शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बस्नेतको उद्धारका लागि ७ लाख ‘ब्लड मनी’ सङ्कलन

मङ्गलबार, २० कात्तिक २०७५, १४ : ०३
मङ्गलबार, २० कात्तिक २०७५

काठमाडौँ– साउदी अरबस्थित बुरैदा कारागारमा बन्दी जीवन बिताउन बाध्य सुनसरीस्थित बराहक्षेत्र नगरापलिका–२ का भुपाल बस्नेतको उद्धारका लागि हालसम्म करिब रु सात लाख सङ्कलन भइसकेको छ । 

प्रवासी नेपाली समन्वय समितिको पहलमा रु ६ लाख ९३ हजार ३०४ सङ्कलन गरिएको हो । बस्नेतको उद्धारका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आरसिसी) ले रू दुई लाख ६४ हजार २९९, गन्तव्य नेपाल नामक संस्थाले रु दुई लाख १४ हजार ७७२, नेपाली प्रवासी समाज साउदी अरबले रू ३२ हजार २३२ र प्रेम बचाउ अभियानले रू दुई लाख सहयोग गरेको उक्त समितिले जनाएको छ । 

बस्नेत २०७३ साल वैशाख १४ गते पाजु इन्टरनेशनल प्रालिमार्फत सवारी चालकका लागि पुनः साउदी अरब गएका थिए । त्यहाँको ‘पानारोमा फर ट्रेडिङ इस्ट’ कम्पनीका लागि काम गर्न जाने क्रममा उनलाई विमानस्थलबाटै साउदी प्रहरीले गिरफ्तार गरेको थियो । 

वैदेशिक रोजगारीको सिलसिलामा विगत ६ वर्षअघि साउदी अरबको ‘अल माजल अल अरबी ग्रुप’ कम्पनीमा आबद्ध उनले चलाएको गाडी सडक दुर्घटनामा पर्दा एक साउदी नागरिकको ज्यान गएको र उक्त दुर्घटनामा बस्नेतको २५ प्रतिशत गल्ती देखाउँदै साउदी रियाल ७५ हजार ३०० (करिब रू २३ लाख ५० हजार)  तिर्नुपर्ने अदालतबाट फैसला भएकामा सो बापतको जरिवाना उक्त कम्पनीले जिम्मेवारी लिई बस्नेतलाई नेपाल फर्काएको थियो । 

बस्नेत नेपाल फर्किएपछि कम्पनीले बुझाउनुपर्ने रकम नबुझाएका कारण मुद्दाको कार्यान्वयन भएको थिएन । पुनः बस्नेत कामका लागि साउदी पुगेपछि त्यहाँका प्रहरीले तोकिएको जरिवाना नबुझाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको उक्त समितिले जनाएको छ । बस्नेतलाई जेलमुक्त गर्न आवश्यक रकम परिवारबाट सम्भव नभएकाले ‘ब्लड मनी’ सङ्कलन अभियान शुरु गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप