शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१७ महीनापछि चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु

बुधबार, ०७ कात्तिक २०७५, ११ : ३३
बुधबार, ०७ कात्तिक २०७५

मुसिकोट - रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ ।

सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए।

उनका अनुसार बुधबार काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान हुने बताइएको छ । 

उडान शुरु भएको आज पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित आठ जनाले नेपालगञ्जसम्मको हवाईयात्रा गरेका छन् ।

झण्डै डेढ वर्षपछि यहाँको हवाईसेवा सञ्चालनमा आउँदा सर्वसाधारणमा खुशी छाएको छ । हवाई सेवाले रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई छिटो यात्राका लागि सहज गराएको छ ।

आजदेखि निगमको जहाजले पुनः उडान शुरु गरेसँगै यहाँको नयाँ भाडादरसमेत कायम गरिएको छ । अबदेखि चौरजहारीबाट काठमाडौँका लागि रु आठ हजार र नेपालगञ्जलाई रु तीन हजार भाडादर निर्धारण गरिएको स्टेशन प्रमुख नेपालीले जानकारी दिए । 

यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गत वर्षको जेठ अन्तिम साताबाट यहाँको उडान बन्द गरिएको थियो । बन्द हवाईसेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए ।

विसं २०२८ बाट सञ्चालनमा आएको उक्त विमानस्थलको थप स्तरोन्नतिका लागि पाँच वर्षअघि धावनमार्गमा कालोपत्रे गरिएको थियो । 
––– 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप