शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीपी  स्मृति सन्दर्भः बीपीका विचार  बिर्सिएको काङ्ग्रेस

आइतबार, ०८ साउन २०७४, १२ : ५३
आइतबार, ०८ साउन २०७४

नेपाली  काङ्ग्रेसका अधिकांश उपल्ला र अगुवा कार्यकर्ताले अहिले काङ्ग्रेसलाई बिर्सिन लागेको देखिन्छ । नबिर्सिएको भए तिनले प्रजातान्त्रिक र लोकतान्त्रिक राजनीतिक चरित्रको लाजसम्म राख्थे । यसो हुन्थ्यो तिनको लोकलाज सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्की महाभियोग प्रकरणमा निर्वस्त्र हुने थिएन ।

नेकाले इमान, योग्यता, अनुभव र कर्तव्यपरायण जस्ता पक्षलाई सही रूपमा मान्थे भने प्रहरी महानिरीक्षक प्रकरणमा त्यसकै हुर्मत लिने थिएनन् । सामन्य लोकलाजसम्म नराख्ने  अहिलेको काङ्ग्रेसलाई कसरी काङ्ग्रेस भन्ने हो यो तमाम पाठक र श्रोतालाई नै गरेको प्रश्न हो । किनभने यसको उत्तर स्वयं काङ्ग्रेससित नै छैन । त्यसैले काङ्ग्रेसले  काङ्ग्रेसलाई चिनेका भए तिनले  प्रजातान्त्रिक समाजवाद विषयमा सतही वा सघन छलफल  पनि गर्थे होलान् । तिनले राष्ट्र, राष्ट्रियता जस्ता पार्टीका अत्यन्त महत्वपूर्ण विषयमा निधार खुम्च्याएर सोच्थे  होलान् । अहिले अमुक मधेसी दलले निर्वाचन आयोगमा दल दर्ता गर्दा प्रस्तुत गरेको पार्टीगत विधानमा नेपाललाई बहुराष्ट्रिय राज्य उल्लेख गर्दा  काङ्ग्रेसीहरू मौन  मुद्रामा समर्थनको चिरनिन्द्रमा सुकला गर्दैनथे होलान् । अनि चारताराको प्रतीक स्वरूपका कुनै पनि गौरवमय पार्टीगत पहिचानलाई चिहानमा पुर्याउन आतुर नेका नेताहरूलाई कसरी काङ्ग्रेस भन्नु ? तिनले काङ्ग्रेस सम्झेको कसरी भन्नु ?  जहाँ लोकतान्त्रिक पार्टीभित्र लोकतन्त्रको अभ्यासको प्रवेशसम्म हुँदैन  ।

पार्टीभित्र र यसअन्तर्गतका कुनै पनि विभागमा राष्ट्र, राष्ट्रियता र समाजवादको सको चर्चासम्म हुँदैन । पार्टीमा वरिष्ठ नेता नरहरि आचार्यको विचार पारित हुन्छ तर उहाँलाई नै पार्टीको प्रभावकारी नेतृत्वदायी तहमा स्थान दिइँदैन । तर यसको मतलब फेरि साराका सारा काङ्ग्रेस सकिएर  सोत्तर भएको भने किमार्थ होइन । यस पार्टीमा चन्द्र भण्डारी जस्ता पार्टी आदर्शप्रति प्रतिबद्ध युवा नेता छन् । सशक्त बौद्धिक तथा लेखकीय व्यक्तित्व नेका नेता मनमोहन भट्टराई आदि पार्टीगत चुरो व्यक्तित्व नभएका होइनन् तर यस्ता व्यक्तित्वलाई सधैँ छेउकुनामा पार्न खोजिन्छ । यस्ता व्यक्तित्वलाई बुझ्न र जान्न तेस्रो आँखा चाहिन्छ । चर्म चक्षुले गुदी देख्तैन ।  गुणी जनले मात्र गुणतत्वलाई बुझ्नसक्छ र त्यस्तै गुणग्राही जनले मात्र गुणको कदर पनि गर्छ । तर अभर परेका बेला यस्तै चुरो वा गुदी  व्यक्तित्व अपरिहार्य हुन्छ ।

मनमोहन भट्राई नेपाली काङ्ग्रेसको पुरानो साख जोगाउन प्रयत्नशील देखिन्छन् । उनले लेखेका र दिएका लेख र अन्तर्वार्ताबाट यसको अनुभूति हुन्छ । उनी बीपी काङ्ग्रेसको मन, वचन र कर्मले दृढ पक्षपोषण गर्दा रहेछन् । उनले केही दिनअघि लेखेको अन्नपूर्ण दैनिकमा प्रकाशित लेखमा पनि बीपीले झैँ दुई छिमेकी मुलुकका बीच अत्यन्त सन्तुलित परराष्ट्र नीति अपनाउन जोड दिएका छन् । जननायक बीपी कोइराला र लौहपुरुष गणेशमान सिंहको कृतित्व र व्यक्तित्व नचिन्ने काङ्ग्रेस के काङ्ग्रेस ? नेताको अनुहार, आकृति, नाक र नश्ल मात्र चिन्नु वास्तवमा नेता चिन्नु होइन । काङ्ग्रेस चिन्न बीपी र गणेशमान पढ्नुपर्छ ।

तिनले तत्कालीन भारतीय सरकार र सत्तापक्षले  बीपी कोइराला मार्फत् नेपाललाई अनेक तरहले अपमान गरेको राम्ररी पढ्नुपर्छ । त्यसबेला जानकारीमा नआएका, थाहा नपाइएका कोइराला र काङ्ग्रेस बारेका अध्ययन सामग्री अहिले पर्याप्त रहेका छन् । तिनमा बीपीले लेखेका कृतिहरू र वरिष्ठ पत्रकार जगत नेपालका  फुटकर र पुस्तकाकार कृतिहरू अध्ययनका प्रामाणिक सामग्री रहेका छन् । यी कृतिहरू नपढी बीपी कोइराला वा नेपाली चिन्न सकिन्न । यसरी पूर्वजहरूका गहन अनुभवलाई पूर्ण बेवास्ता गरेर काङ्ग्रेस हुन सकिन्न । काङ्ग्रेस हुने हो भने काङ्ग्रेस  जस्तै हुनुपर्यो । अहिले कतिपय नितान्त निजी स्वार्थपूर्तिका लागि हत्तेहाल्ने केही बुद्धिजीवीहरू  स्थानीय तहको निर्वाचनमा काङ्गे्रस पहिलो शक्ति बन्न नसकेकामा लेखमार्फत् नक्कली आँसु खसालिरहेका छन् । यस खालको सतही स्वाँगे पारामा रमाइरहने हो भने आगामी दिनमा काङ्ग्रेसको मात्र होइन, यस्ता चालामालाले कुनै पनि पार्टीको भविष्य बलियो हुँदैन ।

चुनावमा पार्टी के–के कारणले हार्यो । त्यसको सबै कारण दुनियाँका सामु जगजाहेर छ । अब आगामी दिनमा ती भूल त्रुटिहरू हुन नदिने कुराहरूमा काङ्ग्रेसी बौद्धिक जनले दबाब दिनुपर्दैन ? आफ्नै कमजोरीलाई निर्ममतापूर्वक शल्यक्रिया गर्न नसक्ने काङ्ग्रेस आफूभित्र क्षयरोग पालेर कति दिन बाँच्न सक्ला र ?
     पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाले भारतीय नेता जबाहरलाल नेहरूले चीनको मैत्रीपूर्ण भ्रमण नगर्न सल्लाह दिए पनि मान्नु भएन । नेहरूले चीन गए पनि यत्ति मात्र कुरा गर्नु भन्ने आदेश पनि स्वीकार्नु भएन । बीपीको मन्त्री मण्डलमा गृहमन्त्री रहेका सूर्यप्रसाद उपाध्यायको सिदा सम्पर्क नेहरूसित हुनेगथ्र्यो । यो कुरा थाहा पाएर पनि कोइरालाले चीनको भ्रमणमा लगेका सूर्य प्रसादलाई झुक्याएर आफूले मात्र  एक्लै  माओत्से तुङसित रातको १२ बजे भेटेर नेपालको हितमा अड्डी लिएर दुई देशका सीमा विवाद सुल्झाउनुभएको थियो । अहिले त नेपाली काङ्ग्रेसमा खुलेआम भारतीय शासकको स्वार्थमा लाग्नेहरूको बोलबाला देखिन्छ, अनि यसरी कसरी  बीपी काङ्ग्रेस हुन सकिन्छ ?  चौथो पटक हालै निर्वाचित प्रधानमन्त्री बनेका नेका पार्टी सभापति अनेक कारणले विवादित छन् । भारतीय प्रमुख अखबारमा खुल्ला रूपमा हाम्रा अर्थात् भारतीय शासकका विश्वासिला व्यक्ति भनेर हालका प्रधानमन्त्रीलाई भनेको समाचार प्रकाशित भयो ।  
     त्यसैगरी जवाहरलाल नेहरूले नेपालको  उत्तरी सीमा हिमालय पर्वत शृङ्खला भारतको उत्तरी सीमा रहेको बताउँदा बीपीले कूटनीतिक प्रतिवाद गर्नु भएको पाइन्छ । आखिर यस कुरालाई नेहरूले पनि कूटनीतिक तरिकाले परोक्ष रूपमा भारतीय संसदमा मौखिक रूपमा गल्ती महसुस गरेका थिए । त्यस्तो देश र जनताको स्वाभिमान कायम गर्ने काङ्ग्रेस अहिले कहाँ छ ? के यस्तै काङ्ग्रेस बनाउन बीपीले खोज्नु र सोच्नुभएको थियो ? विदेशीको इसारा र लहैलहैमा लागेर नेपाली काङ्ग्रेस पार्टीलाई बचाउन सकिन्छ । यसरी यो पार्टी कति दिन टिक्छ ? सत्ता, शक्ति, सम्पत्ति र निकृष्ट स्वार्थलाई केन्द्र विन्दुमा राखेर अहिलेसम्म कुन पार्टी, सिद्धान्त, सरकार र सत्ता टिकेको छ र ? भातका लागि हत्ते हाल्नेहरू भोलि हराउँछन् तर भविष्यका खातिर लाग्नेहरू कैयौँ कष्टकर कहरहरू सहेर पनि पार्टी रक्षाका लागि अटल अविचल लागिरहन्छन् । तर त्यस्तो पार्टीले देशको अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र सामाजिक सद्भाव त जोगाउनु पर्यो नि । भारतीय काङ्ग्रेसलगायत दलले बीपीलाई तिम्रो देशमा हामी बहुदल ल्याइदिन्छौँ र तिमीलाई प्रधानमन्त्री पनि हामी बनाइदिन्छौँ  भने तर त्यस खालको बेहोरालाई कोइरालाले कहिल्यै मन पराउनु भएन ।  

जब इन्दिरा गान्धीले सिक्किम कब्जा गरिन् । यसबाट बीपी कोइराला नराम्ररी झस्केको बुझिन्छ । मृत्युलाई पर्वाह नगरी मेलमिलाप नीति लिएर कोइराला  भारतबाट नेपाल आएको एक मात्र कारण नेपालको अस्तित्वको सुरक्षा गर्नुथियो । सुन्दरी जेलको कठोर कारावासमा हुँदा तत्कालीन राजा वीरेन्द्र शाहसित कोइरालाले एक्लै भेट्न खोज्नुभएको थियो । राजा र प्रजाका बीचमा अनेक खेल खेलेर देश र जनताका विरुद्ध षडयन्त्र गर्ने दरबारिया र पूर्वपञ्चहरू  बिचौलियाको भूमिकामा रहेको बीपीले देख्नुभएकै थियो । त्यसैले उहाँले राजा समक्ष सन्देश पुर्यादिन्छु भनेर आउने दरबारिया विश्वस्त व्यक्तिलाई पनि लिखित वा मौखिक सन्देश राजा समक्ष कहिल्यै पठाउनु भएन । बीपीले आखिर आफूले एक्लै राजासमक्ष भेट्ने अवसर पाएको बताइन्छ । यो कुरा ०३६ मा जनमत सङ्ग्रहको घोषणा गर्नुभन्दा अघिको कुरा रहेको पत्रकार जगत नेपालको २०७४ जेठमा कान्तिपुरमा प्रकाशित लेखबाट अवगत हुन्छ । त्यही लेखमा बीपी कोइरालालाई जयबागेश्वरी स्थित निवासमा गएर अमुक प्रभावशाली व्यक्तिले नेपालबाट राजतन्त्र हटाइदिन्छौँ, तपाईं पहिलो गणतान्त्रिक राष्ट्रपति बन्न तयार रहनुहोस्  भनिएको थियो ।

बीपीले यस प्रश्नको उत्तरमा यस्तो अतिगम्भीर विषयमा मैले मेरा साथीहरूसित सरसल्लाह गर्नुपर्छ र यसका लागि ४८ घण्टा समय चाहिन्छ भन्नुभएको लेखमा बताइएको छ । यसबीचमा बीपी कोइरालाले राजा वीरेन्द्रसित सोझो सम्पर्क गरेपछिको ४८ घण्टाभित्र जनमत सङ्ग्रहको आकस्मिक घोषणा भएको बताइन्छ । मृत्युको अन्तिम  घडीमा भेट गर्न गएका वरिष्ठ वकिल गणेशराज शर्माले बीपीकै सामुन्ने उभ्भिएर तपाईंजस्तो देशको भाग्य र भविष्यप्रति चिन्तित कूटनीतिक क्षमताको राष्ट्रवादी नेता बित्न लाग्नुभयो । अब देशको के हालत होला भनी दुःखमनाउ गरेका थिए  । यस सबालमा बीपीले अब जे गर्छ भारतले गर्छ भनेर सासले बोलेको  बुझिन्छ । यो स्थिति अहिले आइरहेको छ । यस्तो सङ्गीन अवस्थामा पनि काङ्ग्रेस पार्टी देशमा केही नभएको जस्तो गर्छ भने यस्तो काङ्ग्रेस कति दिन बाँच्ने हो । उहिल्यै पृथ्वीनारायण शाहले दक्षिणको महाचतुर बादशाह एक दिन नेपालमाथि आइलाग्छ भनेकै थिए । त्यस्ता असफल दिन धेरै पल्ट एक प्रसङ्गमा एमाले नेता तथा वरिष्ठ पत्रकार लेखक कमल कोइरालाले भारतीय शासकले बीपीका तुलनामा मातृका प्रसाद कोइरालालाई मन पराउँथे ।  बीपी आफ्नो विवेकले चल्ने हुँदा भारतले उहाँलाई भन्दा भारतले भनेको खुरुखुरु मान्ने  मातृका प्रसाद कोइराला भारतेली शासकले काँध हाल्थे । अहिले त्यही कुराको पुनरावृत्ति भइरहेको देखिन्छ । 


। भारतेली शासकले उहिल्यैदेखि अहिलेसम्म पनि नेपालमा सकेसम्म प्रायः आफ्ना आदेश खुरुखुरु तामेल गर्ने प्रधानमन्त्री मात्रै होइन, राजकीय अन्य क्षेत्र, तह र दर्जामा नियुक्त गर्न गराउन जोड बल लगाउने गरेको देखिन्छ । ओली सरकार हटाएर नेका र माओवादी केन्द्रको नौनौ महिने पालोफेरोकोे सरकार  भारतीय स्वार्थमा आधारित देखिन्छ ।  पृथ्वीनारायण शाहले कुनै एक दिन दक्षिणका महाचतुर बादशाह नेपालमाथि आइलाग्छ भनेको र बीपीले पनि जीवनको अन्तिम घडीमा वरिष्ठ वकिल गणेशराज शर्मालाई निराश भएर जे गर्छ अब भारतले गर्छ भनेझैँ हुने कुलक्षणको सम्भवना नेपालमा बढेको  देखिन्छ । यस खालको कुलक्षणको सम्भवना बढेर जाँदा पनि काङ्ग्रेस किन मौनव्रत लिएर बसेको छ । के यो त्यही काङ्ग्रेस हो  ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप