बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ : शिक्षामन्त्री पोखरेल

मङ्गलबार, ०६ कात्तिक २०७५, २१ : १३
मङ्गलबार, ०६ कात्तिक २०७५

लहान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षामा कम ग्रेड आउने विद्यार्थीलाई शिक्षा सङ्कायमा भर्ना गर्ने नीतिमा पुनःविचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

शहीद गौरीप्रसाद साहको १५ औँ स्मृति दिवसलाई आज सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा उनले भने, “एसइई परीक्षामा कम ग्रेड आए पनि शिक्षा सङ्काय पढ्न पाउने व्यवस्थाका कारण शैक्षिक गुणस्तरीयता खस्किँदै गएकाले यसमा पुनःविचार आवश्यक छ ।” 

मन्त्री पोखरेलले शिक्षा प्राविधिक र सीपमूलक हुनुपर्नेमा जोड दिदैं सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखी शैक्षिक गुणस्तरीयता वृद्धिका लागि सामुदायिक विद्यालयमा रुपान्तरणसम्बन्धी २२ बुँदे कार्य योजना अगाडि बढाइएको जानकारी दिए । 

मन्त्री पोखरेलले देशमा तीन तहको बलियो सरकार, ५० प्रतिशतभन्दा बढी नेकपाका पक्षमा जनमत, नेपाली जनताको त्याग तपस्या र शहीदको बलिदानीले आएको उल्लेख गर्दै वर्तमान सरकार शहीदको सपना सकार पार्न दृढतापूर्वक अघि बढेको धारणा व्यक्त गरे । 

कार्यक्रममा प्रदेशसभाका सदस्य दिलीपकुमार साह, रामकुमार यादव, प्रमोद यादव, राष्ट्रपतिका स्वकीय सचिव जिबछ साहले कम्युनिष्ट सरकारको काम देखेर प्रतिपक्षी दल हतोत्साहित भएको आरोप लगाए । 

मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपाका नेता बिष्णुलाल वाइवा, मिर्चैया नगरपालिकाका उपप्रमुख जिबछी देवी साह, कर्जन्हा नगरपालिकाका उपप्रमुख ज्ञानु श्रेष्ठ, गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह, उपप्रमुख रेशमकुमारी थापा, धनगढीमाइ नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, शहीद साहका पुत्र विजयकुमार साह लगायतले वर्तमान राजनीतिक बिषयवस्तुको विविध पक्षमाथि प्रकाश पारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप