बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : काठमाडौँमा खुशी

शनिबार, १७ कात्तिक २०७५, ०८ : ४०
शनिबार, १७ कात्तिक २०७५

-तेजबहादुर गुरुङ    

हप्ताको कुनै एक दिन 
बिहान ५ बजे  उठेर 
२ बाल्टिन पानी थाप्न पाएको दिन 
पानीको धारामा खुशी मिल्छ 

कुनै यस्तो दिन 
कतै ट्रफिक जाम नपरी 
अफिस पुगेको दिन  
अनि त्यसरी नै 
जाममा नफसी डेरा आइपुग्दा 
बाटैबाट खुशी मिल्छ

तरकारीको भाउ महिनामा ४ चोटि बढेर 
किलोको १५० पुगेपछि 
अनि 
महिनाको एक चोटि घटेर 
१५० बाट १४० मा  झरेपछि 
तरकारीमा  खुसी मिल्छ

कुनै यस्तो महिना 
घरबेटीले  डेराको  भाडा 
बुझ्न आउनुभन्दा पहिले 
साहुबाट तलब बुझेको दिन 
डेराको  भाडा सम्झेर खुशी मिल्छ 
बाजारतिर सपिङ  गर्न जाँदा 
सपिङ  गर्न पाएकोमा भन्दा  
 कहिले कहीँ सजिलै 
बाइक पार्किङ गर्न पाउँदा 
पार्किङभित्र खुसी मिल्छ 

१ घण्टा लाइन लागेर 
 सेवा लिनु पर्ने बैङ्कमा  
कुनै यस्तो दिन विनालाइन 
सेवा पाएको दिन 
बैङ्कभित्र खुसी मिल्छ 

अफिसको काममा  हप्ताभरि 
गोरु जोतिएजस्तै जोतिएपछि 
अनि 
हप्ताको अन्तिम शुक्रबार  आएपछि 
भोलि आउने शरिबारलाई सम्झेर  
खुशी मिल्छ 

वर्षमा  १ दिन  दशैंमा 
घर जनालाई बिहान २ बजेदेखि 
ठेलम ठेल लाइन लागेर  बसपार्कमा 
मुस्किलले एउटा टिकट हातमा समाउँदा 
बस पार्कभित्र खुसी मिछ 

काठमाडौँमा 
हरेक फरक फरक परिस्थितिमा 
अनि 
हरेक फरक फरक परिवेशमा 
खुशी मिल्छ 
त्यसैले 
हो, साँच्चिकै  
काठमाडौँमा खुशीको खानी छ

-गोरखा, बारपाक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप