मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘मैले जस्तो पीडा कसैले भोग्न नपरोस्’

मङ्गलबार, ०६ कात्तिक २०७५, १३ : ०१
मङ्गलबार, ०६ कात्तिक २०७५

किरण कुमार कर्ण

जनकपुर – भनिन्छ, दैब नै दाहिने नभए कसैको केहि लाग्दैन ! 

‘दैबको देन वा मेरो कर्मको फल । तर मैले जस्तो पीडा अरु कसैले भोग्न नपरोस् म भगवानसँग कामना गर्छु  । मैले त कष्टका साथ नै बाँच्ने अठोट गरिसकेको छु’ महोत्तरी गौशाला नगरपालिका वडा नम्बर १ का धनेश्वर महतो आफ्नो शरिरका मासुका डल्ला देखाउँदै पीडा व्यक्त गर्छन् ।

महतोको शरिरका प्रायः सबै भागमा मासु पलाएको छ । ‘आफूलाई आफैले हेर्दा, हिँडडुल गर्दा दिक्क लाग्छ’ उनले भने, ‘मलाई देखेर अरुले फर्कीफर्की कुरा नकाटुन्, बालबालिका नडराउन्, कसैले छिछी र दूरदूर नगरुन् भन्ने मलाई पनि लाग्छ । तर वर्षाैंदेखि यो अथाह पीडाको सागरमा घरपरिवार तथा छोराछोरीको माया एवं स्नेहका कारण बाच्दैछु ।’

शरीरमा पलाएको मासु देखेर स्कुलका साथीहरुले समेत घृणा मानेपछि पढ्दापढ्दै १० कक्षा पास नगरी उनले आफ्नो पढाइको यात्रा टुङ्ग्याउनुप¥यो । ‘साथीहरु मलाई देखेर परपर भाग्न थाले, घिनाउन थालेको सहनै सकिनँ, त्यसपछि स्कुल जानै छाडेँ । सँगै पढेका साथीहरु अहिले कहाँ–कहाँ पुगिसके’, उनले गुनासो गरे । 

उनको शिरदेखि पैतलासम्म जताततै मासुको पोका (डल्ला) छन् । मकैको दानादेखि अण्डा वा आलु जत्रा मासुका थैला सुत्दा र बस्दा पेलिएर असैह्य हुन्छ । 

सुत्न बस्न नमिलेर छट्पटिई–छटपटिई रात काट्दाको सकस बयान गरी साध्य नभएको उनी सुनाउँछन् । 

त्यसभन्दा बढी पीडा त भोलिपल्ट स्कुलमा आफूसँग डराएर सँगैका साथी भाग्दा उनलाई हुन्थ्यो रे । राती दिनको सम्झनाले बुबाआमासँग रुने गर्थे धनेश्वर । अहिले गाउँ नजिकैको गौशाला बजार, विशाल बजार र सुर्तिविकास बजार जाँदा सडकमा मान्छे उनलाई देखेर तर्सन्छन । कोही दुर्वचन पनि बोल्छन् । बालबालिका डराएर भाग्छन् त बस चढ्दा उनी सिटमा बसे भने सँगै बसिरहेको यात्रु सिट छोडेर उभिने गर्छन् ।

यो सम्झेर उनी रातभर सोच्न बाध्य हुन्छन् । पहिले र अहिलेको रुवाइमा फरक यत्ति छ, पहिले सानो छँदा बुबाआमासँग रुन्थे, अहिले रुन छाडेर सोच्ने गर्छन् । ३६ वर्षका धनेश्वरको पीडा साटासाट गर्ने, दुःखेसो पोख्नुबाहेक अरु कुनै विकल्प छैनन् । 

‘मेरो पीडा बुझ्ने यो संसारमा भगवान त छैनन्’ उनी भन्छन्, ‘बुबा वित्नुभो, आमा र जहान छोरा, छोरी र भाईको साथसहयोगले बाँचिरहको छु ।’

एउटा सामान्य मानिस भएर बाच्ने रहर महतोमा नहुने कुरै भएन । ‘भगवानले मलाई त्यो लायक नै बनाएनन्’ धिक्कार्दै उनी भन्छन् ‘शरीरको कुनै पनि ठाउँ मासुको डल्लो नभएको छैन । पिठ्युको ठूलो डल्लो त म अडेस लाग्दा, सुत्दा पेलिएर फुट्छ । कहिले काँही रगत समेत आउँछ, तर सहेरै बस्नुपर्ने बाध्यता छ । कहिलेकाँही त जीवन जीउँनु भन्दा मर्नु नै ठीक लाग्छ, तर फेरी छोराछोरी र जहानलाई सम्झेर पीडा विर्सनुको विकल्प छैन ।’

धनेश्वरको शरिरमा जन्मदै औँलामा एकमात्र गिर्खा थियो । उनी झण्डै १ वर्षको हुँदा घरपरिवारले त्यो गिर्खालाई लौवा (हजाम) बाट काट्न लगाए । त्यसपछि दिनदिनै शरिरभरी मासुको डल्ला पलाएको आमा रामवती देवी महतोले सुनाईन् । 

उनले भनिन् ‘जन्मँदा दाँहिने हातको एउटा औलामा एउटा गिर्खा मात्र थियो, पछि त्यसलाई काटेपछि विस्तारै फैलियो’ उनले कष्टदायी आवाजमा व्यथा सुनाउदै थपिन् ‘हामीले त हातमा हुँदा राम्रो देखिदैन, तेल मालिस गर्न समेत असहज हुन्छ, त्यही भएर काट्न लगायौं तर त्यसको पाप हामीलाई छोडेर मेरो छोरालाई लाग्यो’ उनले यसो भन्दै गर्दा भक्कानो छुटाइन् ।

धनेश्वरलाई घर वरपर तथा टोल छिमेकका प्रायः सबैले माया गर्छन् । स्थानीयवासीले माया, स्नेह तथा सहयोगले नै होला अहिलेसम्म उनी आफ्नो दुःख र पीडा विर्सेर घरपरिवारको साथमा बाँचेका छन् । 

‘ज्यानभरी फोकै–फोका छ, सानो तिनो काम बाहेक अरु केही गर्न सक्दैनन्, गहु्रगों वस्तु बोक्न–उठाउन पनि सक्दैन, तर के गर्नु श्रीमान् हो, माया त लाग्छ न’ै धनेश्वरकी श्रीमति तिलादेवी महतो पीडा सुनाउँछिन् । 

उनले भनिन् ‘ठीक होस् भन्ने चाहना कस्को हुदैन र, त्यो पनि मेरो आफ्नै श्रीमानको अवस्था हेरेर उहाँभन्दा बढी पीडा मलाई हुन्छ, तर के गर्नु सबै सहेर बस्नुपर्छ ।’ उनले औषधी उपचार गरेपनि निको नभएको बताइन् । ‘हजारौं खर्च भईसक्यो तर, अलिकति पनि ठीक भएन । ठीक भईदिए अर्को जुनी पाएको जस्तो हुन्थ्यो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप