शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : आखिर जानु छ रित्तो हात

शनिबार, १७ कात्तिक २०७५, ०८ : ५०
शनिबार, १७ कात्तिक २०७५

-सूर्यप्रसाद खनाल   

कसैको चितामा शव जलेको देख्दा । 
आफन्त सदाका लागि ढलेको देख्दा ।

कठै धिक्कार तेरो मेरो भन्छ मान्छे ।।
धनी गरिब एकै कित्तामा, गन्छ मान्छे ।।

तत्काल भुल्छ त्यो ढलेको सास ।।
पलाउँछ मनमा फेरि स्वार्थै स्वार्थको आस ।।

जब ऊ चिताबाट फर्किन्छ तब । 
फेरि उस्तै तेरो मेरो, ऊ घर पुग्छ जब । 
एकछिन् त भावुक हुन्छ, हेरि त्यो जलेको शव ।
तर 
घाटदेखि घरसम्मको बाटोमै बदल्छ मन ।। 
मान्छे पिर्दै बटुल्न थाल्छ त्यो अकुत धन ।।
के हिसाब अरूलाई लगाएका ती बचन ?
इच्छा त्यो कमाउने धन अनि गन्ने खनखन ।
अहो बेहिसाब यहाँ गरिब निमुखा कत्ति छन् ?
शक्तिको आड हुनेले कत्ति हो कत्ति कुम्ल्याउँछन् । 
गरिब, निमुखा नङ्गिँदै छन् झनझन ।
वास्तवमा 
आखिर हामी सबैको  चिताको त्यो बाटो एउटै ।
मानव दुनियाँले निल्ने गाँस अर्थात आँटो एउटै । 
हामी जन्मिएको अनि विलाउने माटो एउटै । 
लगाउने वस्त्र अस्त्र अर्थात लुगाफाटो एउटै ।
बालक यौवन वयस्क वृद्ध जीवनको पाटो एउटै । 
त्यसैले 
अब हामी दुःखीलाई साहारा देऊ, लानु केही रहेनछ ।
भोकाहरूलाई आहारा देऊँ,  लानु केही रहेनछ ।।

-वाग्ला, गुल्मी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप