बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दलाल पुँजीवादबाट समृद्धि असम्भव

बुधबार, १४ कात्तिक २०७५, १२ : १४
बुधबार, १४ कात्तिक २०७५

नेपालको सांस्कृतिक विविधता, भूबनोट, प्रकृति हिमाल र तराई, पहाड, बेँसी, हवापानी, नदीनाला आदिका कारण विश्वमा नै नेपाल अनौठो छ । विश्वका दस सहरहरूमध्ये काठमाडौँ उपत्यकालाई एउटा अनौठो मनोहर र सभ्यता तथा संस्कृतिको सहर मानिएको छ । यसलाई विश्वले आँखा लगाएको छ । चीनको छिमेकीको कारण यसलाई संवेदनशील पनि मानिएको छ ।

     भारत र अमेरिकाका एजेन्टहरूले आफ्ना भरौटेमार्फत नेपाल चलाइरहेछन् । उत्तर साम्राज्यवादमा यस्तै हुन्छ । आफै हमला गर्न आउँदैनन् । आफ्ना दलालमार्फत देश चलाउँछन् । १२ बुँदे सहमती होस वा  शान्ति सम्झौता सबै विदेशबाट सञ्चालित छन् । 

अहिले नेपाल संवेदनशील क्षेत्र बनेको छ । अमेरिकाले नेपालको ढाडमा टेकेर तिब्बत हान्न चाहन्छ । यसका लागि भारतले दलाई लामालाई पालेर राखेको छ ।  अमेरिका र भारतले नेपालमा अस्थिरता सिर्जना गर्न चाहन्छन् । तर चीनले नेपालको स्थिरता चाहन्छ । 

नेपाल अस्थिर रहेमा नेपालमा भारत र अमेरिका पसेर चीनलाई दखल गर्न सक्छन् भन्ने चीनको ठहर छ । यसैले चीनले नेपाललाई विकास कार्यमा सहयोग गर्नसक्छ । यो कूटनीतिक कुरा हो । भारतले भने विकासको प्रलोभन देखाएर ब्रह्मलुट मच्चाइरहेको छ । कैयौँ ठाउँहरूमा जल, जमन र जङ्गल आफ्नो कब्जामा लिएको छ । नेपालको सामाजिक दलाल पुँजीवादले आफ्नो प्रभुविरुद्ध विरोधका स्वरनिकाल्न सक्दैन ।

विस्तारवाद र सम्राज्यवादको विरोध गरेमा नेपालका दलालहरूको मुटु दुख्छ । आफ्ना मालिकहरूको चोट पुग्ने काम आएमा उनका हनुमानहरूले कालोलाई कालो भन्न डराउँछन् ।  सेतोलाई सेतो भन्न डराउँछन् ।  असलीरूपमा नेपालको राजनीतिको साँचो अमेरिकासँग छ । ब्रिटेनसँग छ । पश्चिमाहरूसँग छ । भारतले त लगाइदिएको काम गर्ने हो । भारत सिङ न पुच्छर हो । उसँग हजारौँ वर्षको गुलामीको संस्कार छ । ऊ स्वतन्त्र नभएकाले भारतले नेपाललाई स्वतन्त्र भएर बाच्न दिँदैन । वास्तवमा भारत अहिले पनि अङ्ग्रेजबाट शासित छ । भारतका ४ सय राज्यलाई अङ्ग्रेजले नै एकीकरण गरेको हो । रेल मार्ग आदि ब्रिटेनले नै बनाइदिएको हो । वास्तवमा भन्ने हो भने भारत ब्रिटेनलाई प्यारो छ । 
 

  दलाल सत्ताको आफ्नो भन्ने केही हुँदैन । उसले दलाली गरेर सत्ता टिकाउन चाहन्छ । जबसम्म सामाजिक दलाल पुँजीवाद समाप्त हुँदैन । सत्तामा जाने केपी बली  मात्र होइन जुन जोगी आए पनि कानै चिरेका हुन्छन् । जताततै भ्रष्टाचार व्याप्त छ । मालमा गयो भ्रष्टाचार छ । उदाहरणका लागि  ६ रोपनी जग्गा कित्ताकाट गरेकामा ५५ लाख रुपियाँ तिर्नुपरेको कुरा प्लटिङ गर्नेहरू बताउँछन् ।

रेस्टुरेन्ट डान्सबारमा सीआईडीको रूपमा गएर एक कप कफीको ५ हजार, १० हजार तिर्नुपरेको कुरा स्वयम् पत्रकारहरूले बताइरहेका छन् । यौन दुराचार, हत्याहिंसा, लुट छ समाजमा । निर्मला पन्तको बलात्कार र हत्या प्रकरण ३ महिना भइसक्दा पनि रहस्यमय बनेको छ । बलात्कारीहरू प्रमको कुर्सी वरिपरि घुमिरहेका हुन्छन् तर समातिँदैनन् ठूला माछाहरू । चाहे ३३ किलो सुन प्रकरणको कुरा होस वा सिन्डिकेटको कुरा होस या ठेकेदारको लापरवाहीको कुरा होस् । सबै विषयमा सरकार मौन देखिएको छ । उभार छैन उतार छ । समृद्धि होइन विषम वृद्धि छ । नेताहरूले तलबभत्ता सहुलियत बढाइरहेका छन् । विदेश घुमिरहेका छन् । गाडी किनिरहेका छन् । एकातिर महँगी र ढाड सेकिने करले जनता छटपटिएका छन्  अर्कोतिर कथित कम्युनिस्ट सरकारले दसैंंको शुभकामना सन्दर्भमा चियापान  दिन ५० हजार जनता उतारेको छ । 

सामन्तले पनि गर्न नसकेको कुरा सरकारले महासामन्त बनेर पूर्णिमासम्म दसैंको टीका लगाइदिन्छ । कस्तो बिडम्बना ! निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिबाट घुँडाटेकेर टीका लगाउँछन् । यो गुलामी संस्कार हो वा दास संस्कार ? दासहरू सिक्रीमा बाँधिएका हुन्छन् । उनीहरूले विद्रोह गर्न सक्दछन् । तर गुलामीहरू आफ्नो अस्तित्व मेटाएर स्वतस्फूर्तरूपमा पाउमा पर्न जान्छन् । टीका लगाउँदा  मान्छे हेरेर कुर्सी अगाडि सार्ने र पछाडि हटाउने काम गरिन्छ । कस्तो गाई जात्रा हो यो ? कुनै व्यवस्था छैन । व्यवस्थापन छैन । कर्मचारीको लापरवाहीले अस्तव्यस्त भयो भनौँ भने आखिर कर्मचारी व्यवस्थापन गर्ने सरकारको नै जिम्मा हुन्छ ।

यसबाट सरकार पन्छेर बस्न सक्दैन । दसैं तिहार आफ्नो संस्कृति अनुसार मान्नुपर्छ । यो बेग्लै कुरा हो तर ताकपरे तिवारी नत्र गोतामे भनेजस्तो आफूलाई कम्युनिस्ट बताउने मान्छेले दुर्गा भवानीलाई अगाडि राखेर टीका ग्रहण गर्छ भने ऊ कम्युनिस्ट हो वा अवसरवादी ?  आत्मसन्तुष्टीका लागि धर्म गर्छ भने गरोस्, यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर उसले कम्युनिस्टको आवरण फाल्नुपर्छ । भौतिकवाद र आध्यात्मवाद सँगसँगै जानसक्दैनन् । दुवैलाई समात्नु भनेको सारसङ्ग्रहवादी अवसरवादी हुन्छ । न एता हुन्छ न उता हुन्छ ।  नेपालमा यस्ता कम्युनिस्ट भनाउँदा छन्, जसले जनतामा कम्युनिस्टको विभ्रम फैलाएर शोषण गरिरहेका हुन्छन् । विकृति विसङ्गती निम्त्याएका हुन्छन् । यसलाई द्वेधवाद संस्कृति भन्छन् । अर्को शब्दमा यसलाई पुँजीवादी संस्कृति पनि भनिन्छ । रूपान्तरण हुनुपर्छ भन्ने नारा हुन्छ तर  आफूलाई व्यवहारमा उतार्न सक्दैनन् । यो हो निम्न पुँजीवादी संस्कृति । अनि केको नाटक ? कम्युनिस्ट त फेसन नै भएको छ । लाली पाउडर जस्तै ।

जनताले कम्युनिस्टको सरकारको बिहानी देखिसके । कम्युनिस्ट सरकारको बिहानीमा कालो बादल छ । कम्युनिस्ट सरकारमा वर्षामा बाटैभरि हिलो हिउँदमा धुलाको मुस्लो हुन्छ । नारामा विकास र समृद्धिको भजन छ । तर उल्टो यात्रा छ । बेरोजगारी छ । दैनिक ४, ५ सय युवा विदेश पलायन हुन्छन् । जागिरको प्रलोभनमा कैयौँ युवती दिल्लीको कोठीमा बन्दी बनाइएका हुन्छन् । महँगीले आकास छोएको छ । बलात्कार, हत्या, अपहरणको जगजगी छ ।

अभिभावकहरूमा बालबालिका कसरी जोगाउने भन्ने सन्त्रास छ ।  गुण्डाको राज छ । जनस्वास्थ्यमा खेलबहाड छ । डा. गोविन्द केसीको मागमा अझै सुनुवाइ हुनसकेको छैन । राष्ट्रिय गौरवका विकासका कुरा ओझेलमा छन् । सबै कुरा जादूको छडीजस्तै ८, ९ महिनामा नै हुनुपर्छ भनेको पनि होइन । तर सुरुवातै भएन । प्रधानमन्त्रीको एकलै सुँगा रटाइले मात्र केही हुँदैन । वरिष्ठ नेताहरूको टिम लागेको देखिँदैन । राज्यहरूमा कर्मचारी पूरा हुन सकिरहेका छैनन् ।  खर्च थाम्न नसकेर सङ्घीयतामा प्रश्न उठ्न थालिसकेको छ । भारत अमेरिकाले जस्तो गराउन चाहन्छन् उस्तै भएको छ नेपाल । दिन प्रतिदिन सीमामा अतिक्रमण भएको छ । नेपालमा राजनीतिक, सामाजिक तथा सांस्कृतिक अतिक्रमण छ ।  भारतले ६ सय ६ वर्ग किमि लगेको छ । लिम्पिया धुरा कालापानीमा मात्र ३७ हजार हेक्टर जमिन अतिक्रमण गरेको छ ।

भारतले बनाइदिएको नक्सामा ३ सय १० वर्ग किमि हटाइएको छ । यसमा नेपाल मौन रहेको छ । नवलपुरको सुस्तामा मात्र १४ हजार हेक्टर जग्गा कब्जामा छ । १९७९ को हवाई फोटोग्राफी अनुसार नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमि निर्धारण गरिएकोमा त्यो खुम्चिँदै खेम्चिँदै गएको छ । पुँजीवादी दलाल सरकार रहेसम्म राष्ट्रियता र राष्ट्रिय स्वतन्त्रतामा खतरा रहिरहनेछ । सरकारले अरू केही नगरे पनि भ्रष्टाचार रोक्ने र  देशको भूभाग अतिक्रमण गर्न नदिने मात्र भए पनि केही समय जनताले राहत पाउने थिए ।

तर सरकार सत्ता जाने भयले चुँ गरेर बोल्नसक्दैन । यसकारण वैज्ञानिक समाजवाद नआएसम्म दलालहरूले लुटको स्वर्ग मच्चाउने छन् । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविका वैज्ञानिक समाजवादका पूर्वाधार हुन् । यही नै नयाँ जनवाद हो । अब पूर्वमा टिस्टा, पश्चिममा काँगडासम्म पुग्ने हाम्रो लक्ष्य हुनुपर्छ । व्यक्तिगत स्वार्थ त्यागी देशभक्तहरू एकजुट हुने हो भने एक दिन हामीहरूले विशाल नेपाल बनाइछाड्ने छौं ।

आफ्नो राष्ट्रका लागि नेपालीहरू भोकभोकै पनि लड्न तयार छन् । नेपाल नालापानी, सिन्धुली गढीजस्ता युद्धमा अङ्ग्रेजसँग लडेको हो । अब पनि राष्ट्रियताका लागि लड्न तयार छन् नेपालीहरू । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झपेन्द्रराज वैद्य
झपेन्द्रराज वैद्य
लेखकबाट थप