शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चार वर्षमा वीरगञ्ज बसपार्कको काम ६० प्रतिशत मात्रै

मङ्गलबार, ०६ कात्तिक २०७५, १६ : ३८
मङ्गलबार, ०६ कात्तिक २०७५

वीरगञ्ज । आर्थिक नगरी वीरगञ्जको बसपार्क हालसम्म पनि अत्याधुनिक बन्न सकेको छैन । 

वर्षौँदेखि वीरगञ्जमा अत्याधुनिक बसपार्क बन्ने चर्चा चलेपनि हालसम्म बन्न नसकेको हो ।

आर्थिक नगरीको बसपार्कको अवस्था अझ पनि अस्तव्यस्त रहेको छ । व्यवस्थित बसपार्क नहुँदा सवारी चालक, यातायात व्यवसायी र यातायात क्षेत्रमा काम गर्ने मजदुर श्रमिक मात्रै नभएर त्यस क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्नेहरु समेत मर्कामा परेका छन् । स्थानीय जनप्रतिनीधि आएपछि पनि बसपार्कको अवस्थामा सुधार नआउनु दुःखद भएको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् ।

वीरगञ्जमा निर्माणाधीन सुविधा सम्पन्न अत्याधुनिक बस टर्मिनलको काम सम्पन्न भएको खण्डमा यो नियतिबाट थोरै भएपनि राहत मिल्ने उनीहरुले बताएका छन् । बसपार्क निर्माण समयमा नहुँदा यातायात व्यवसायीहरुले निकै सास्ती खेप्नु परिरहेको व्यवसायीहरुले बताएका छन् । जर्मन विकास बैंकको ऋण सहयोगमा वीरगञ्ज नगर विकास कोष मार्फत १८ करोडको लागतमा वीरगञ्जमा अध्याधुनिक बसपार्क निर्माण भईरहेको छ । तर परियोजनाको काम सम्पन्न नभएका कारण सबै पक्षले सास्ती भोग्नु परिरहेको छ । 

निर्माणमा भएको ढिलासुस्तीका कारण वीरगञ्जमा साढे ४ विगाहामा बन्ने अत्याधुनिक वर्षपार्क अझै अधुरै रहेको छ । पटक–पटकको विवाद र मुद्दा मामिलापछि १५ महिनाको कार्य अवधि दिएर नगर विकास कोषले २०७१ फागुनमा ठेक्का लगाउन सफल भएको थियो । आशिष पप्पु रोशन जेभीले ठेक्का सकार गरेको परियोजनाको अहिलेसम्म झण्डै ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

बस टर्मीनलको भूँई पीच गर्ने लगायतका मुख्य काम बाँकी नै रहेको छ । विभिन्न बहानामा ठेकेदार कम्पनीले काममा आलटाल गर्दै आएको छ भने अन्य महानगरपालिका लगायत सरोकारवाला निकायले पनि काम गर्ने वातावरण बनाउन सकेका छैनन् । 

पटक–पटक म्याद थपिएको भएपनि काम सम्पन्न हुन सकेको छैन । पछिल्लो पटक थपिएको म्याद अनुसार कार्तीक भित्रै काम सक्नुपर्ने छ । ठेक्का लगाएपछि नगर विकास कोषले कन्सल्टेन्ट नियुक्त गर्न समय लगाएको थियो ।  ठेकेदार कम्पनीले ठेक्का पाएको एक महिनापछि मात्रै केहि काम शुरु गर्न सक्यो ।

त्यसपछि ०७२ साल वैशाख १२ गतेको महाभूकम्पले काममा प्रभाव परेको  र त्यसलगत्तै मधेस आन्दोलन शुरु भयो, आन्दोलनमा बन्द हडताल र ६ महिनाको नाकाबन्दीले समेत असर पारेको ठेकेदार कम्पनीको भनाई छ ।  त्यसपछिको समयमा पनि विभिन्न बहानामा ठेकेदार कम्पनीले काममा गति दिन नसक्दा बसपार्क तयार भएको छैन । 

बसपार्क वीरगञ्ज महानगरपालिकाको आफ्नो साढे ४ विगाहा जमिनमा निर्माण भईरहेको छ । तर स्थानीयवासीले बसपार्क निर्माणमा विभिन्न बहाना निकालेर अवरोध पुर्याइरहेको महानगरापलिकाले जनाएको छ । बसपार्कमा पर्खाल लगाउन नदिने र बसपार्कपट्टी सटर निकालेर भाडामा लगाउने कतिपय घरधनीले बताएका छन् ।  त्यसले गर्दा पर्खाल निर्माण कार्यले समेत पूर्णता पाउन सकेको छैन ।

स्थानीयले अदालतमा महानगरपालिका विरुद्ध मुद्दा हालेर काममा अवरोध पुर्याउने गरेका छन् । कमजोर नीतिका करण देशभर थुप्रै परियोजना यसैगरि अलपत्र बनेका छन् । त्यसैगरी व्यवस्थित वीरगञ्ज अभियानका क्रममा सडक अतिक्रमण हटाएपछि पुराना गाडी र टायरहरु बसपार्कमै थुपारिएको छ । त्यसको बहानामा पनि ठेकेदारले काम गर्न आलटाल गरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप