मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चर्मरोग विशेषज्ञ ललन खतिवडाको जीवन : चर्को भाषण गरेको भन्दै दुर्व्यवहार गर्न खोजियो

शनिबार, १७ कात्तिक २०७५, १० : ३३
शनिबार, १७ कात्तिक २०७५

‘प्रत्येक नेपालीले दुई छाक खान पाऊन्,’ चर्मरोग विशेषज्ञ ललन खतिवडाले भने, ‘उपचार नपाएर कसैले अकालमा ज्यान गुमाउन नपरोस् । यति देख्न सुन्न पाए कति जाती हुन्थ्यो । मैले परिकल्पना गरेको नेपाल त्यति भए पुग्छ ।’ 

म भोकै छु भनेको सुन्न नपरोस्, उपचार नपाएर फलानको ज्यान गयो भन्ने अनिष्ट सुन्न नपरे त्योभन्दा आनन्द केही हुनै सक्दैन भन्ने चर्मरोग विशेषज्ञ ललन खतिवडासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
मलाई दालभात, तरकारी र अचार नै मन पर्छ । लौका र पर्बलको तरकारी खान नपरे हुन्थ्योजस्तो लाग्छ । कामविशेषले पुगिरहे पनि खानकै लागि महिनामा एक–दुईपटक रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा साँधेको बदाम माग्न बिर्सन्न । फुर्सदमा भान्छामा पस्छु । खसीको मासु मीठो पकाउँछु भन्ने खानेले प्रतिक्रिया दिन्छन् । घरमा खसीको मासु ल्याउँदा आफैंले पकाउने गर्छु । 

मेरो पोसाक
विशेषतः औपचारिक पोसाक लगाउन मन पराउँछु । कोरियाली चिकित्कसकले औपचारिक पोसाकमा बिरामी जाँच्दारहेछन् । मैले पनि कोरियाली चिकित्सकका त्यही प्रवृत्ति सिकेको हुँ । सालिन्दा दुईपटक कपडा किन्ने गरेको छु । दुईपटक कपडा किन्दा ६० हजार रुपैयाँजति खर्च होला । ‘ह्वाइट’ र ‘ग्रे कलर’ का कपडा रोजाइमा पर्छन् । हिजोआज कपडा किनेर सिलाउने बढी हुन्छ । कपडाको ब्रान्डबारे त्यति जानकार छैन । तपाईंसँग कुराकानी गरिरहँदा भादगाउँले टोपी लगाएको छु । म ढाकाटोपी र ‘क्याप’ पनि लगाउँछु । 

मेरो फिटनेस
बिहान–बिहान ट्रेडमिलमा दौडिन्छु । डाइटिङ नै नगरे पनि कम खान्छु । पहिले–पहिले मर्निङवाक निस्कन्थें । हिजोआज छुट्यो । 

मेरो अध्ययन
हिजोआज अध्ययन गर्न पाएको छैन । जीवनी पढ्न असाध्यै जाँगर चल्छ । सानो छँदा बीपी कोइरालाका अधिकांश किताब पढें । पहिले–पहिले साहित्य लेख्थें । त्यसले निरन्तरता पाएन । तर, हिजोआज स्वास्थ्यसम्बन्धी आलेख लेखिरहेको छु । मसँग ‘मेडिकल’ बाहेकका किताब छैनन् । तर, श्रीमतीको संकलनले घरको पुस्तकालयको शोभा बढेको छ । 

मेरो घुमफिर
घुमफिर गर्न रहर नहुने को होलान् र । मलाई पनि रहर लाग्छ । नेपालका ३५ जिल्ला पुगेको छु । १५ देश घुमेको छु । घुमेकामध्ये विकासका हिसाबले कोरिया मन पर्यो । प्राकृतिक हिसाबले नेपालभन्दा सुन्दर अरू देश हुनै सक्दैन । जीवनमा एकपटक मानसरोवर पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ । 

मेरो फुर्सद
फुर्सद नभए पनि मिलाउँछु । व्यस्त भएपछि शारीरिक र मानसिक थकाइ लाग्ने नै भयो । जति नै थकाइ लागे पनि मोबाइल ‘स्वीचअफ’ गरेर आराम गरौं भन्ने लाग्दैन । कहिलेकाहीं गर्नुपर्ने बाध्यता आइलाग्दोरहेछ । परिवारलाई समय दिन नसकेकोमा आफैंलाई चित्त बुझेको छैन । 

मेरो खेलकुद
त्यतिबेला फुटबल र क्रिकेट खेलेको थिएँ । अहिले पनि फुटबल र क्रिकेट हेर्न मन पर्छ । नेपालबाहेक क्रिकेट टिममा श्रीलंका र फुटबलमा म्यानचेस्टर युनाइटेड मन पर्छ । 

मेरो मोबाइल
सामसुङको नट–८ मोबाइल प्रयोग गर्दै आएको छु । पहिले ६–६ महिनामा मोबाइल परिवर्तन गरे पनि हिजोआज एक–डेढ वर्षमा गर्छु । पहिले–पहिले धेरै गरे पनि हिजोआज मोबाइलका एप्लिकेसन कमै प्रयोग गर्छु । 

मेरो टीभी
टेलिभिजनमा प्राथमिकतासाथ खेलकुद हेर्ने गरेको छु । समाचार पनि हेर्छु । घरमा भएका तीन टेलिभिजनमध्ये एउटा ५४, अर्को ४२ र तेस्रो कति इन्चको हो थाहा भएन । 

मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘राजारानी’ युट्युबमा हेरेको थिएँ । हलसम्म पुगेर चलचित्र नहेरेको चार वर्षजति भयो होला । सौगात मल्लको अभिनय जीवन्त लाग्छ । बाल्यकालमा एन्जेलिना जोलीका ‘फ्यान’ थिएँ । 
मेरो रोग
अहिलेसम्म पूर्ण स्वस्थ छु । खानपानमा ध्यान दिने र सकारात्मक सोच्नमात्रै सकियो भने मानिस स्वस्थ रहन सकिन्छ । 

मेरो भाषणशैली
संवत् २०४७–०४८ तिर नेविसंघबाट विद्यार्थी राजनीति गर्थें । त्यतिबेला आमसभातिर भाषण गरेकै हो । हिजोआज चिकित्सकका नाताले भाषण कमै गर्नुपर्छ । तर, ‘पेपर प्रेजेन्टेसन’ गरिरहनुपर्छ । गरिएका ‘पेपर प्रेजेन्टेसन’ दसमा सातको त हुन्छ नै । चर्को भाषण गरेकै आधारमा त्यतिबेला नेकपा मालेसम्बद्ध विद्यार्थीले मलाई दुव्र्यवहार गर्न खोजेका थिए । 

मेरो मापसे
दस वर्षयता मादक पदार्थ कमै लिन्छु । ६ महिनामा एकपटक लिने गरेको छु । त्यतिबेला तीन पेगसम्म खाइन्थ्यो । 

मेरो संगीत
गीत–संगीत सुन्दै आएको छु । नारायणगोपाल, तारादेवीका आवाज कर्णप्रिय लाग्छ । एक्लै हुँदा गुनगुनाउँछु । तर, मेरो आवाज एकदमै नराम्रो छ । आफैंलाई मन पर्दैन । 

मेरो भूल
जान–अञ्जानमा गल्ती गर्नु मानवीय स्वभाव नै हो । अहिलेसम्म पश्चाताप लाग्नेगरी गल्ती नगरे पनि आफूबाट भएका स–साना कमजोरी सुत्नेबेला समीक्षा गर्छु । केटाकेटीमा चकचके थिएँ । त्यसैले बुवाआमाको पिटाइ खाएको बिर्सेको छैन । 

मेरो घर
म बस्दै आएको घर १०–१२ वर्षअघि बनेको हो । घर बनाउँदा आफ्नो पौरख र पुख्र्यौली सम्पत्ति पनि परेको थियो । घर ‘मोडर्न टाइप’ को छ । घर बनाउँदा १ करोड रुपैयाँ खर्च भएको थियो । 

मेरो राशी 
मेरो राशी मेष हो । ग्रहदशा हेराउने गरेको छु । ग्रहशान्ति पनि गराउँछु । ग्रह नक्षत्रको फलप्रति विश्वास छ । दाहिने हातमा दुई औंठी लगाएको छु । 
मेरो सौन्दर्यचेत
कपालमा जेल लगाउँछु । कहिलेकाहीं कालो मेहेन्दी पनि लगाउने गरेको छु । अनुहारमा सनब्लक लगाउँछु । ‘पफ्र्युम युज’ गर्छु । 

मेरो प्रेम
हामीले मागीबिहे गरेका हौं । 

मेरो सपना
चिकित्सकको नाताले मैले परिकल्पना गरेको नेपाल कोरियाजस्तो हो । कोरियालीजस्तै नेपाली पनि अनुशासित हुनुपर्छ । नियमकानुन पालना गर्न सिकाइरहन नपरोस् । त्यतिमात्रै होइन, सबै नेपालीले दुई छाक खान पाऊन् । उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् ।
ठूलो होइन, असल बन्नुपर्छ भन्ने मान्यता छ । असल बन्नु मानिसको सबैभन्दा ठूलो उपलब्धि हो । 

मेरो मृत्यु
मृत्यु चक्र हो । मृत्युदेखि डर लाग्दैन । मृत्यु थाहा नपाउनेगरी होस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप