मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजनीति सबैले गर्ने सस्तो चीज होइन’

बिहीबार, ०८ कात्तिक २०७५, १२ : ०४
बिहीबार, ०८ कात्तिक २०७५

राजनीति उद्योगका रूपमा परिणत हुँदै गएको सुनिन्छ । राजनीतिलाई पेसा व्यवसाय बनाउनुहुँदैन भन्नेले भनिरहेकै छन् । राजनीतिमा प्रवेश गर्न लिखित परीक्षा पास गर्नुपर्दैन । योग्यतासमेत निर्धारण गरिएको छैन । ‘तर पनि राजनीति सबैले गर्ने सस्तो चीज होइन,’ सांसद उषाकला राईको भनाइ छ, ‘निष्ठा, प्रतिबद्ध र त्याग गर्न सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’ 

राष्ट्रका लागि योगदान गर्न सक्छु भन्नेले मात्रै राजनीति गर्ने हो । ‘म भ्रष्टाचार गर्दै गर्दिनँ,’ सांसद राईले रातोपाटीसँग भनिन्, ‘राजनीतिक नेताले देश र जनताका लागि समर्पित हुन्छु भनेर प्रतिबद्ध हुनुपर्छ । राजनीतिमा प्रवेश गर्नअघि उनको पहिलो प्रतिबद्धता त्यही हुनुपर्छ ।’

‘राजनीतिमा चर्को प्रतिपस्र्धा देखिन्छ,’ पीएचडी पूरा नगरी देशमै केही गर्ने अभीष्टसाथ नेदरल्यान्डबाट फर्केकी उनको बुझाइ छ, ‘प्रतिस्पर्धाको राजनीतिमा सम्बन्धित पार्टीले जति धेरै मतदाता बटुल्यो, ऊ शक्तिशाली बन्ने प्रावधान छ । मतदाता बटुलेरमात्रै शक्तिशाली बन्न सकिँदैन । मतदाताको भीडको वजनमा राजनीतिक शक्ति जोखिन थालियो । त्यो टिक्दै टिक्दैन । देश बनाउनुचाहिँ ठूलो काम हो । ’

नेपाल कम्युनिस्ट पार्टी नेतासमेत रहेकी उनको दाबी छ, ‘सम्बन्धित राजनीतिक दलको भीडमा चोर, डाँका, दलाली, देश खाने, देश बेच्ने छन् भने त्यस्तालाई राजनीति गर्ने छुट दिनुहुँदैन ।’ राजनीतिक दलले भोट बटुल्ने काममात्रै गर्नुहुँदैन । उसले निष्ठावान् र प्रतिबद्धलाई कसम खुवाएर पार्टी प्रवेश गराउनुपर्छ । त्यस्ताको निगरानी पार्टीले गर्नुपर्छ ।

त्यतिमात्रै होइन, उचाइमा पुगेका राजनीतिक नेताको हरेक व्यवहारको निगरानी कार्यकर्ताले गर्न पाउनुपर्छ । चाहँदा देशले मात्रै होइन, कार्यकर्ताले समेत आफ्ना नेताको सम्पत्तिसँगै हरेक व्यवहारको निगरानी र जाँच गर्न पाउनुपर्छ । ‘आफूसम्बद्ध राजनीतिक पार्टीको आन्तरिक कुरा बोल्दा भोलि जिम्मेवारी नपाइने हो कि भनेर डर मान्नुहुँदैन,’ उनले थपिन्, ‘पार्टीका आन्तरिक कमजोरीबारे बोल्दा पार्टी नेतृत्वले सच्चिने अवसर पाउँछन् ।’ 

त्यस्तो नेता तथा कार्यकर्ता कसरी चिन्ने/छान्ने ?

‘त्यो त पार्टीले नियम, कानुन बनाउनुपर्छ,’ उनको मान्यता छ, ‘पार्टीले देश बनाउने कानुन त बनाउँछ नै, त्योभन्दा पहिले पार्टी बनाउने नियम, कानुन पनि बनाउनुपर्छ । पार्टी कसरी बनाउने ? कस्तालाई सदस्यता दिने भन्ने कुरा पार्टीले विधि तय गर्नुपर्छ । जसलाई पनि सदस्यता दिनुहुँदैन ।’

पार्टी मजबुत बनाउने विधि र कानुनमात्रै होइन, प्रशिक्षणको कुरा पनि आउँछ । उदाहरणका लागि पार्टीका पूर्णकालीन कार्यकर्ताले के काम गर्छन् ? उनीहरूको कामको मूल्यांकन कसरी गरिएका छन् ? उनीहरूले गरेका काम समय–समयमा आमकार्यकर्ताबीच सार्वजनिक गर्नुपर्छ । पार्टीका केन्द्रीय सदस्यले गर्ने काम के–के हुन् ? केन्द्रीय सदस्यको आचरण, कामबारे प्रस्ट हुनुपर्छ ।

योग्य पार्टी सदस्य छान्ने विधि के–के हुन सक्लान् ? ‘पार्टी सिष्टममा चल्नुपर्छ,’ उनले सुझाइन्, ‘पार्टी विधि र आन्तरिक नियम बनाउनुपर्छ । त्योअनुसारको प्रशिक्षण र क्रियाकलाप गर्नुपर्छ ।’

पार्टी भनेको ढुंगामाटोले बनेको घर होइन । मानिसको जमातको भीड हो । त्यो भीड भनेको बुद्धि र विवेकको भीड हो । त्यसलाई व्यवस्थापन गर्ने विधि तय हुनुपर्छ । ‘विधि होइन, विवेकले पार्टी चलाइएको छ,’ नेदरल्यान्डमा थुप्रै अवसर हुँदाहुँदै नेपाल फर्केकी उनले टिप्पणी गरिन्, ‘विधि त छ तर मिचमाच भइहाल्छ । गर्नेले भ्रष्टाचार गरेकै छन् । मन्त्री भएपछि कमाउनेले कुस्त कमाएको विवेकशील जनतालाई थाहा छ । त्यस्तालाई मतदाताले मतदान गर्दैनन् । तर, त्यतिबेला विवेकलाई पैसाले बन्धकी राखिदिन सक्छ । ऊसँग पैसा प्रशस्त छ । काम गर्छु भन्नेसँग पैसा नहुन सक्छ ।’ 

राजनीतिक नेता देश बनाउन प्रतिबद्ध हुनुपर्छ । देश बनेपछि हामी बनिहाल्छौं । तर, राजनीति ‘खतराको चीज’ बन्दै छ । यसलाई सहज बनाउन जरुरी छ । ‘म, हामी होइन, देश बनाउन प्रतिबद्ध हुनुपर्छ,’ सांसद उषाकला राईको निष्कर्ष छ, ‘देश बनेपछि हामी बनिहाल्छौं । सांसद, मन्त्री त अस्थायी हुन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप