनावमा नजाने बताउँदै उनले प्रमुख तीन दल जानी जानी आफूहरुलाई चुनावभन्दा बाहिर राखेको आरोप पनि लगाए ।


यदि यो तेस्रो चरणको चुनावमा मधेशी दलले भाग लिएन भने यो तरिकाको आन्दोलन नहुने चेतावनी दिँदै उनले राजपा नेपालले अर्कै खालको आन्दोलन गर्ने चेतावनी दिए । उनले यो चुनावमा सहभागि नभए प्रदेश र केन्द्रको चुनावमा पनि सहभागि नहुने बताए । उनले आफूहरु प्रवासमा बसेर मधेशका लागि कडा आन्दोलन गर्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप