बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अध्यक्ष मण्डलका सदस्यकै आरोप : पार्टी निजी कम्पनीजस्तै बन्यो

शुक्रबार, ०९ कात्तिक २०७५, १० : २२
शुक्रबार, ०९ कात्तिक २०७५

जनकपुर– राजपा नेपालको आधार क्षेत्र मानिने महोत्तरीको जलेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश अध्यक्ष मण्डलका सदस्यहरू सहभागी थिए । 

कार्यक्रमको नाम थियो प्रशिक्षण । 

त्यस कार्यक्रममा सबैजसो नेताले मधेसको माग पूरा नभएकोमा चर्को असन्तुष्टि जनाए ।

उनीहरू भन्दै थिए– ‘अझै पनि लडाइँ जारी छ ।’

तर स्थानीय नेता तथा कार्यकर्ताको चित्तबुझ््दो जवाफ भने कसैले दिन सकेनन् । बरु अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर अनुपस्थित उक्त कार्यक्रममा नेताहरूले नै राजपा नेपाल ६ मुखे अध्यक्षको कम्पनीमा परिणत भएकोे दाबी गरे । 

नेताहरूले पार्टी कम्पनीमा परिणत भएको आरोप लगाइरहँदा त्यहीँका निर्वाचित प्रदेश सांसद तथा सामाजिक विकास मन्त्री अभिराम शर्मामाथि लाग्दै आएको सहिद परिवारमाथिको दोहनको आरोपको भने कसैले खण्डन गर्न जाँगर देखाएनन् । न मधेस आन्दोलनका सहिद परिवार वा कार्यकर्ताको चित्तबुझ्दो जवाफ नै दिन सके ?

जब कि प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिदलाई सम्मान स्वरूप विधेयक नै बनाएर ‘भावनात्मक राजनीतिक’ विकासको विजारोपण गरिसकेको छ । 

तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको पोल्टाबाट राज्यमन्त्री भएपछि अभिराम शर्मा आफ्नो गृहघर जलेश्वर नगरपालिका वडा नम्बर–७ स्थित बखरीवासी सहिद अमित कापरका भाइ सुजितलाई जागिर दिने क्रममा आफ्नो भान्छेमा नियुक्त गरेका थिए । 

मन्त्री शर्माले सुजितालाई मात्र काममा लगाउनुपर्नेमा सहिद अमित कापरका अन्य सदस्यहरूलाई समेत आफ्नो घरको काम गराउने गरेको आरोप लाग्दै आएको छ । उनले अमितका भाइ सुजित र सोमितलाई समेत काम गराउन लागेको र एकजनाको मात्रै तलब दिने गरेको सहिद अमितकी पत्नी मन्तोरियाद देवीले आरोप लगाएकी छन् । 

राज्यमन्त्री शर्माले नियुक्ति एक जनालाई गरे पनि एक जनाको तलबमा दुई जनालाई काम गराएको आरोप सहिद परिवारको भनाइ छ ।

मधेस आन्दोलनमा सहिदको बलिदानीबाट सत्ता प्राप्ति गरेको राजपा नेपालमाथि बारम्बार आरोप लागे पनि यसलाई न चिर्न सकेको देखिन्छ न मन्त्री शर्मालाई पार्टीले कुनै कारवाही नै गर्ने हिम्मत देखाउन सकेको छ । 

हुन त राज्यमन्त्री शर्माले यसलाई झुठा अरोप भन्दै आफ्नो चरित्र हत्या गर्न खोजेको स्पष्टीकरण दिँदै आएका छन् ।

यता राजपा नेपालको भातृसङ्गठन राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष रौशनसिंह राणाले बाहिर आएका कुरामा पार्टीले अनुसन्धान गरी कारवाही गर्नुपर्ने बताउँछन् ।

तर यसप्रति राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्षदेखि सदस्यसम्म बोल्न चाहेका छैनन् ।

स्रोतका अनुसार राज्यमन्त्री शर्मामाथि जेजस्ता आरोप लागे पनि यदि कारवाहीको कुरा मात्रै गरेमा राजपाका लागि ठूलो दुर्घटना हुनसक्ने भएकाले तैँ चुप मै चुपको अवस्था छ ।

महोत्तरीको क्षेत्र नं. ३ (क) मा राजपा नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित शर्मा गत साउनमा राज्यमन्त्री बनेका हुन् ।
 
राजेन्द्र महतोको हुङ्कार 

राजपा नेता राजेन्द्र महतोले केपी ओली नेतृत्वको सरकारलाई छठपछि लखेट्ने बताएका छन् ।

प्रशिक्षणलाई सम्बोधन गर्दै राजपा नेता महतोले वर्तमान सरकालाई संविधान संशोधन गर्ने शर्तमा आफूहरूले समर्थन गरेको तर आज–भोलि भन्दै समय टार्दै आएकाले लखेट्नुपर्ने स्थिति आएको बताए ।
नेता महतोले भने, ‘दुई तिहाइको सरकारले हामीसँगको समझदारीअनुसार काम नगरे छठपछि भीषण आन्दोलन हुनेछ र यो सरकारलाई लखेटिनेछ ।’ 

उनले देशमा बलात्कार, हत्या, हिंसा बढेको भन्दै सरकार नालायक र केही गर्न नसक्ने भएको आरोप लगाए । 

‘मधेस अझै लडाइँ लड्ने मुडमा नै रहेको छ । पार्टीका प्रत्येक तप्का त्यसका लागि तयार रहनुस्’ महतोको निर्देशन थियो ।

नेता महतोले राजपा नेपाल अहिलेसम्म पार्टी घोषणा मात्र भएको बताए । ‘अब पार्टी बनाउने क्रममा छौं । पार्टीको स्थानीय तहका बारेमा विधान स्पष्ट छ । तर केन्द्रीय कमिटी कस्तो रहने भन्नेबारे छलफल भइरहेको छ’, नेता महतोले भने– अध्यक्ष मण्डल राख्ने वा नराख्ने त्यसबारे पनि छिट्टै यहाँहरूको भावना अनुकूल नै निर्णय हुनेछ, ढुक्क रहनोस् ।’

अध्यक्ष मण्डलका सदस्य सरदसिंह भण्डारीले अहिलेको दुई तिहाइको सङ्घीय सरकारले अधिनायकवाद लाद्न खोजेका कारण सङ्घीयताको रक्षार्थ अब सोच्नुपर्ने बेला आएको बताए । ‘अहिलेको प्रमुख चुनौती नै संविधानको रक्षा गर्नु हो । सङ्घीयताको रक्षा गर्न पहिला ६ वटा टाउको भएको राजपाको एउटा टाउको बनाउनुपर्छ । यसमा गम्भीर हुन जरुरी छ ।’ 

नेता भण्डारी त्यतिमा मात्रै रोकिएनन् । भने, ‘राजपा नेपाल अहिले निजी कम्पनीजस्तै छ, यसरी काम नचल्ने भएकाले हामीले पार्टी नै बनाउनेतर्फ जोड दिनुपर्छ ।’ 

अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले अबका दिनमा आफूहरू प्रदेश दुईमा मात्र नभई समग्र पीडितको पक्षमा वकालत गर्न लागिपर्ने जनाए । 

‘राजपा नेपाल अब आफ्नो दृष्टिकोण स्पष्ट गर्दै यो देशका जनताको भावना अनुरूप काम गर्न पछि पर्नुहुँदैन । अब मधेसको मात्र होइन, देशको हितमा काम गर्ने सोचका साथ अगाडि बढ्नुपर्छ ।’ 

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राजपा वैकल्पिक शक्तिका रूपमा अघि बढ्नुपर्ने बेला भएको भन्दै पार्टीलाई जनताको पार्टीका रूपमा अघि बढाउनुपर्ने बेला भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप