बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४४ वडामध्ये २९ वडामा छैनन् सचिव

बुधबार, ०७ कात्तिक २०७५, ०८ : ४३
बुधबार, ०७ कात्तिक २०७५

हुम्ला - हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवबिहीन भएका हुन् । 

आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ वडाको जिम्मेवारी लिएका वडासचिव धर्मराज रोकायाले बताए । 

मन्त्रालयबाट सचिवको व्यवस्था नहुँदा काम गर्न निकै कठिन भइरहेको उनको गुनासो छ। यसरी सचिव नभएका वडामा कतिपयमा करारका कर्मचारीले र कतिमा त वडाध्यक्षबाटै कार्य सम्पादन भइरहेको सचिव रोकायाले बताए । ठूलो नाम्खा गाउँपालिकाको ८ वटा वडामा तीन मात्र सचिव कार्यरत रहेको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । गाउँपालिका केन्द्र पुग्न तीन दिनसम्म पैदलयात्रा लाग्ने उक्त गाउँपालिकामा सचिव अभावले गर्दा काम गर्न गाह्रो भएको छ । 

त्यस्तै खार्पुनाथ गाउँपालिकामा पाँच वटा वडामध्ये एक वडामा मात्र सचिव भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए । सचिव अभावले हालसम्म प्रथम चौमासिक सामाजिक सुरुक्षा भत्ता वितरण गर्न नसकिएको उनको भनाइ छ । गाउँ पालिकाको अन्य दैनिक प्रशासनिक काम पनि सचिव अभावले प्रभावित भएको अधिकृत शाहीले बताए । आठ वटा वडा भएको सर्केगाड गाउँपालिकामा पनि हाल चार जना मात्र सचिव कार्यरत रहेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेश पाण्डेले बताए । त्यस्तै चङ्खेली गाउँपालिकामा छ वडामध्ये दुई मात्र सचिव कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव फुँयालले जानकारी दिए । 

जिल्लाको दक्षिण क्षेत्रको अदानचुली गाउँपालिकाका छ वडामध्ये दुई वडामा मात्र सचिव छन् । सचिवका लागि पटक–पटक मन्त्रालयसँग समन्वय गर्दा केही नलागेको र हाल ती भएका दुई सचिवबाट जेनतेन काम चलाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए । दक्षिण क्षेत्रमा पर्ने अर्को ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार ५ वडामध्ये दुई वडामा मात्र सचिव छन् । जिल्लाका ४४ वडामध्ये २९ वडा कार्यलय सचिवबिहीन हुँदा नागरिकता, जन्म, मृत्यु दर्ता, चौमासिक वृद्धाभत्ता वितरणमा समस्या भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप