केन्द्रीय संस्करण

योगदर्शनमा के छ ?

person explore access_timeकात्तिक ११, २०७५ chat_bubble_outline0

   योगको अर्थ जोड्नु हो । अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । तर पतञ्जलीको दर्शनमा योग त्यो प्रयत्न हो, त्यो साधन वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यहाँ योग भनेको जोड्नुको अर्थमा नआई प्रयत्नको अर्थमा आएको छ । वास्तवमा चित्तमा आउने विकार रोक्नु नै योग हो । शरीर, इन्द्रिय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ  । योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन् । त्यसैले यस दर्शनलाई पतञ्जली योग पनि भनिन्छ । भारतीय तथा पश्चिमाहरूले योगलाई योगा भन्ने गर्छन् ।

योगदर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रूप दिने काम ऋषि पतञ्जलीले गरेका हुन् । हाल स्वामी रामदेवले पतञ्जलीकै नामबाट योगलाई बढी लोकप्रिय गराउने काम गरेका छन् । जति जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति त्यति नै योगको आवश्यकता पनि  महसुस् हुँदै गइरहेको पाइन्छ । ५, १० वर्षअघिसम्म पश्चिमा विकसित देशहरूमा योगतर्फ थोरै मानिसको मात्र संलग्नता थियो, जब कि आजको स्थिति विकसित देशका अधिकांश मानिसले पनि योगलाई अपनाउन थालेका छन् । वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइन्छ ।

यो सैद्धान्तिक मात्र नभई व्यावहारिक दर्शन पनि हो । स्वस्थ शरीर र शक्तिशाली आत्मा योग दर्शनका मुख्य विषय हुन् । योग गर्ने समयमा शिर र गर्धनलाई सीधा पारेर राख्नु, इन्द्रियलाई मनले वशमा राख्नु, श्वास प्रश्वासको नियम पालना गर्नु र पवित्र मनको अनुकूल स्थानमा अभ्यास गर्नुजस्ता विधान योगदर्शनमा पाइन्छ । यस दर्शनले शरीरलाई मिथ्या मान्दैन बरु उपयोगी वस्तु मान्दछ । स्वस्थ शरीरमा शुद्ध दिमाग हुन्छ र शुद्ध दिमागले मुक्ति प्राप्त गर्न सकिन्छ । योग वृद्धि हो तर कदापि ह्रास होइन । संसारमा जति विधाहरू छन्, ती विधाले या त शारीरिक विकास या मानसिक विकास गराउँछन् तर योग विधाले यी दुवै काम सम्पन्न गर्छ ।

त्यसैले पनि योगको अति महत्व रहेको छ । योगदर्शन नै एउटा यस्तो दर्शन हो, जुन मानव जीवनमा अध्यात्मवाद, वादविवाद या तर्कशास्त्रलाई महत्व नदिएर जीवनको उद्धारका लागि मानव शरीरको व्यावहारिक प्रयोगात्मक पक्षमा विशेष बल दिन्छ । त्यसैले यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्शाइएको छ । यस आलेखमा पनि योगदर्शनका यस्तै वैज्ञानिक विशेषताका कारण प्राचीन कालदेखि आजसम्म योगले आफ्नो वैज्ञानिक मूल्य मान्यतालाई स्थापित गर्न सकेको कुराको बारेमा प्रष्ट्याइएको छ । 
    प्राचीन ऋषिमुनिहरूको अन्तरदृष्टिको कारण नै योग मुख्यरूपमा थियो भनिन्छ । त्यस्तै बुद्ध धर्मका पालित्रिपिटकहरूमा, संस्कृत ग्रन्थहरूमा पनि योगका चर्चा भएका छन् । जैनधर्ममा महावीर स्वामी आफै योगी थिए र उनको समयमा योगको विवेचना बढी भएको पाइन्छ । गोरखनाथको नाथ सम्प्रदायमा पनि योगको यति आदर गरिन्छ कि त्यस सम्प्रदायलाई योगी सम्प्रदाय भनिन्छ । यसरी योग हरेक धर्म र सम्प्रदायमा लोकप्रिय नै रहेको पाइन्छ । योगका चार प्रकारहरू पाइन्छन् ।

ती हुन्– मन्त्रयोग, लययोग, हठयोग र राजयोग । तीमध्ये पतञ्जलीले राजयोगलाई अघि बढाएका छन् । त्यसकारण आज हामी योग भन्नासाथ पतञ्जलीको राजयोग भनी बुझ्छौं । पतञ्जली योगसूत्रका रचयिता र व्याकरण भाष्यका निर्माता हुन् जसको रचना विक्रमपूर्व दोस्रो शताब्दीमा भएको थियो ।

योगसूत्रलाई समाधिपाद, साधनपाद, विभूतिपाद र कौवल्यपाद गरी ४ सूत्रमा वर्णन गरिएको पाइन्छ । समाधिपादमा समाधिको रूप तथा भेद, चित्त र चित्तवृत्तिहरूको वर्णन गरिएको छ । साधनपादमा दुईवटा साधनहरू आन्तरिक र बाह्य साधनअन्तर्गत विभिन्न कुराहरूको चर्चा गरिएको छ । आन्तरिक साधनमा धारण, ध्यान र समाधिको चर्चा छ भने बाह्य साधनमा यम, नियम, आसन, प्राणायाम र प्रत्याहारहरूको वर्णन गरिएको छ । विभूतिपादमा योगाभ्यास र सिद्धियोगको चर्चा छ । यसैगरी कौवल्यपादमा मुक्ति वा मोक्षका स्वरूपको विवेचना गरिएको छ ।
  

 यस दर्शनमा प्रकृति र पुरुष नै मूल तत्वको रूपमा आउँछन् । यस दर्शनले ईश्वरलाई विशिष्ट तत्वको रूपमा त मानेको छ तर सृष्टिका लागि ईश्वर कारण होइन कि जीवनको कर्मफल अनुसार प्रकृतिद्वारा पुरुषको संयोग र वियोग गराउनका निमित्त कारण मात्र हो भन्दछ । सांख्य दर्शन र योगदर्शनको निकै घनिष्ठ सम्बन्ध छ । वास्तवमा सांख्य दर्शनको सैद्धान्तिक रूपको व्यावहारिक प्रयोग नै योगदर्शन हो भनिन्छ । सांख्य दर्शनले २५ वटा तत्वलाई मानेको छ र योगले पनि त्यसैलाई मान्दछ तर योगदर्शनमा एउटा थप तत्व ईश्वरसमेत जोडिएकाले यस दर्शनलाई ‘सेश्वर सांख्य’ पनि भनिन्छ । यसले पनि सांख्य दर्शनले जस्तै सत्कार्यवादलाई मानेको छ तर कार्य र कारण शब्द प्रयोग नगरी धर्म (परिणाम÷विकृति) र धर्मी (मूलतत्व÷प्रकृति) शब्दको प्रयोग गरेको छ । 

    योगको अर्थ जोड्नु हो । अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । तर पतञ्जलीको दर्शनमा योग त्यो प्रयत्न हो । त्यो साधन वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यहाँ योग भनेको जोड्नुको अर्थमा नआई प्रयत्नको अर्थमा आएको छ । वास्तवमा चित्तमा आउने विकार रोक्नु नै योग हो । शरीर, इन्द्रिय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ । यस दर्शनमा योगका दुई शब्दहरू हठयोग (बहिरङ्ग मुख्य भएको योग) र राजयोग (अन्तरङ्ग मुख्य भएको योग) समेत आउँछन् । वास्तवमा योग चित्तवृत्तिको निरोध हो, जसलाई समाधि पनि भनिन्छ । 

    योगदर्शनका अनुसार मानिसमा ५ वटा वृत्ति हुन्छन् । ती हुन्:
-    प्रमाण (यथार्थ ज्ञान): ज्ञानका प्रमाणहरू तीन किसिमका हुन्छन् । प्रत्यक्ष प्रमाण, अनुमान प्रमाण र आप्तप्रमाण ।
-    विपर्याय (अँध्यारोमा डोरीलाई सर्प देखेजस्तै मिथ्याको वस्तुसँग डराउने प्रवृत्ति)
-    विकल्प (किताब पढेर ज्ञान प्राप्त गर्नु)
-    निद्रावृत्ति (ज्ञान नभएको अवस्था)
-    स्मृति (अनुभव भएको विषय पाउनासाथ चित्तमा पुनः स्फुरण हुनु)
 

   यिनै चित्तवृत्तिका कारण शरीर र मन अशुद्ध हुन्छ, जसलाई अभ्यासद्वारा पवित्र बनाउन पनि सकिन्छ । यस दर्शनले सांख्यका अतिरिक्त ईश्वरलाई समेत थप गरी २६ वटा तत्वहरू मान्छ । यसको प्रत्यक्ष सम्बन्ध साधनासँग रहेको छ । यस दर्शनले ईश्वर भनेको परम गुरु वा परम पुरुष हो, जुन सबै जीवभन्दा माथि र सबै दोषबाट मुक्त छ । ईश्वर सर्वव्यापी, सर्वज्ञ, सर्वशक्तिमान र पूर्ण परमात्मा हो भन्छ । मोक्षको मुख्य मार्ग नै योग, साधक र समाधी हुन् भन्ने यस दर्शनले मुक्ति प्राप्तिका लागि ८ वटा मार्गहरू (अष्टाङ्ग योग) उल्लेख गरेको छ । ती हुन्

-    यम: हिंसा, चोरी, लोभ आदि नगर्नु अर्थात अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह ।

-    नियम: ५ नियमहरूको पालना गर्नु जस्तै–शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रति विश्वास ।

-    आसन: मन एकाग्र गरी आनन्दको अनुभूति गर्नु ।

-    प्राणायाम: श्वास प्रश्वास नियन्त्रण गरी मनलाई एकाग्र राख्नु ।

-    प्रत्याहार: इन्द्रियको कुप्रभाव मनमा पर्न नदिनु ।

-    धारण: अन्तरनिहित वस्तुको पहिचानमा मन लगाउनु ।

-    ध्यान: निश्चित विषयमा एकाग्रतापूर्वक सोचविचार गर्नु ।

-    समाधि: सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु । उल्लेखित यस्ता उपायहरूद्वारा मुक्ति मिल्दछ भन्नु योगदर्शनको मुख्य मर्म हो ।

योगमार्गका ८ वटा सिद्धिहरू 
    योगदर्शनका अनुसार योगाभ्यास गर्नाले योगीहरूलाई विशेष अवस्थामा विशेष सिद्धिहरू प्राप्त हुन्छन् । यस्ता सिद्धि प्राप्त गरेका योगीहरूले जहिले चाहन्छन् तिनीहरूको प्रयोग गर्न सक्दछन् । तर योगदर्शनमा यी ऐश्वर्यको लोभबाट योग साधनामा प्रवृत्त हुन कडारूपमा निषेध गरिएको छ । यसबाट साधक पथभ्रष्ट हुनसक्ने हुँदा योगको मुख्य लक्ष्य नै मोक्षप्राप्ति हो भनिन्छ । यी सिद्धिहरू आठ प्रकारका छन् ।

१. अणिमा: अणु जस्तै सानो हुनु वा अदृश्य हुनु ।

२. लाधिमा: कपासभन्दा पनि हलुङ्गो भएर उड्नु ।

३. महिमा: पहाड जस्तै ठूलो हुनु ।

४. प्राप्ति: कहीँबाट पनि कुनै पनि वस्तु मगाउनु ।

५. प्रकाम्य: इच्छा शक्ति बाधारहित हुनु ।

६. बशित्व: सबै जीवलाई बसीभूत गर्नु ।

७. इशित्व: सम्पूर्ण भौतिक पदार्थमा अधिकार जमाउनु ।

८. यथाकामा बसायिता: सम्पूर्ण सङ्कल्पको सिद्धि हुनु ।
  

 अन्त्यमा, योगदर्शनमा सैद्धान्तिक ज्ञान मात्र छैन कि यसमा धेरै व्यावाहारिक ज्ञानहरू पनि छन् । यस दर्शनमा धर्म कर्मका लागि यज्ञ यज्ञादि र पूजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । यस दर्शनले स्वःअध्ययनका लागि प्रेरणा दिन्छ भने ईश्वरको ध्यान ईश्वर वाचक ॐ (ओउम्) को उच्चारण गरी चित्त एकाग्र गराउन भन्छ ।

योग भारतीय मनिषीहरूको आध्यात्मिक चिन्तनको सारभूत तत्व हो तापनि यो दर्शनले पूर्व तथा पश्चिमका सारा जगतहरूलाई जोड्ने काम गरेको छ । सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ ।

लगभग सबै खालका धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्व दिइएको हुनाले योगदर्शनको महत्व बढी छ । हिन्दू र बौद्ध धर्मसहितका अन्य धर्महरू जस्तैः इसाई धर्ममा योगको व्यावहारिक उपयोगका कुराहरू पाइन्छन् । मुहमदले योगको राम्रो अभ्यास गरेका थिए र पछि गएर उनी आध्यात्मवादका चिन्तक बने, इस्लाममा नमाज पढ्नका लागि बसिने आसन योगासन हो । सुफीहरूको साधनमा ध्यानको निकै महत्व रहेको पाइन्छ, इसाई धर्मका प्रवर्तक इसामसिह ठूला योगी थिए, जसको बारेमा न्युगेस्टामेटमा कहानीहरू दिइएको छ र उनले आफ्नो साधनाका धेरै समय भारतका सिद्धहरूसँग बिताएको पाइन्छ ।

यस्ता उदाहरणहरूले के पुष्टि गर्न सकिन्छ भने योग सबैका लागि र सधैंका लागि आवश्यक अभ्यास हो, जसले सबै धर्म, जात, भाषाभाषी, वर्ण, लिङ्ग, सम्प्रदाय आदिलाई जोड्ने काम गर्छ । यसले शरीर तथा मनलाई अनुशासित गराई जीवनका चरम उद्देश्य आनन्दलाई प्राप्त गर्न सहायक सिद्ध हुन्छ । यसले आत्माभित्र रहेका विशेषताहरूलाई खोजेर निकाल्छ र मनुष्य जगतका मानसिकतामाथि सकारात्मक प्रभाव पार्ने काम गर्छ ।

योगलाई आधुनिक चिकित्साको माध्यममा समेत समावेश गर्नुले योग निकै कल्याणकारी स्वास्थ्यको मानक पनि हो भन्न सकिन्छ । योगको महत्व दिनप्रतिदिन अझै बढ्दै जाने कुरामा पनि कुनै शंका छैन । अतः के भन्न सकिन्छ भने योगदर्शन अहिलेको युगमा आइपुग्दा पनि वैज्ञानिक दर्शनकै रूपमा रहेको कुरा प्रमाणित गर्न सकिन्छ । 
कावासोती—८, नवलपुर

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.