कविता : एक्लो हिँडाइ
-डिल्लीराम अम्माई
मलाई ‘ला ब्यामेशा’ गुन्गुनाउँदा
डर लाग्दैन अचेल
पुराना सिपाहीहरू
सम्झन्छु नाजीजस्तै
बच्चाले खेल्ने
माटोको सहरी सेना
कति छिटो कसम भुले
वा भुलाइए !
सोचेहौला म युद्धको भाषा बोल्दैछु
र स्वर्गदूतहरूको भाषा बोल्दैछु
तिमीले थाहा पाउनुपर्छ
‘अथाह’भित्र रमेको ‘थाहा’ सत्य
मेरो बोलीको सत्य
महासागरभित्रको ‘मोती’ सत्य
तिम्रो बाटोमा
प्रेमभित्र प्रेम सकिँदैछ
मलाई थाह छ
तिम्रो बाटो हिँडे
प्रेमबिना, म पनि सकिने छु
त्यसैले त समाती रहेछु
ज्वाला अस्तित्वको
प्रकाश प्रेमको
स्वर्गीय प्रेमको
नयाँ जस्तो लाग्ने कठिन बाटो ।
यो केवल प्रेम हो तिम्रो
प्रेमबाहेक केही हैन
र त भनिरहेछु सत्य
मेरो कोमल मनभित्रको
प्रेम सुन्दर छ, खराब नसोच
मलाई कहिलेकाहीँ
तिमी ईष्र्या नगर्न भन्छ्यौ
तर बाटो फेरि उल्टो रोज्छ्यौ
त्यसैले मैले सत्य बोलेँ
तिम्रो बाटो छुटिसक्यो
फर्क, नबिन मार्गमा
सत्यमा र
एक्लै हिँड्ने साहस गर ।
प्रेम नदेखी जलाउँने आगो हो
यसले दुखाउँछ र महसुस गराउँछ
यो आशाको सन्तुलन हो
निरासाको पीडामाथि
यो दुखाइ हो कि चोट
बिना जगेडा भोलिको खुशीका लागि
आफै बुझ,
तिमीलाई लाग्दो होला
म पुरुषहरूको भाषा बोल्छु
अनि स्वर्गदूतहरूको भाषा बोल्छु
प्रे बिना, कहीँ पुगिँदैन
मेरो प्रेम जित र फर्क
हाम्रो प्रेमलाई बाधा नपर्ने
अनि
हाम्रो जितलाई फरक नपर्ने बाटोमा ।
तिम्रो लागि अहिले
मैले देखाएको बाटो
यो एक अचाहना हो
राम्रो चाहनाको उल्टो
यो हाम्रो मात्र एक्लो हिँडाइ हो
यसमा खुसीको खजाना छैन र
त्यसो हैन प्रिय,
यो बचाउन पर्ने कुरो बचाउनका लागि
यो कसैद्वारा फँसाइएको बाटोबाट
तिमीलाई फर्काउनका लागि
हाम्रो जित हाँसिल गर्नका लागि
भावी विजेता बचाउने खेल हो,
फर्क त्यो बाटोबाट
कठिन बाटोसँगै जाऊँ
एकाकार बनौँ !
तिमीले रोजेको बाटो
भर्खरै हिँडिरहेको बाटो
सजिलो जस्तो छ
छिट्टै पुग्ने आशामा
फकाइएको बाटो ।
मदहोस् नबन,
बुझ, ब्युँझ
यो एक एक गरेर हामीलाई सक्ने खेल हो
त्यसैले तिमीसँग विरोध हैन
सधैँको लागि प्रेम हो
भौतिक प्रकाशमा
अभौतिक प्रेम
मैले बुझेको छु
र त तिमीलाई बोलाएँ ।
किनकि
म जागृत छु, अरू निदाउँदा
अधमरा सुतिसके
बाँचेका सुत्दैछन्
मैले हेर्दा
सबैको अनुहार चिन्दै छु
ती थाके वा हराए
सपनाविहीन भएर
विराए गोरेटो
सन्ततिको उज्यालोको
त्यसैले भन्दैछु
अझै भन्छु
भनिरहन्छु
फर्क, कठिन तर उज्यालो
विकल्परहित विकल्पमा
विश्वास गर मलाई ।
यो केवल प्रेम हो, मात्र तिम्रो प्रेम
तिमीलाई थाह छ सत्य के हो ?
यही सत्य हो, अहिलेका माटाका
फुस्रा धुमिला
विषाक्त सहरी सिपाही
छोडिदेऊ र एकाकार बन
सतिशाल जस्तै
अजम्बरी गाउँका
सुकिला साथीहरूको बाटोमा
आऊसँगै हिँडौँ ।
तिमीलाई लाग्दोहोला
म वीरहरूको भाषा बोल्छु
र स्वर्गदूतहरूको भाषा बोल्छु
कुरो सत्य हो
मैले प्रेम गर्न पनि जानेको छु
मलाई थाह छ
केही पनि हुनेछैन प्रेमविना
त्यसैले त
बारम्बार यही भनिरहन्छु,
तिमीलाई बोलाइरहन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने