बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजन : तिहारलगत्तै नयाँ जिम्मेवारी

आइतबार, १८ कात्तिक २०७५, १२ : ३१
आइतबार, १८ कात्तिक २०७५

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले तिहारलगत्तै नयाँ जिम्मेवारी पाउँदै छन् । पार्टी एकताको पाँच महिना बितिसक्दा पनि केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्गिएको थिएन । कात्तिक ८ गते बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिनको लागि दुई सदस्यीय कार्यदल गठन गरेको थियो । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदलले नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनको गृहकार्य गरिरहेको छ । नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय रहेको छ । तिहार अघि कार्यदलले काम सम्पन्न गर्नेछ ।

त्यसपछि तिहारलगत्तै नेकपाको सचिवालय बैठक बस्ने छ । उक्त बैठकले कार्यदलले तयारपारेको खाकामा छलफल गर्ने छ । ‘कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजनको गृहकार्य गरिरहेको छ । साथै सोही कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिने गरी प्रस्ताव तयार गर्दैछ ।’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने– ‘तिहारलगत्तै सचिवालयको बैठक बस्ने भनिएको छ । सोही सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउँछ र उक्त बैठकले कार्यदलले तयार पारेको प्रस्तावमाथि छलफल गरी त्यसलाई अनुमोदन गर्छ ।’ 

कार्यदलले ४ सय ४१ केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीसम्म परिचालन गर्ने गरी जिम्मेवारी दिने गृहकार्य गरेको छ  । कात्तिक ८ गते बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनलाई लिएर दुई खालका प्रस्तावमा छलफल भएको थियो । 

केन्द्रीय विभाग, मोर्चा वा सङ्गठनको जिम्मेवारीमा राख्नेबाहेक भूगोलको जिम्मेवारी दिने सीसीएमहरूलाई प्रदेश कमिटीलाई जिम्मा दिनेगरी छलफल भएको थियो । अर्को प्रस्तावमा सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी सचिवालयले नै तोक्ने भन्नेबारे छलफल भएको सचिवालयका एक नेताले बताए । 

कार्यदलले दुवै प्रस्तावअनुसार गृहकार्य गरेको कार्यदलका एक सदस्यले बताए । ती सदस्यका अनुसार भूगोलमा पठाउने सीसीएमहरूको जिम्मेवारीको खाका तयार गरी कार्यदललाई सुझाव पेस गर्न प्रदेश पदाधिकारीलाई कार्यदलले निर्देशन दिएको छ । 

तर केही प्रदेशका पदाधिकारीहरूले भने कार्यदल आफैँले टुङ्ग्याउन सुझाव दिएका छन् भने अन्य प्रदेशका पदाधिकारीले तिहारअघि नै सुझाव पेश गर्नेछन् ।

तिहारअघि कार्यदलले प्रदेश कमिटी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्ताव तयार गर्ने गरी काम अगाडि बढाएको छ । तिहारलगत्तै बस्ने सचिवालयको बैठकले स्थायी कमिटी बैठको एजेन्डा तय गर्नेछ । स्थायी कमिटी बैठकले सचिवालयले पेश गरेको प्रस्तावमा छलफल गरी त्यसलाई अनुमोदन गरेपछि मात्रै केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुङ्गिने छ । 

शीर्ष नेताहरूले बारम्बार स्थायी कमिटीको बैठक सार्दै आएको भन्दै धेरै नेता असन्तुष्ट बनेका छन् । गत साउनदेखि नेकपाको स्थायी कमिटीको बैठक बस्न सकेको छैन । बैठकलगातार पाँच पटक स्थगित भएको छ ।

पोलिटब्यूरो, विभाग र जनवर्गीय सङ्गठनको टुङ्गोबारे सचिवालयले निर्णय गर्ने

दुई सदस्यीय कार्यदललाई केन्द्रीय सदस्यहरूको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिनेगरी जिम्मेवारी दिएको थियो । तर अहिलेसम्म पोलिटब्यूरो, केन्द्रीय विभाग, जनवर्गीय सङ्गठनको टुङ्गो लगाउने जिम्मेवारी कार्यदललाई छैन ।

‘दुई सदस्यीय कार्यदललाई केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिने जिम्मेवारी दिइएको हो । प्रवक्ता श्रेष्ठले भने, ‘पोलिटब्यूरो, केन्द्रीय विभाग र जनवर्गीय सङ्गठनको टुङ्गो लगाउने जिम्मा पनि यही कार्यदललाई दिने कि अर्को कार्यदल गठन गर्ने भन्नेबारे तिहारलगत्तैको सचिवालय बैठकले टुङ्गो लगाउँछ ।’ 

नेकपाले केन्द्रीय तहमा बनाउनुपर्ने पोलिटब्यूरो, ३२ विभाग र सल्लाहकार परिषद्लगायतका कमिटी गठन गरेको छैन । विधानले तोकेबमोजिम केन्द्रीय समितिको एकतिहाइ (१ सय ४६) सदस्यीय पोलिटब्यूरो गठन गर्नुपर्ने छ । 

कसरी हुँदैछ जिम्मेवारी बाँडफाँट ?
केन्द्रीय समितिको ४ सय ४१ सङ्ख्याभित्रैबाट ९ सदस्यीय सचिवालय छ । पदाधिकारीबाहेकका सदस्यहरूलाई सङ्गठन विभाग, विदेश मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग र पार्टी स्कुलिङ जस्ता महत्वपूर्ण विभागको नेतृत्व केन्द्रीय सचिवालयका नेताले गर्नेछन् ।

त्यस्तै; स्थायी कमिटी सचिवालयका ९ सहित ४५ सदस्यीय छ । त्यसमध्ये झन्डै आधा सङ्ख्या सरकार तथा संसदीय कार्यकारीको जिम्मेवारीमा छन् । त्यसबाहेक बाँकी रहेका स्थायी कमिटीका नेताहरूको जिम्मेवारी दिनुपर्नेछ । 

सचिवालयका एक नेताका अनुसार स्थायी कमिटीका बाँकी सदस्यहरूलाई अन्य केन्द्रीय विभागको जिम्मोवारी दिने छलफल सचिवालय तहमा भएको छ ।

दुई सदस्यीय कार्यदलले अहिलेसम्म सातै प्रदेशका पदाधिकारीलाई बोलाई छलफल गरेको थियो । कार्यदलले सबै प्रदेशका पदाधिकारीलाई दुई बुँदे निर्देशन दिएको छ । 

प्रदेश पदाधिकारीको चयन असोज ५ मा सचिवालय बैठकले टुङ्गो लगाइसकेको छ । ‘हामीलाई कार्यदलले निर्देशन दिएको छ’, प्रदेश २ का सहइन्चार्ज विश्वनाथ शाहले भने, ‘केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटी सदस्य चयनमा सहयोग गर्न भन्नुभएको छ । यसअघि प्रदेश र जिल्ला कमिटीमा रहने सङ्ख्या र सदस्यहरूको नाम सिफारिस गर्ने जिम्मेवारी हामीले बल्ल पूरा गरेका छौँ । प्रतिवेदन भर्खर बुझायौँ,’ उनले भने । 

प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले भने प्रदेश र जिल्ला कमिटीको टुङ्गो दुई सदस्यीय कार्यदललाई टुङग्याउन सुझाव दिएको बताइन् । ‘यसअघिका प्रदेश कार्यलले बुझाएको नामको आधारमा माथिको कार्यदललाई टुङ्गो लगाउन सुझाव दिएका छौँ । भूगोलमा रहने केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटबारे हामीसँग सुझाव माग्नुभएको छ । त्यसमा छलफल गर्दैछौँ ।’

उनका अनुसार प्रदेशबाट बनेका केन्द्रीय सदस्यहरूलाई दिने जिम्मेवारीका लागि नाम सिफारिस गर्न प्रदेश पदाधिकारीसँग कार्यदलले आग्रह गरेको छ ।

कार्यदलले सातैवटा प्रदेशका पदाधिकारीसँग सानेपास्थित एक होटलमा छलफल गरेको थियो । 

केन्द्रीय तहमा रहने विभाग, जनवर्गीय सङ्गठनको जिम्मा ककसलाई दिइने भन्नेबारै कार्यदलले अध्यक्षद्वयसँग सल्लाह गर्ने छ । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कार्यदलले पछिल्लो प्रगतिबारे ब्रिफिङ गरिसकेको बताइएको छ । 

तर भूगोलको जिम्माबाहेकका केन्द्रीय विभाग र जनवर्गीय सङ्गठनको जिम्मा दिने केन्द्रीय सदस्यको नामको टुङ्गो लगाउन कार्यदललाई समय लाग्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप