शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेविसङ्घमा ३२ वर्षे उमेर हद : महाधिवेशनको ढोका बन्द ?

बुधबार, १४ कात्तिक २०७५, १२ : ०६
बुधबार, १४ कात्तिक २०७५

मोतीलाल भण्डारी 
 

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घ, लोकतन्त्रको मूल्य, मान्यता विपरीत मात्र सञ्चालन भएको छैन, आम विद्यार्थीहरूको भावना विपरीत सञ्चालन भएको छ । 

आज नेकपाको दुईतिहाई सरकारको दम्भ सर्वत्र लोकतन्त्रका आधारशिलाहरू मात्र नभएर क्रमशः संविधानमाथि नै प्रहार भइरहेको बेलामा नेविसङ्घ एक जुट भएर आफ्नो सङ्गठन निर्माण गर्नेबेला भएको छ ।

 महाधिवेशन सम्पन्न गरी आम जनसरोकारका मुद्दा उठाउने, भ्रष्टाचार, बलात्कार र हत्या, हिंसादेखि कर वृद्धि महँगीको मात्र नभएर शिक्षण संस्थाहरूले विद्यार्थीलाई ढाड सेक्ने गरी गरेको शिक्षण शुल्क वृद्धिको विरुद्धको आन्दोलन गर्नुपर्ने बेला भएको छ । यो अवस्थामा नेविसङ्घलाई तदर्थ वादमा सञ्चालन गरिनु दुर्भाग्य हो । 

एकातिर पार्टी कमजोर अवस्थामा पुग्नु, अर्काेतिर  कम्युनिस्टहरूले पेल्दै जानु, यो अवस्थामा नेपाली काँग्रेसभित्रको भाँडभैलाले नेविसङ्घ कमजोर भएको छ । यसले समग्र विद्यार्थी आन्दोलन कमजोर भएको छ । नेविसङ्घ कमजोर हुँदा काँग्रेस कमजोर हुन्छ, काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुँदा देशमा अस्थिरता, भ्रष्टाचार, सुशासन कायम नहुने र हत्या, हिंसा, बलात्कार र महँगी वर्तमान सरकारका ज्वालन्त उदाहरण हुन् ।   

    नेपाली काँग्रेसका भ्रातृ, भगेनी तथा शुभेच्छेक सङ्घ, सङ्गठनहरू जुन उद्देश्य बोकेर गठन गरिएको थियो, त्यसको मर्म, भावना विपरीत गलत ढङ्गबाट सञ्चालन भएका छन् । 

नेपाली काँग्रेस पार्टी पनि विधानसम्मत र विधिसम्मत पनि सञ्चालन भएको छैन । सबभन्दा ठूलो भ्रातृ सङ्गठन नेविसङ्घ झनै लथालिङ्ग र विधान विपरीत तदर्थवादमा सञ्चालन भएको छ । यतिबेला हामी नेपाली विद्यार्थी सङ्घको १२औँ महाधिवेशनको सङ्घारमा उभिएका छौं । महाधिवेशनको चर्चा, परिचर्चा भइरहँदा तमाम लोकतन्त्र प्रेमी विद्यार्थीहरूको मानस पटलमा उत्साह तरङ्ग पैदा हुनु स्वभाविक नै हो ।

तर सङ्गठनभित्र गैरविद्यार्थीको प्रतिनिधित्व र शक्ति सन्तुलनको नाममा भागबन्डा गरी सङ्गठनभित्र काम नगरेका जमातहरूलाई सङ्गठनभित्रको प्रवेशले सङ्घको इतिहास धमिलो मात्र होइन, साँच्चै कमजोर तुल्याएको छ । नेपाली काँग्रेसको नेतृत्वमा देशमा संविधान निर्माण भई संविधानको कार्यान्वयनको चरणमा छ । संविधानले व्यवस्था गरेअनुसारको नेविसङ्घको विधान निर्माण गरी विद्यालय तह हुँदै विश्वविद्यालय, केन्द्रसम्म, वडा, गा.पा., न.पा. हुँदै प्रदेश र केन्द्रसम्म सङ्घीयतामा आधारित विधानको आधारमा, अधिवेशन र महाधिवेशन गर्नुपर्ने बेलामा सङ्गठनभित्र लथालिङ्ग, गाईजात्रे स्थिति आउनुमा स्वयम् पार्टी नेतृत्व नै जिम्मेवार छ ।

यस्तो अवस्थामा महाधिवेशनको नीति कार्यक्रम र कार्यशैलीको अन्योलताले महाधिवेशन हुने वा नहुने भन्ने द्विविधा मात्र छैन, समग्र विद्यार्थी राजनीतिको भविष्यलाई अन्धकार तुल्याएको छ । विगतको इतिहास सम्झेर मात्र अब नेविसङ्घ नयाँ बन्न सक्दैन । नेविसङ्घ नयाँ बन्न त यसले लिने कार्यदिशा, विधान र कार्यक्रमले लाखौँ विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ । अहिले लाखौँ विद्यार्थीहरू रोजगारमूलक शिक्षाको अभावमा विदेशिनुपर्ने बाध्यता छ । सँगसँगै युवा शक्ति पलायन र ठूलो धनराशि (अर्बौँ) पुँजी पलायत भएको छ । यस्ता गम्भीर विषयहरूमा नेविसङ्घ चुकेको छ । हामीसँग

गौरवशाली र सङ्घर्षशील इतिहास छ । तर वर्तमानमा सङ्गठन निर्माण मात्र नभई राजनीतिक, शैक्षिक र वर्गीय आन्दोलनमा चुकेको छ र साङ्गठानिक रूपमा त झनै निकम्मा बनेको छ । 
    विद्यार्थी राजनीति गर्ने, विद्यार्थीहरूका मुद्दा थाहा नहुने ? भाषणमा शैक्षिक र गुणस्तरीय शिक्षाका बारेमा कुरा गर्र्ने, विद्यार्थी भएर विश्वविद्यालय अध्यापन गर्नु नपर्ने ? मन्त्र जपेजस्तै विधानका कुरा गर्ने तर नेतृत्वबाट विधान पालना गर्नु नपर्ने ? वर्गीय आन्दोलनको गफ गर्ने तर नारीको अस्मिता लुटिँदा होस् या सरकारले बढाएको कर वृद्धिदेखि शैक्षिक कालोबजारीको विरुद्ध आन्दोलन गर्न नसक्ने ? विद्यार्थी राजनीतिमा ३२ वर्ष उमेर हदको कुरा गर्ने आफू चाहिँ ५० नाग्दासम्म नेतृत्वमा बसिरहन लाज नमान्ने ? अधिवेशन, महाधिवेशनको र सङ्गठन निर्माणको कुरा गर्ने, जिल्ला, क्याम्पस र केन्द्रमा चिठ्ठी वितरण गर्न नछोड्ने ? 

    तर लोकतन्त्र प्राप्तिको आन्दोलनमा शासकहरूका बन्दुकका आमुन्ने–सामुन्ने भएर छातीमा गोली खाएका  र गोली खान तयार भएका ती योद्धाहरूको मूल्याङ्कन नगरी २ नम्बरी, दलाली चाकरी गर्नेलाई मात्र प्रोत्साहित गर्ने ? विगतमा राम्रो भूमिका निर्वाह गरी योगदान गरेका, भविष्यमा सङ्गठनमा मात्र नभई देशकै लागि केही राम्रोका लागि परिवर्तन गरौं भन्नेलाई डण्डा लगाएर उमेर लगाउने ? यो कहाँको लोकतन्त्र हो ? युवाहरूको जोस, जाँगर र उत्साहलाई मारी पार्टी सङ्गठनमा युवाहरूलाई ढोका बन्द गरिदिएर बलियो पार्टीको कल्पना, किमार्थ हुन सक्दैन । पार्टी सङ्गठनमा  जो जाहाँ सुकै होस् एक व्यक्ति एक पदको अवधारणा पार्टी वा भ्रातृ सङ्गठनमा विकास हुनुपर्छ । न्याय, विवेक र मूल्याङ्कनको आधारमा जिम्मेवारी बाँडफाँट हुनुपर्छ । पार्टीदेखि भ्रातृ सङ्घ सङ्गठनहरू अक्षरस विधान संवत् सञ्चालन गरिनुपर्छ । अनि मात्र पार्टी सङ्गठन बलियो हुन्छ, लोकतन्त्र बलियो हुन्छ र देश विकास हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप