शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ सरकारले केन्द्र सरकारलाई एक महिना पर्खिने, मधेश भवन घोषणा

शुक्रबार, ०९ कात्तिक २०७५, १९ : २७
शुक्रबार, ०९ कात्तिक २०७५

जनकपुरधाम– प्रदेश २ सरकारले संघीय प्रहरी ऐनको लागि एक महिना केन्द्र सरकारको बाटो कुर्ने भएको छ । 

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारसँग प्रदेश सरकार समन्वय र सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागि एक महिना पर्खिने शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बताए । 

प्रदेश २ को सरकारले संघीय प्रहरी ऐन आउनुअघि नै प्रदेश प्रहरी ऐन ल्याएको थियो । सो ऐनप्रति असन्तुष्टि जनाउँदै नेकपा अध्यक्ष प्रचण्डले मुख्यमन्त्री सहभागी भएको कार्यक्रममै  संघीय सरकारलाई ‘ओभरटेक’ गरे मुलुकमा दुर्घटना हुने चेतावनी दिएका थिए । 

मन्त्रिपरिषद् बैठकले प्रदेशलाई आवश्यक सबै कर्मचारी १ महिना भित्रै पठाउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।  संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफै व्यवस्था गर्ने निर्णय समेत मन्त्रिपरिषदको बैठकले गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले लोकसेवा सम्बन्धी विधेयक २०७५, प्रशासन सम्बन्धी विधेयक २०७५ र निजामती कर्मचारी सम्बन्धी विधेयक २०७५ लाई मन्त्रालयबाट सैद्धान्तिक सहमति लिइसकिएकाले आफैं कर्मचारी भर्ना गर्न समस्या नरहेको बताए । 


यस्तै २ वटा विधेयकलाई सैद्धान्तिक सहमति दिई प्रदेश सभामा छलफलका लागि पेस गर्ने निर्णय पनि भएको मन्त्री यादवले जानकारी गराए । विधेयकबारे छलफलका लागि आउदो कात्तिक १३ गते प्रदेश सभाको वैठक बोलाइएको छ ।

मधेश भवन घोषणा
यसैबीच प्रदेश सरकारले जनकपुर चुरोट कारखाना रहेको भवनको नाम परिवर्तन गरेर मधेस भवन राख्ने निर्णय गरेको छ । 

यस्तै रामजानकी विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाउन ५० लाख दिने निर्णय प्रदेश सरकारले गरेको छ । 

बिहीबार अपरान्ह ४ बजे बस्ने भनिएको बैठक मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीहरुको कार्यव्यस्तताको कारण आज साँझमात्रै बसेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप