शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शासनको शान : बैङ्कर पनि फेसन डिजाइनर पनि

बुधबार, १४ कात्तिक २०७५, ११ : ५८
बुधबार, १४ कात्तिक २०७५

काठमाडौँ । पेसाले बैङ्कर रहेका शासन ग्लोबल आईएमई बैङ्कको क्याड डिपार्टमेन्टमा अफिसर लेभलमा कार्यरत छन् । तर उनी आफैले कल चलाएर विभिन्न पहिरन तयार पार्छन् भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ ।  

डिजाइनिङको क्षेत्रमा क्रियाशील शासनलाई मिस वल्र्ड र मिस युनिभर्समा देखिने फेसन शैलीले सधैँ आकर्षित गथ्र्यो । 

अन्तर्राष्ट्रिय स्तरका प्रखर डिजाइनरका डिजाइनहरू देख्न सकिने यस्ता सोमा प्रतिस्पर्धीभन्दा पनि उनीहरूको ड्रेस हेरेर बस्थे उनी । कुन प्रतिस्पर्धीले कसको ड्रेस लगाएको छ त्यसैमा उनको ध्यान हुन्थ्यो । 

फेसन डिजाइनरका रूपमा आफूलाई स्थापित गर्ने बाटोमा लम्किएका यी युवालाई फेसन सोमा निकै मोह पनि छ, त्यसैले त उनी कुनै पनि फेसनसम्बन्धी कार्यक्रमहरू छुटाउँदैनन् । समय हुनासाथ टिभी अथवा युट्युब हेरिहाल्छन् । फेसनका विविध पक्ष त्यहाँ देख्न पाइने र नयाँ नयाँ डिजाइनका उपायहरूबारे पनि सिक्न सकिने उनी बताउँछन् ।

चक्लेटी अनुहार, रातो मिलेको कोट अनि आँखीभाँैबाट डट हानेर कपाल मिलाएका उनी स्टाइलिस त देखिन्छन् नै ड्रेसमा निकै ख्याल गर्छन् । 

शासनको नजरमा फेसन डिजाइनर बन्न कुनै डिग्री चाहिँदैन मात्र चाहिन्छ त सिर्जनशीलता अनि कल्पनाशक्ति । शासनको नजरमा, ‘डिजाइनिङ एक आर्ट हो ।’

डिजाइनिङ एक आर्ट 

शासनको सानैदेखि सपना हो फेसन डिजाइनर बन्ने । तर पढाइ भिन्न बाटोको भयो । बैङ्कमा जागिर खान थालेपछि उनलाई झनै आफ्नो रुचि पूरा गर्ने चाहाना बढ्यो । 

केही गर्नुपर्छ भनेर उनले आफैले एउटा मेसिन किनेर घरमै स्केच गर्दै लुगा सिलाउन थाले । अफिसबाट बचेको समय उनले डिजाइनमा खर्च गर्न थाले । शासन भन्छन्– ‘डिजाइनिङ एक आर्ट हो ।’ 

डिजाइनिङको नशाले उनलाई यसरी समात्यो कि  कामबाट फुर्सद मिल्न हुन्न, केही न केही नयाँ डिजाइन फुरिहाल्छ । अनि सुरु गरिहाल्छन् स्केच गर्न । सामान्यतः कामकाजी व्यक्तिहरू कामबाट बचेको समय खानपान अनि भेटघाटमा बिताउँछन् तर शासनलाई डिजाइनिङको नशाले घेर्छ र बसी हाल्छन् ।  क्रिएटिभ पनि भइने अनि आम्दानी पनि राम्रै हुने भएकाले यो क्षेत्रमा उनको लगाव झनै बढेको छ । 

एली साव र र्यालफ रुसी उनका आदर्श डिजाइनर हुन् । यी दुई डिजाइनरका हरेक फेसन सो हेर्छन् । प्रबल गुरुङ पनि उनका लागि अदर्श व्यक्तित्व हुन् । प्रबलका हरेक डिजाइन कलाबाट शासन प्रभावित छन् । हरेक दिनको सुरुवात कुनै न कुनै ड्रेसको डिजाइन गरेरै सुरु गर्न रुचाउँछन् उनी ।

शासन धेरैजसो आर्टिस्टिक इभिनिङ गाउन बनाउन रुचाउँछन् । नेपालमा पनि गाउन फेसन निकै चलेको फेसन हो । उनले बनाएका गाउन सबैले रुचाएका पनि छन् । अब छिटै फेसन सो गर्दैछन् । फेसन सो गरेर आफ्ना क्रिएसनलाई सबैको सामु ल्याउने तयारीमा जुटेका छन्, यतिबेला शासन ।

शासनले बनाएका ड्रेसको फ्लेयर निकै आकर्षक हुन्छन् । शासन डिजाइन गर्दा स्किन कलर, हाइट, वेट, बडी स्टक्चर सबै हेरेर डिजाइन गर्दा बेस्ट रिजल्ट निस्कने बताउँछन् । आज भोलि बुटिकको नाममा रेडिमेट ड्रेस किनेर बिक्री गर्ने अथवा थानका कपडा नाप लिएर सिलाउने चलन निकै बढेको छ । त्यसलाई बुटिक नभई फेन्सी पसल वा टेलरिङ सेन्टर भन्न रुचाउँछन् उनी । फेसन डिजाइनर भनेको आर्टिस्ट हो, उसले कपडालाई आर्ट गरेर तयार पार्छ । यसमा क्रिएटिभिटी हुन्छ र यसमा समय पनि लाग्छ । 

लब्ली प्रोफेसनल युनिभर्सिटी इन्डियाबाट ह्युमन रिसोर्स विषयमा एमबीए गरेका शासनले फेसन डिजाइनिङको भने कुनै पनि कोर्ष गरेका छैनन् न त कुनै तालिम नै लिएका छन् । डिजाइन उनको भित्री कला हो, जसलाई निखार्न गरेको मिहिनेत उनले बनाएका ड्रेसहरूबाट थाहा पाउन सकिन्छ । ‘इच्छा शक्ति भएर मात्र हुँदैन, क्रिएटिभिटी हुनु जरुरी छ, यो पेसामा’ शासन भन्छन् ।

पेपरमा चित्र कोरेर डिजाइन निकाल्न अनि त्यसलाई आफ्नै हातले सिलाउन पाउँदा खुब आनन्द आउँछ उनलाई । हुन त कमर्सियल डिजाइनरहरू कल चलाउँदैनन् । डिजाइन गर्यो सिलाउने अर्कै हुन्छ । यो शासनको आधा प्रोफेसन हा,े जसमा हरेक काम उनी आफै गर्छन् । 

फेसनप्रतिको परिवर्तित सोच

कुनै पनि व्यक्ति आकर्षक देखिनुको पछाडिको मुख्य राज हो फेसन शैली । पेसा, उमेर, वर्ग अनि परिस्थिति अनुसारको फेसन शैली अपनाउँदा आकर्षक देखिन मद्दत त गर्छ नै व्यक्तित्वमा पनि निखारता ल्याउँछ । 

नेपालमा फेसन प्रतिको सोचमा धेरैनै परिवर्तन भएको छ । वेस्टर्न फेसन शैली नेपालीको रोजाइमा परे पनि कल्चरल ड्रेसको माग भने दिनानुदिन बढ्दो छ । विशेष गरेर अकेजन वोयरमा शासनको फोकस छ । यस्ता ड्रेसमा कला देखाउन पाइन्छ । विशेष अवसरमा मात्र लगाउने यस्ता ड्रेस केही महँगा भए पनि आकर्षक हुने भएकाले बढी प्रयोग गर्ने गरेको पाइन्छ । सारी र कुर्ता सलवारमा सजिने महिलाहरू अहिले लेहेङ्गा र गाउन लगाउन थालेका छन् । त्यसैले सारी कुर्ताभन्दा पनि लेहेङ्गा र गाउनको माग बढी छ ।

आफ्नो कलालाई शासन सबैसामु ल्याउन चाहन्छन् । यो तिहार लगत्तै एउटा फेसन सो गर्ने सोचमा छन् उनी । अहिलेको चाडबाडको बिदालाई राम्रै सदुपयोग गरेका शासनले आफ्नो कलालाई सबैसामु पुर्याउन र ड्रेसमा ध्यान दिने हो भने सामान्य व्यक्ति पनि स्मार्ट अनि स्टाइलिस देखिन सक्छ भन्ने सन्देश दिन चाहन्छन् । आफूले बनाएका ड्रेसलाई एक पटक स्टेजमा उतारेरै भए पनि सबैसामु परिचित गराउँदै छु, उनी भन्छन् । सोमा उनले क्याजुअल ड्रेस, इभिनिङ गाउन, इथ्निक ड्रेसहरू प्रस्तुत गर्दै छन् । साथै आर्टिस्किट ड्रेसहरूलाई पनि प्रस्तुत गर्दैछन् । 

लुगा सिलाउँदा स्ट्रेस रिलिफ हुन्छ

बैङ्कको जागिरे डिजाइनर शासनलाई बैङ्कको कामले भन्दा धेरै डिजाइनिङको कामले आत्मसन्तुष्टी दिन्छ । दिनभरीको थकान र तनावलाई मुक्त गर्ने एउटै थलो हो उनले आफैले घरमा बनाएको डिजाइनिङ र टेलरिङको रुम । दिनभरीको कामको थकानलाई साँझ गएर उनी त्यही रूपमा पोख्छन् । हरेक दिनजसो केही न केही नयाँ डिजाइन गर्छन् । 

अफिस पछि साथीभाइ जमघटमा जुट्दै गर्दा शासन भने घर दौडिन्छन् । शनिबार भने दिनभरी जस्तै उनी डिजाइनिङ र टेलरिङमा व्यस्त हुन्छन् । फ्याब्रिक, लेस, बोर्डर अनि स्टोनलगायतका सामानहरू आफै खरिद गरेर ल्याउँछन् र आफ्नै हातले फूलबुट्टा भर्नेदेखि सिलाउनेसम्मको काम गर्छन् । 

पहिले पहिले शासनलाई लेडिजहरूको नाप लिन निकै लाज लाग्थ्यो रे तर अहिले भने बानी परेको छ आफै नाप लिएर सिलाउँछन् । शासनले सारी, लेहेङ्गा, गाउनदेखि बच्चाहरूका लागि विभिन्न ड्रेस बनाएका छन् । 

क्रिएटिभ फेसन डिजाइनर

चितवन स्थायी घर भएका शासनको जन्म काठमाडौंमै भयो र यतै हुर्किए । पारिवारिक अनि साथीभाइको सहयोग र साथ पाएका शासन भविष्यमा क्रिएटिभ फेसन डिजाइनरको रूपमा स्थापित हुन चाहन्छन् । 

आफ्ना लागि आफैले प्रस्तुत हुने विशेष प्रकारको शैली नै फेसन भएकाले शासन आफ्ना ग्राकहसँग अर्डर लिनुपूर्व इन्टरभ्यु गर्छन् । ग्राहकको चाहना, उसको स्किन कलर, फिगरदेखि सबै अध्ययन गरेर मात्र ड्रेस बनाउँछन् । उनको क्रिएसनले नेपालमा मात्र होइन, विदेशमा पनि चर्चा पाउन थालेको छ । विदेशमा रहेका नेपालीहरूबाट पनि थुप्रै अर्डरहरू आउने गरेको छ ।

हुन त फेसन भन्नै वित्तिकै सेलिब्रेटीहरूले मात्र गर्छन् भन्ने मानसिकता नभएको होइन । तर आजभोलि सामान्य व्यक्तिहरू पनि आफूलाई स्मार्ट अनि फेसनेबल देखाउन चाहन्छन् । अलिकति फेसनमा चाहना राख्नेहरू डिजाइनर कहाँ गएर नै आफ्ना लागि ड्रेस बनाउने ट्रेन बढेको छ । 

फेसन डिजाइनिङको क्षेत्र कहिल्यै आउट डेटेड नहुने क्षेत्र भएकाले यसमा भविष्य सुन्दर छ । विश्वमा बढ्दो फेसन शैली अनि मानिसहरूको फेसनप्रतिको मोहले यो क्षेत्रको भविष्य उज्ज्वल देखिन्छ । राम्रो आम्दानी गर्न सकिने क्षेत्र भएकाले यसमा युवाको लगान पनि बढ्दै गइरहेको छ ।

दुईवटा डुङ्गामा पाइला राखेका शासन आफूलाई एउटा उदाहरणीय व्यक्तित्वका रूपमा उभ्याउन चाहन्छन् । सफल बैङ्करका साथै सफल डिजाइनरको सपना बोकेका उनले स्टाइलको दुनियामा शासन गर्ने नै छन् भन्ने विश्वास उनको आर्टले देखाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप