शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

आइतबार, १८ कात्तिक २०७५, १३ : ३२
आइतबार, १८ कात्तिक २०७५

लन्डन– संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् । 

विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ । 

इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता सबैका आँखा इरानी तेल निर्यातमा अडिएको बताए । उनले अमेरिकी नाकाबन्दीका बाबजूद इरानी तेल कालोबजारी हुने खतरा रहेको समेत बताए । 

इरानको आयस्रोतको मुख्य हिस्सा खनिज तेलले ओगटेको छ । सोमबारदेखि इरानी तेल आयातकर्ता विरुद्ध अमेरिकाले कडा निगरानी राख्ने बताइसकेको छ ।  इरानमाथि कच्चा तेल निकासीमा अमेरिकाले लगाएको प्रतिबन्धले इरानको आम्दानीमा ठूलो असर पर्नेछ भने विश्वमै तेलको आपूर्तिमा कठिनाइ आउने छ । ओपेकसँग आबद्ध राष्ट्रहरुमा अहिले इरान विश्वमै तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो । 

संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध नाकाबन्दी लगाउने घोषणा गर्नुअघि गत अप्रिलमा इरानले प्रति दिन २५ लाख ब्यारेल तेल निकासी गरिरहेको थियो । ‘संयुक्तराज्य अमेरिकाले केही छुट दिए पनि इरानबाट आयात गरिने तेलमा निकै कमी आउने छ,’ युबिएस विश्लेषक जिओभानी स्टाउनोभोले बताए । उनले तेलको मूल्य बढ्ने चेतावनी समेत दिए । 

तर, एक महिनाभित्रकै अवधिमा तेलको मूल्यमा झण्डै १५ अमेरिकी डलरले कमी आएको छ । गत अक्टोबरमा कच्चा तेलको मूल्यमा वृद्धि भएर दुई वर्ष यताकै उच्चविन्दु अर्थात् प्रति ब्यारेल ८५ डलरसम्म पुगेको थियो । 

संयुक्तराज्य अमेरिकाले इरानी कच्चा तेल निकासी शून्य बनाउने यसअघि घोषणा गरेपनि पछिल्लो समयमा त्यसमा केही नरम नीति लिएको देखिएको छ । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार आठवटा मुलुकलाई इरानी तेल किन्न पाउने छुट रहेको घोषणा गरेका थिए । तर, उनले ती देशहरुको नाम सार्वजनिक गरेका छैनन् । 

टर्कीले आफूले इरानी तेल खरिद गर्ने र त्यसमा अमेरिका सहमत रहेको सङ्केत दिइसकेको छ । विश्लेषकहरुले भारतले समेत त्यस्तो छुट पाएको बताएका छन् । विश्वमै भारत तेल आयात गर्ने ठूला देशमध्ये एक हो । 

‘हाल मुद्रा सङ्कट झेलिरहेको भारतले मार्च अघि इरानी तेल खरिद रोक्न नसक्ने अमेरिकालाई जानकारी दिइसकेको छ,’ नेटिक्सीसका विज्ञ जोल हान्ककले बताए । 

तेल उत्पादक अरु कतिपय राष्ट्रले उत्पादन बढाउने र इरानी निकासी बन्द हुँदाको शोधभर्ना गर्ने अपेक्षा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो तेल निकासीकर्ता साउदी अरेबियाले इरानले निकासी गरे बराबरको तेल आफूले उत्पादन गर्ने बताएको छ, तर विश्वका तेल व्यवस्थापकहरु साउदी अरेबियामाथि मात्र निर्भर हुन सकिरहेका छैनन् । 

‘साउदी अरेबियाले प्रति दिन एक करोड २० लाख ब्यारेल तेल उत्पादन गर्न सक्दछ, तर यसको लागि ठूलो लगानी गर्नु पर्नेछ,’ हान्ककले बताए । अहिले प्रतिदिन साउदी अरेबियाले एक करोड १० लाख ब्यारेल तेल उत्पादन गरिआएको छ । 

उनको विचारमा साउदी अरेबियासँग अहिले तीन लाख ब्यारेल मात्र अतिरिक्त उत्पादन गर्ने क्षमता छ । हान्ककले भने, ‘इराकी तेल उत्पादन बढाएर ४२ लाख ब्यारेल बनाउन सकिन्छ, तर विगतमा त्यति उत्पादन भएको कहिल्यै देखिएको छैन । 

विश्वमै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र हुन लागेको संयुक्तराज्य अमेरिकाले मागको केही हिस्सा पूरा गर्न सक्नेछ, तर निकासी गर्न अपुग हुने विज्ञहरुले बताएका छन् । –एएफपी
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप