शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : विदेशको दसैँ

शनिबार, १७ कात्तिक २०७५, ०८ : ३८
शनिबार, १७ कात्तिक २०७५

-रश्मिला कवाङ ‘रश्मि’   

शरद ऋतुको आगमनसँगै 
चिसो सिरेटो बहँदै 
मनै कठ्याङ्ग्रिने बिहानी 
चारैतिर बेजोद हावाहुरी 
हरेक हरिया रूखहरूका पातहरू हल्लाउँदै 
अनि भुइँभरी पहेँला पातहरूले बाटो सिँगरिँदै
लाग्छ, यो समय रङ्गीन बहारको हो
नीलो  आकाशभरी चङ्गाहरू उड्दै होलान् गाउँमा 
नवरात्री र घटस्थापनाको तयारी हुँदै होला 
तर म यहाँ बिरानो सहरमा मानवीय मेसिनजस्तै चलिरहेकी छु 
झिसमिसेमै उठेर नित्यकर्म गरी उही सन्ध्यामा
लाग्छ,
विदेशमा कुनै दसैं  हुन्नन् 
कुनै मन्दिर हुन्नन, कुनै पूजा हुन्नन् 
त्यसैले त यहाँ कुनै भगवान पनि हुन्नन् 
अनि जमरा टीका नि हुन्नन्
हुन्छ त केवल, आभाष अनि अनुभूति 
पिङको झड्का सयचोटि मचिए  पनि 
दसैं, दसैं जस्तो लाग्दैन विदेशमा 
दुनियाभरी खुसियाली अनि शुभकामना आदान प्रदान हुँदै गर्दा 
म यता सप्ताको अन्तिम पलहरू मनाइरहेकी हुन्छु 
साथीहरू माझ पार्टी गरिरहेकी हुन्छु
अनि, विगतका ताजा सम्झनाका ती सुन्दर पलहरू 
एक एक गरी सम्झिरहेकी हुनेछु
आफ्नो घरको आगन सम्झी मुस्कुराइरहेकी हुनेछु
 विदेशको दसैँ साँच्चै  भन्नुपर्दा सारै सुविधामुखी  लाग्छ 
स्वादिष्ट भोजन अनि रक्सीका फरक स्वादहरू 
विकासका उच्चतम   नमुनाहरू 
स्वतन्त्रताको  अनुपम उदाहरण 
तर पनि विदेशमा दसैँ, दसैँ जस्तो लाग्दैन  मलाई 
मालश्रीको धुन बजे नि, कर्णप्रिय लाग्दैन 
सायद विदेशपन  भनेको येही हो 
आफ्नो  धरातल चाहेर  नि छोड्न नसक्नु को परिणाम हो यो 
संस्कार स्वतः  झल्किने मन हो
र पनि,
रातो पहिरन, रातो टीका अनि पहेँला जमरामा सजिने 
दुष्प्रयास गरिरहेकी छु 
नवरातको पललाई नयाँ जागर बनाई उदाइरहेकी छु हर दिन
उषाको पहिलो भानुसँगै 
हो, विदेशको दसैँ येसरी नै आउने अनि जाने गर्छ हरेक साल
तर, यो सालको दसैँ साच्चिकै अबदेखि दसैँ जस्तै हुनेछ 
किनकि समयसँगै हिँड्न जानिसकँे मैले 
संसारमा जहाँ रहे पनि रमाएर  बाँच्न सिकिसकँे अब 
सायद, समयसँगै मेरो मन  पनि अब बिरनो बनिसक्यो क्यारे 
र त, बिरानो माटोसँगै रमाउन  सिकिसकेँ मैले  
जीवनका आशाका रश्मिहरू हरेक बिहानीको भानुसँगै 
उदाउन थाली सके 
र उदाइरहने छु । 

-मूलढोका, भक्तपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप