शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारलाई प्रचण्डको चेतावनी : ओभरटेक गरे दुर्घटना हुन्छ !

मङ्गलबार, ०६ कात्तिक २०७५, १७ : २३
मङ्गलबार, ०६ कात्तिक २०७५

किरण कुमार कर्ण

जनकपुर–नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि आपसमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्न अपिल गरेका छन् ।

मंगलबार जनकपुरमा दशैँ, तिहार, छठ तथा इदका अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले संघीय सरकारले अधिकार दिएन भनेर प्रदेश सरकारले ल्याएको प्रदेश प्रहरी ऐनबारे असन्तुष्टि जनाए । उनले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउततर्फ इंगित गर्दै भने, ‘ओभरटेक ग¥यो भने दुर्घटना हुन्छ, दुर्घटना हुने गरी अगाडी नबढौँ ।’

मुख्यमन्त्री राउतले प्रदेश प्रहरी ऐनको ल्याएकोबारे आफू गम्भिर रहेको भन्दै संघीय प्रहरी ऐन आउन ढिलाई भएको तर ढिलाई भएकै कारणले प्रदेशले पनि गल्ती गर्ने हो भने यो भन्दा ठूलो मुर्खता केही नहुने बताए । 

‘हामी गम्भिर र संवेदनशील छौँ, कर्मचारी चाहिएकै हो, प्रहरी चाहिएकै हो, तर यति भनेर झन् गल्ती नगरौँ । प्रदेश नम्बर २ लाई मात्र नभएर सबै प्रदेशलाई कर्मचारीहरुको आवश्यता छ,’ अध्यक्ष प्रचण्डको भनाई छ । 

विरोधी तप्काहरुले प्रदेश प्रहरी ऐन नआओस् भन्ने चाहना भएको भन्दै प्रचण्डले मौलिक हक अधिकारका नयाँ ऐनहरु पनि नआइदिए हुन्थ्यो भन्ने चाहना राखेको बताए । ‘संघीयता सिद्धियोस् भन्नेहरु पनि छन्,’ अध्यक्ष प्रचण्डले भने । 

उनले संविधान संशोधनका लागि पनि काम अघि बढिरहेको भन्दै आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओली, म र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै बसेर संविधानलाई परिमार्जन गर्दै संशोधन गर्न हस्ताक्षर भइसकेकोले आवश्यकता अनुकुल संशोधन हुन्छ,’ प्रचण्डको भनाई छ । 

उनले एक वर्षभित्र नेकपा र संघीय सरकारले २ नम्बर प्रदेशलाई प्राथमिकता राखेको पुष्टि हुनेगरी काम हुने पनि बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ फास्टट्रयाक, जनकपुर–कुर्था–बर्दिवास सम्मको रेल्वे र सुनकोशी डाईभर्सन निर्माणले प्रदेशको कायापलट हुने भन्दै यहिँबाट आर्थिक क्रान्ति हुने प्रचण्डले दाबी गरे । 

उनले देश विखण्डन र सरकार विगठन गर्ने चाहना राख्नेहरुलाई सम्राज्यवादी, प्रतिक्रियावादीको संज्ञा दिए । ‘मुलुकमा दुई तिहाई बहुतको सरकारलाई विभिन्न जालझेल र बाईपास गर्ने चाहना राख्नेहरु पनि छन् । उनीहरु कुनैपनि बहानामा आए भने त्यसलाई हामीले छाड्दैनौँ,’ उनले भने ।

काठमाडौँ र सिंहदरबार त्यहाँका स्थानीयवासीले नबनाएको भन्दै उनले त्यहाँ मिथिला, भोजपुरा, अवध, हिमाल र पहाड मिलेर बनेको बताए । सरकारले सबैखाले विभेद, अपमानको अन्त्य गर्ने र मधेशी जनताको आत्मसम्मान र स्वाभिमानको लागि नेकपा हरेक उत्पीडित, उपेक्षित र गरिब जनताहरुको साथमा रहेको बताए । उनले सुनकोसी कमला डाइभर्सन निर्माण भएमा प्रदेश नम्बर २ ले सिङ्गै नेपाललाई खुवाउन सक्ने क्षमता राख्ने पनि बताए ।

कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले गाउँगाउँमा सिंहदरबार पुगेको भनेपनि अहिलेसम्म पनि सिंहदरबारको बाउण्ड्री भित्रै रहेको बताए । उनले आफुसँग ५ हजार कर्मचारी हुनुपर्ने भएपनि २ सय ५० जना कर्मचारी मात्रै रहेको जनाए । उनले केन्द्र सरकारले सहयोग नगरेको गुनासो गर्दै प्रदेश प्रहरी ऐन र करार कर्मचारी भर्ना ऐन ल्याएर आफैले काम थाल्ने बताए । उनले संघीय सरकारको कडा आलोचना पनि गरेका थिए ।

त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलले संघीय सरकारलाई गाली गर्ने मानसिकता त्याग्न आग्रह गर्दै उनले एक अर्कासँग समन्वय र सहकार्यको माध्यमले देशको विकास र समृद्धिको बाटोमा लम्किनुपर्ने बताए । 

कार्यक्रममा सांसद प्रभु साह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, नेकपाका प्रदेश संसदीय नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेसका संसदीय नेता रामसरोज यादव, संघीय सांसद जुली महासेठ लगायतकाले धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप