शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेसमा नेताहरुबीच पानी बाराबार : अधिवेशन सर्ने पक्का, अनसनको तयारी !

बुधबार, ०७ कात्तिक २०७५, १० : ५१
बुधबार, ०७ कात्तिक २०७५

काठमाडौँ । भातृ संगठन नेविसंघको विवाद मिलाउन नसकेपछि काँग्रेसका शीर्ष नेता नै आरोप प्रत्यारोपमा उत्रन थालेका छन् । 

नेतृत्वले कुनै निर्णय गर्न नसकेपछि काँग्रेसको भातृ संगठन नेविसंघको आगामी कार्तिक १६ गतेबाट सुरु हुने भनेको अधिवेसन नहुने पक्का जस्तै भएको छ भने यहि विवादका कारण मंसिरमा हुने भनिएको महासमिति बैठक पनि अनिश्चित बन्दै गएको छ । 

खासगरी नेविसंघमा ३२ वर्षे हदम्यादसहितको विधान काँग्रेस केन्द्रीय समितिमा बहुमतले पारित भएपछि नेताहरुमा बढेको असमझदारीले गर्दा पार्टी बैठक नै अनिश्चित भएको छ । तर, काँग्रेस प्रवक्ता शर्मा चाँडै केन्द्रीय समिति बैठक बोलाउने दाबी गर्छन् । 

२१ असोजमा बसेको केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गरेको थियो । तर, त्यसमा बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरुले नोटअफ डिसेन्ट लेखेका थिए । त्यसयता दर्जनौँ निर्णयहरुलाई कार्यान्वयन गर्न लगातार काँग्रेस बैठक बस्नुपर्ने भएपनि काँग्रेस नेताहरु संवादविहीन भएर बसेका छन् । 

असोज २१ गते मध्यरातमा सभापति शेरबहादुर देउवा समूहले बहुमतको बलमा नेविसंघमा उमेरहद लगाउँदै विधान पारित गरेपछि देउवा इतरका नेताहरू असन्तुष्ट बनेका थिए । 

त्यसलगत्तै २५ असोजमा बोलाइएको बैठक पौडेल लगायतका असन्तुष्ट नेताहरुले बहिष्कार गर्ने तयारी गरेपछि सभापति देउवाले बैठक नै स्थगित गर्न पुगेका थिए । अहिले काँग्रेसका नेताहरू कोही दशैँ मनाउन आ–आफ्नो जिल्लामा पुगेका छन् त कोही तिर्थाटनमा घुमिरहेका छन् । 

यसअघिको काँग्रेस बैठकले तय गरेको मंसिर ५ देखि ९ गतेसम्मको महासमिति बैठक र कार्तिक १६ मा सुरु हुने भनेको नेविसंघको अधिवेशनबारे नेताहरुबीच कुनै छलफल र परामर्श नै हुन नसकेको स्वयम् नेताहरुले बताएका छन् । 

यसका लागि केन्द्रीय समिति बैठक आवाश्यक छ । तर, सभापति देउवाले बैठक नै आव्हान नगरेको पौडेल पक्षको आरोप छ । उता देउवा पक्ष भने बरिष्ठ नेता पौडेल र अर्का नेता कृष्ण सिटौलाका कारण काँग्रेस अनिर्णयको बन्दी बनेको बताइरहेको छ । 

संवादविहीनताको अवस्थामा काँग्रेस

काँग्रेस नेता डा शेखर कोइराला काँग्रेसमा संवादविहीनताको अवस्था आएको बताउँछन् । 


उनी भन्छन् – 

मंसिर २ गतेभित्र नेविसंघको अधिबेसन हुनुपर्छ । कार्तिक १६ बाट अधिवेसन गर्ने गरी पहिला समय तय भएपनि विधान पास भएको छैन  । नेविसंघको विधानमाथि काँग्रेस केन्द्रीय समितिमा छलफल नै भएको छैन । 

हामी हेरिरहेका छौँ सभमापतिले विधान कहिले ल्यानउनुहुन्छ ? दशैँ सकिने बितिकै तिहार आउँछ, छठ आउँछ । त्यसपछि मंसिर आउँछ । यसबीचमा पार्टीको विधान टुङ्ग्याउनुछ । 

कोइरालाका अनुसार पार्टीको विधान मस्यौदा समतिले आफ्नो काम सकेर केन्द्रीय समितिमा विधान पेस गरेपछि पनि ८ –१० दिन छलफल गर्न नै लाग्छ । त्यो भन्दा अघि नेविसंघको लफडा टुङग्याउनुपर्ने काँग्रेसलाई अर्को चुनौति छ ।

 ‘यो नटुङिगए महाधिवेशन मात्रै होइन, महासमिति पनि सर्न सक्छ । यस्तो अवस्थामा काँग्रेस संवादविहीनताको अवस्थामा छ । संवादविहीनताको अवस्था सभापतिले नै ल्याएका हुन् । तर, अव सभापतिले संवादविहीनताको अन्त्य गर्न नसके उहाँलाई नै घातक हुन्छ र पार्टीलाई पनि,’ कोइराला भन्छन् ‘वरिष्ठ नेता विदेश भ्रमणमा हुनुहुन्छ भने अन्य नेताहरू दशैँले गर्दा जिल्ला जानुभएको छ । तत्काल बैठक बस्ने सम्भावना पनि छैन ।  यसैलाई आधार बनाएर महासमितिको मिति फेरि सारिन्छ कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ ।’

‘पौडेल र सिटौलाका कारण अनिर्णयको बन्दी’ 

काँग्रेस उपसभापति विमलेन्द्र निधी भने नेताद्वय रामचन्द्र पौडेल र कृष्ण सिटौलाका कारण काँग्रेस अनिर्णयको बन्दी बनेको बताउँछन् । 

निधीले पौडेल र सिटौला केन्द्रीय समिति बैठक राखौ भन्दा समय छैन भन्दै पन्छिने गरेको दावी गर्छन् । 

‘नेता पौडेल र सिटौलाले समय नदिँदा केन्द्रीय समिति बैठक बस्न सकेको छैन’ सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै निधीले भने, ‘महासमिति बैठकको तयारी भइरहेका बेला पार्टीलाई अनिर्णयको बन्दी बनाउनु उचित होइन । उहाँहरुको अनुपस्थितिमा बैठक बसेर कुनै निर्णय गरे पनि एकलौटी पार्टी चलाएको आरोप लाग्छ ।’

अधिवेशन सर्ने पक्का, अनसनको तयारी  

पूर्व निर्धारित कार्यक्रम अनुसार नेविसंघको अधिवेसन यहि कार्तिक १६ गतेबाट सुरु हुनुपर्ने हो । तर, त्यो समय आउन अव लगभग एकसाता मात्रै समय छ । यो बीचमा विभिन्न क्याम्पसहरुमा अधिवेसन गर्नुपर्ने हुन्छ । जबकी ति क्याम्पसहरु दशैतिहार र छठपछि मात्रै खुल्छन् । यस्तो अवस्थामा कार्तिक १६ को अधिवेशन कुनै हालतमा हुने सम्भावना देखिदैन । 

तर, नेविसंघ अध्यक्ष नैनसिंह महरले पार्टी बैठक बस्न नसकेकाले कार्तिक १६ बाट सुरु हुने भनिएको नेविसंघको अधिवेसन सर्न सक्ने बताउँछन् । 

अध्यक्ष महर भन्छन् – विधानमा असहमति छ । त्यसका लागि नेताहरुबीच छलफल हुनुपर्छ । छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठक बस्नुपर्छ तर बैठक नै बस्न सकेको छैन । जसले गर्दा कर्तिक १६ को अधिवेसन असम्भव जस्तै भएको छ ।’ 

अध्यक्ष महरले सबै लागे मंसिर २ गतेभित्र अधिवेसन गर्न कुनै समस्या नभएको दाबी पनि गरे । 

‘म ३२ बर्षे हदम्यादको पक्ष र विपक्ष दुवै होइन, मेरो जिम्मेवारी विधान अनुसार अधिवेशन गराउनु हो तर त्यसका लागि पार्टीले बाटो खोलिदिनुपर्छ’ महरले रातोपाटीलाई बताए । 

यता, पौडेल पक्ष र सिटौलापक्षका नेविसंघका नेताहरुले भने महरको कार्यकाल लम्ब्याउन योजनाबद्ध ढंगले नेविसंघको अधिवेसन नगर्न लागि परेको आरोप लगाउदै आएका छन् । विद्यार्थी नेता कुन्द काफ्ले र मोति भण्डारीले एकै स्वरमा भने, ‘नेविसंघलाई असफल बनाउन यो षड्यन्त्र भइरहेको छ । यसका विरुद्ध अब हामी अनसन थाल्छौ ।’     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप