बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा द्रुत राहदानी बनाउने बढ्दै

मङ्गलबार, ०६ कात्तिक २०७५, १४ : ५७
मङ्गलबार, ०६ कात्तिक २०७५

कपिलवस्तु– कपिलवस्तुमा द्रुत राहदानी सेवा अन्तर्गत राहदानी बनाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । द्रुतसेवा लिँदा राजश्व दस्तुर दोब्ब परे पनि सो सेवा लिनेहरु बढ्दै गएका छन् ।

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटाले सो सेवा दिँदै आएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को दुई महीनामा जिल्ला प्रशासन कार्यालयबाट एक हजार २९६ सिफारिश भएका राहदानीमध्ये ९१५ जनाले बनाएका छन् । यस्तै इलाका प्रशासन कार्यालय बाणगङ्गाबाट दुई महीनामा ४८ वटा द्रुत राहदानी वितरण भएको छ । 

गत भदौ १५ गतेदेखि राहदानी वितरण गर्ने काम शुरु गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले अहिलेसम्म द्रुत राहदानी १० थान वितरण गरेको छ । पछिल्लो दुई महिनामा मासिक सरदर एक हजार २०० सयभन्दा बढीले राहदानी बनाएका छन् ।

तीनवटै निकायवाट आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ५९६ सिफारिश भएका राहदानी फाराममध्ये ६ हजार १२१ जनालाई राहदानी वितरण गरिएको छ । कपिलवस्तुबाट राहदानी बनाउनेहरु अधिकांश वैदेशिक रोजगारमा जानेहरु भएको जिल्ला प्रशासन कार्यालय तौलिहवाका प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए । राहदानी बनाउनेमध्ये सबैभन्दा बढी खाडी मुलुक साउदी अरब र कतारमा रोजगारीका लागि गएको पाइएको छ । 

चालू आवमा नागरिकता बनाउनेको सङ्ख्या ह्वातै बढेको छ । आव २०७५/७६ को दुई महिनामा जिल्ला प्रशासन कार्यालयले चार हजार ३०० नागरिकता वितरण गरेको छ । यसैगरी दुई महीनामा इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट ६६४ र इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एक हजार १९९ थान वितरण भएको छ ।

दैनिक रुपमा शुक्रबारबाहेक जिल्ला प्रशासन कार्यालयबाट ७०, इप्रका वाणगङ्गाबाट आठदेखि १० सम्म र इप्रका चन्द्रौटाबाट १५ देखि २० सम्म नागरिकता र राहदानी वितरण भइरहेको अधिकृत खनालले जानकारी दिए । पछिल्लो वर्ष वैदेशिक रोजगारीका लागि राहदानी बनाउने महिलाको सङ्ख्या बढिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप