बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्ति–फोरम नेपाल एकीकरण : झण्डा र चुनाव चिन्ह पक्का, पार्टीको नाम र बाबुरामको ‘पोजिसन’ मिलाउन बाँकी

आइतबार, ०८ साउन २०७४, १६ : १५
आइतबार, ०८ साउन २०७४

काठमाडौँ – डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकीकरण प्रकृया अन्तिम चरणमा पुगेको छ ।

एकीकरणको लागि दुवै पक्षबाट गठन भएको वार्ता टोलीले आ–आफ्नो पार्टीमा प्रतिवेदन बुझाई सकेको छ । एकीकरणका लागि पार्टीका सिद्धान्त, विचार, नाम, झण्डा र चुनाव चिन्हको बारेमा समेत छलफल गरी दुवैतर्फबाट वार्ता समितिले आ–आफ्नो पार्टीलाई जानकारी गराइसकेको छ ।

अब केही प्राविधिक कुरा मात्र टुगों लगाउन बाँकी छ जो अध्यक्षस्तरमा टुगों लगाउने नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ ।

वार्ता समितिका एक सदस्यले भने, ‘एकीकरण गर्ने लगभग पक्का भयो । विचार र सिद्धान्तको विषयमा कुरा टुगों लागिसकेको छ । झण्डा नयाँ शक्ति नेपालको हुने भएको छ भने चुनाव चिन्ह फोरम नेपालको हुनेछ ।’

पार्टी नामको नाम टुगों लागेको छैन । दुईटा नाम प्रस्ताव भएको छ । नयाँ समाजवादी फोरम नेपाल र नयाँ संघीय समाजवादी पार्टी गरी दुई नाम प्रस्ताव गरिएको छ । यसमध्ये एउटा कुनै नाम रहने स्रोतले जनाएको छ ।

हिजो नयाँ शक्ति नेपालको राजनीतिक समितिको बैठकले पनि एकीकरण गर्ने निर्णय गरेको छ । नेतृत्वको विषयमा टुगों लगाउने जिम्मेवारी पार्टीका अध्यक्षलाई दिएको छ । नेतृत्व तहमा कुरा टुगों लागेपछि त्यसलाई केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने भएको छ ।

अध्यक्ष–संयाजक, अध्यक्ष–सर्वोच्च नेता, अध्यक्ष–वरिष्ठ नेतामध्येबाट को केमा बस्ने विषयमा भट्टराई र यादवबीच छलफल भइरहेको छ । स्रोत भन्छ, ‘बाबुराम भट्टराईले यादवलाई अध्यक्ष मान्न तयार भइसकेका छन् तर त्यहाँ आफ्नो सम्मानजनक पोजिशन कस्तो हुन्छ त्यसको बारेमा छलफल भइरहेको छ ।’

अन्त्यमा गएर कुनै शक्तिले नबिगार्ने हो भने साउन १५ गते एकीकृत पार्टीको घोषणा हुने निश्चित भएको फोरम नेपालका एक नेताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप