शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हट्यो आइकाओको ‘कालोसूची’ बाट नेपाल

आइतबार, ०८ साउन २०७४, १४ : ३९
आइतबार, ०८ साउन २०७४

काठमाडौं– अन्ततः अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले करिव ५ बर्षदेखि नेपालको हवाई सुरक्षामा गम्भीर चासो राख्दै नेपाललाई राखेको ‘कालो सूची’ वाट हटाएको छ । आइकाओले निर्धारण गरेको ८ वटा परीक्षण क्षेत्र मध्ये आधा अर्थात ४ वटामा नेपालले प्रगति गरेको पाइएपछि कालो सूचीवाट नेपाल हटेको हो ।


आइकाओले विभिन्न ८ वटा क्षेत्रमा वर्गिकरण गरि कुनैपनि मुलुकको हवाई क्षेत्रलाई अध्ययन गर्ने गरेको छ । जसमा हवाई कानुन, नागरिक उड्ययन संगठन, व्यक्तिगत इजाजत, वायुयानको सञ्चालन, उडान योग्यता, एयर भिगसन सेवा, बिमानस्थल सञ्चालन, वायुयान सुरक्षा जाँचको क्षेत्र छन् । यी क्षेत्र मध्ये औषत ६० प्रतिशत भन्दावढी प्रगति देखिएमा त्यो मुलुकलाई यो सूचीवाट हटाउने व्यवस्था छ । यसमध्ये आइकाओ सुपरिवेक्षण तथा अध्ययनवाट यस पटक नेपाल औषत प्रतिशत ६० वाट ६६.०८ मा उक्लिएकाले यो सूचीवाट हटाइएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । 


आइकाओको गम्भिर सूरक्षा चासो समितिको वैठकले तत्काल नेपाललाई कालो सूचीवाट हटाउने निर्णय गरेको थियो । आइकाओको दुई सदस्य सूपरिक्षण टोली गत असार २० देखि २७ गतेसम्म नेपालमा तोकिएका ८ क्षेत्रको अध्ययन अनुगमनमा थियो । सो टोलीले दिएको प्रतिवेदनका आधारमा नेपाल यो सूचीवाट हटेको हो । 
सो टोलीले नेपालको हवाई कानुन, उड्ययन संगठन, वायुयान सञ्चालन, उडान योग्यताको अध्ययन तथा अनुगमन गरेको थियो । जसमा नेपालले वायुयान सञ्चालनमा भने ६० प्रतिशत औषत अंकमा ५० मात्र प्राप्त गरेको छ । आईकाओले आफ्ना सदस्य रहेका राष्ट्रको हवाई क्षेत्रसँग सम्वन्धित बिषयलाई यी विभिन्न भागमा वर्गिकरण गरेर नियमित मुल्याङ्कन गर्ने गरेको छ । 


नेपाललाई आइकाओले आर्थिक बर्ष २०६९÷७० देखि यो सूचीमा राखेको थियो । हरेक वर्ष नियमित रुपमा मुल्याङ्कनमा रहने हवाई क्षेत्रमा नेपालले प्रगति गर्दै गएको प्रतिवेदनकै आधारमा कालोसूचीवाट हटाइएको प्राधिकणले जनाएको छ । तर, युरोपियन युनियन (इयु)ले लगाएको प्रतिवन्ध भने अझै हटेको छैन । 
हवाई क्षेत्रसँग सम्वन्धित अन्तर्राष्ट्रिय संघ÷संगठनले नेपाली आकाशलाई असुरक्षित रहेको भन्दै गम्भिर हवाई सुरक्षाप्रति चासो राख्दै आइरहेका छन् । नेपाली आकाशमा हुने गरेका हवाई दुर्घटना, यहाँको भौगोलिक अवस्था, विमानस्थलको अवस्था, अन्तर्राष्ट्रिय हवाई सेवामा पहुँच तथा हवाई कानुन र योग्यताका आधारमा अन्र्ताष्ट्रिय संगठनहरुले नेपालको हवाई क्षेत्रप्रति नियमित चासो राख्दै आएका हुन् । 


नेपालमा रहेको एक मात्र अन्तर्राष्ट्रिय बिमान स्थल, त्यसको एउटा मात्र रन वे र वढ्दै गएको हवाई चाप पनि यहाँका मुख्य चुनौतीका रुपमा देखिएका छन् ।

यस्तै, भौगोलिक अवस्था र मौसमका कारण हुने गरेका हवाई दुर्घटना, राष्ट्रिय ध्वजावहाकको अन्तर्राष्ट्रिय उडानमा जहाज अभाव हुने गरेको, विमानस्थलको सुधार लगायतका विषयमा पनि अहिले चासो वढ्दै गएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप