शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजैको दिनदेखि कसरी हटेको थियो लोडसेडिङ ? कुलमान भन्छन्– ‘२० वर्षपछि पनि लोडसेडिङ नहुनेगरी काम गर्दैछु’

बुधबार, २१ कात्तिक २०७५, १२ : १०
बुधबार, २१ कात्तिक २०७५

नेपाली शब्दकोशमा बिजुलीको पर्यायवाची शब्द खोज्ने हो भने त्यसकै एउटै शब्द हो विद्युत । तर नेपाली समाजले बिजुलीको अर्को नयाँ पर्यायवाची नयाँ शब्द पनि बनाएको छ । त्यो शब्द हो कुलमान । 

अघिल्लो वर्ष बिजुलीको पर्यायवाचीका रूपमा कुलमान शब्द धेरै प्रयोग हुन्थ्यो । कुनै दिन कुनै गढबढीले बिजुली गयो भने मान्छेहरू भन्थे– ‘आज कुलमान गयो ।’ बिजुली आयो भने भन्थे–‘लौ कुलमान आयो ।’

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हाले लगत्तै उनको कुशल व्यवस्थापन र नेतृत्वमा लोडसेडिङ अन्त्य भयो । वर्षौंदेखि लोडसेडिङको मार खेप्दै अँध्यारोको सामना गर्दै आएका आम सर्वसाधारणको उज्यालो युग भेटे ।  

त्यसैको खुसीयालीमा आम सर्वसाधरणले बिजुलीको पर्यायवाची नाम कुलमान मात्र राखेनन्, कतिपयले आफ्नो घर अगाडिको बाटो, चोकको नाम पनि कुलमान घिसिङको नामबाट राखे । 
नेपालीलाई अन्धकार दिने त्यो लोडसेडिङ अन्त्यको सुरुवात आजकै दिन लक्ष्मीपूजा तथा दीपावलीको दिन थियो । 

२ वर्षअघिको तिहार । सबैभन्दा धेरै विद्युत खपत हुने दिन सधैँझैँ बत्ति गइरहने काठमाडौँमा बत्ति गएन । सिङ्गो उपत्यका झलमल्ल भयो । त्यही दिनदेखि काठमाडौँमा बत्ति जान छोड्यो, जसले सिङ्गो देशलाई एउटा आशाको सञ्चार गरायो । 

हामीले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको त्यो पहिलो दिन सम्झाउने कोशिस गर्यौँ । उनलाई पूर्वस्मृतिमा फर्काउन हामी विद्युत प्राधिकणको कार्यालयमा साँझ साढे ५ बजे पुग्दा उनी काममै व्यस्त थिए । उनलाई भेट्न विभिन्न क्षेत्रका मान्छेहरू कार्यालयमा पर्खिरहेका थिए । प्राधिकरणको भवन झिलिमिली बनाउन कर्मचारीहरू झिलिमिली बत्तिको लहरो भवनको छतबाट तल झारिरहेका थिए । 
साढे ६ बजे उनले फुर्सद निकाले र आफ्नो विगत सम्झन तयार भए । 

२०७३ असोज १ गते कार्यकारी निर्देशक : पहिलो अठोट लोडसेडिङ अन्त्य 
२०७३ साल असोज १ गते उनले प्रमुख कार्यकारी निर्देशकका रूपमा प्राधिकरण प्रवेश गरे ।  

प्राधिकरण प्रवेश गर्दा उनको पहिलो प्राथमिकता लोडसेडिङ अन्त्य गर्ने नै थियो । तर देशभरी नै लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने चाहिँ थिएन । कहीँ न कहीँ लोडसेडिङ हटाउने, स्टेप स्टेप रूपमा हटाउने योजना थियो । 

पहिलो चरणमा काठमाडौंमा लोडसेडिङ अन्त्य गर्ने भनेर दसैंदेखि नै त्यस्तो अभ्यास गरिएको उनले स्मरण गरे । उनले भने– ‘अलि कम गर्न सकिन्छ कि, कता के गर्न सकिन्छ भनेर अभ्यास भइरहेको थियो । पहिला काठमाडौंमा लोडसेडिङ अन्त्य गर्ने भन्ने भयो तर त्यसका लागि कहिले गर्ने भनेर टुङ्गो लागेको थिएन । सबैभन्दा पिक टाइममा सकियो भने अरू समयमा लोडसेडिङ अन्त्य गर्न सकिन्छ भनेर ७३ सालको लक्ष्मीपूजालाई हामीले छनोट गर्यौँ । त्यसका लागि सबै हिसाबले तयारी गरेका थियौँ ।’

काठमाडौँ धपक्कै बलेको त्यो रात । तर कुलमान घिसिङ भने बिहानदेखि रातिसम्म दौडधूपमा थिए । 

उनले भने– ‘जेनेरेसन साइटमा जति पनि हाम्रा प्रोजेक्टहरू थिए । त्यसलाई फुल लोडमा कसरी चलाउने, हामीले १० मेगावाटको डिजेल प्लान्ट पनि चलाएका थियौँ, यो पनि तयारी हालतमा थियो ।

ट्रान्सफर्मर, सब–स्टेसनलाई एकदम रेडी अवस्थामा राखेका थियौँ । धेरै सबस्टेसनहरूको क्षमता पनि अपग्रेड गरियो । फिडरहरू ठाउँ–ठाउँमा ओभरलोड थियो । त्यसलाई पनि हामीले परिर्वतन गर्यौँ । यो काम गरेपछि सबै ठाउँमा ओभरलोड पनि हुँदैन, स्टेसन ओभरलोड हुँदैन, लाइन पनि ओभरलोड हुँदैन । यसरी हामी सप्लाई गर्छौं भनिसकेपछि हामीले सुरु गरेका हौँ । त्यो बेला पिक समयमा सुरु गर्नलाई अगाडिदेखि नै लोडसेडिङ कम कम गर्दै लगेका थियौँ र त्यो दिन लोडसेडिङ अन्त्य गर्न सफल भयौँ । 

त्यो दिन धेरै समय उनी काठमाडौंको स्युचाटारमा रहेको भार सम्प्रेषण केन्द्रमा थिए । त्यहाँबाट देशभरीको विद्युत माग र आपूर्तिको व्यवस्थापन हुन्छ । भारसम्प्रषण केन्द्रमा बसेर कहाँ–कहाँबाट कति विद्युत वितरण भइरहेको छ, के के भइरहेको छ, लोड कहाँ पुगिरहेको छ भनेर उनीसहितको टोलीले अध्ययन गरिरह्यो । उनी भन्छन्–‘काठमाडौँलाई कुनै पनि हालतमा लोडसेडिङ नगर्ने भनेर काम गर्यौ । कतै–कतै तराईतिर पनि हामीले लोडसेडिङ गरेनौँ । तर पिकमा तराईका केही फिडरहरू काट्नुपर्ने अवस्था थियो । तिहारको बेला कहीँ पनि बत्ति गएन स्मुथ्ली चल्यो । १० बजे स्युचाटारबाट निस्केर विभिन्न ठाउँका नोलाइटमा गएर गुनासो र अवस्थाबारे पनि जानकारी लियौँ । जाँच गर्दा धेरै ठाउँमा गुनासो थिएन । महाराजगञ्जमा एक ठाउँको ट्रान्सफर्मरमा फ्युज गएको रहेछ । त्यो फ्युज तुरुन्तै हालियो । अन्य एक दुई ठाउँमा घर घरमा फ्युज गएको बाहेक अरू केही पनि थिएन ।’ 

अघिल्ला वर्षहरूमा लक्ष्मी पूजाको दिन प्राधिकरणमा धेरैतिरबाट गुनासो आउँथ्यो । तर दुई वर्षअघिको दीपावलीको दिन १२ बजेसम्म पनि कहीँबाट गुनासो आएन । नो लाइटबाट पनि गुनासो थिएन । 
उनले भने– ‘यसको मतलब हामीलाई सबैभन्दा ठूलो उत्साह के चाहिँ भयो भने अब लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने भयो ।’

त्यो दीपावलीको दिन अनुमानित १४ सय मेगावाट विद्युत माग थियो । बढीमा १२ सय मेगावाट विद्युत आएको थियो । स्युचाटारमा प्राधिकरणको सबै टिम, त्यहाँको प्रमुख, सबै इन्जिनियर टिम बसेर अप्रेसनमा के हुन्छ भनेर उनले छलफल गरे । १० बजे स्युचाटारबाट काठमाडौंका विभिन्न नो–लाइट केन्द्रको भ्रमण गर्दै उनी घर पुग्दा झन्डै १ बजेको थियो । 

लक्ष्मीपूजाको बेलुका ९ बजे नै उनले अब हामी सफल भयौँ भन्ने थाहा पाएका थिए । त्यो सबैभन्दा धेरै विद्युत माग हुने समय थियो । त्यसपछि उनी प्रतिक्रिया लिनका लागि नोलाइट भ्रमणका लागि हिँडेका थिए । त्यसपछि यो गर्न सकिन्छ भनेर उत्प्रेरणा जाग्यो । 

उनले भने– ‘त्यसपछि अब यसलाई निरन्तरता दिने, अध्ययन गर्दै अगाडि बढ्ने भनेर योजना बनाउन थालियो । सबैले फेसबुकमा लेखे, बधाई दिए । लक्ष्मीपूजाकै दिन बत्ति नजानु भनेको त एउटा रेकर्ड थियो । लक्ष्मीपूजाको दिन यति धेरै बत्ति जान्थ्यो, काठमाडौंमा धान्न सक्ने स्थिति थिएन । यता पनि काट्यो, उता पनि काट्यो, उता काट्दा उता जान्छ, यता काट्दा उता जान्छको स्थिति थियो । त्यो दिन कहीँ पनि बिजुली गएन । जसकारण हाम्रो जुन किसिमको प्रसंशा भयो, त्यसले हामीलाई योजना बनाउन सजिलो भयो ।’ 


त्यही दिनदेखि काठमाडौंमा लोडसेडिङ अन्त्य भयो । एक घण्टा पनि लोडसेडिङ नगर्ने निर्णयमा प्राधिकरण पुग्यो । उनले थपे– ‘एक घण्टा मात्र लोडसेडिङ गर्यो भने त्यसले अरू लोडसेडिङ थप्छ, इन्र्भटर चार्ज हुन्छ, लोड बढ्दै जान्छ ।  अब पूर्ण रूपमा काठमाडौंमा लोडसेडिङ नगर्ने र अरू ठाउँको व्यवस्थापन गर्दैैै जाने भनेर अघि बढ्यौँ ।’

दीपावलीको दिन काठमाडौंमा लोडसेडिङ हुन नदिन अगाडिदेखि नै निकै तयारी गरिएको थियो । यति विद्युत लोड हुन्छ, यति आउँछ भनेर दुई तीन वर्ष अगाडिको आँकडा विश्लेषण गरिएको थियो । लोडसेडिङ नहुँदा यति लोड आउँछ भन्ने विश्लेषण गरेर योजना बनाइएको थियो । यो एउटा परीक्षण मात्र नभई सफल हुन्छौँ भनेर योजनाबद्ध रूपमा गरिएको काम थियो । 

यो घटनाले अब देशमा लोडसेडिङ हटाउन सम्भव छ भन्ने देखायो । काठमाडौँमा लोडसेडिङ अन्त्य हुँदा आम सर्वसाधारणबाट जुन उत्साहजनक प्रतिक्रिया आयो, भावनात्मक साथ सहयोग प्राप्त भयो । त्यसले गर्दा प्राधिकरणलाई अझ बढी व्यवस्थापन गर्न सजिलो भएको उनले स्मरण गरे । 

बधाईका लागि मोबाइलको घण्टी बजिरह्यो
३ वर्षअघि दीपावलीको त्यो दिन साँझपखदेखि नै उनको मोबाइलमा बधाई तथा शुभकामनाको घण्टी बजिरह्यो । 

उनले भने– ‘फेसबुकमा, मोबाइलमा चमत्कार नै भयो भनेर जुन मेजेस आयो, त्यसले धेरै उत्प्ररित बनायो । मोबाइलमा एसएमएस र फोन थेगिनसक्नु थियो । मिडियाको साथीहरूले पनि धेरै लेख्नुभयो ।

अनलाइन समाचारको मुनि यस्ता यस्ता कमेन्टहरू आए कि मान्छेले भन्छन् नि देवत्वकरण गर्यो भनेर, मलाई नै अप्ठेरो लाग्ने गरी गरिएका प्रशंसा गरिएका कमेन्टहरू आउँथ्यो । म अनलाइन समाचारको कमेन्टहरू धेरै हेर्थें । मैले ठूलै चमत्कार त गरेको हैन, गर्न सकिन्छ कि भनेर नेतृत्व मात्र लिएको हुँ । व्यवस्थापनको क्षेत्रबाट, प्राविधिक क्षेत्रबाट यस्तो यस्तो गर्न सकिन्छ भनेर नैतिक रूपमा अघि बढेको हो । पहिलाको व्यवस्थापनले पनि चाहेर गर्न सकिन्छ भनेर मात्र पनि भएन के, त्यो व्यवस्थापनको कुरा चाहिँ तलसम्म प्रतिनिधित्व हुनुपर्छ ।’

यो सफलतासँगै उनलाई एउटा चिन्ता पनि थपिएर आयो । काठमाडौं बाहिर, तराईमा जाँदा यहाँ लान काट्ने, काठमाडौंमा लोडसेडिङ हटाएँ भन्छन् कि  भन्ने चिन्ता थियो । तर उनले त्यो प्रश्नको सामना गर्नुपरेन । 

उनले भने– ‘तिहारपछि म तराई गएको थिएँ । धनगढीमा त्यो बेला तीन चार घण्टा लोडसेडिङ थियो । पावर पुग्दैनथ्यो । काठमाडौंमा लोडसेडिङ हट्यो भनेर यति खुसी थिए नि, त्यहाँको लोडसेडिङको कुरै गर्नुभएन । काठमाडौंसँग देशभरको मान्छे भावनात्मक रूपमा कति नजिक रहेछन् भन्ने बुझेँ । राजधानीमा लाखौँ जनसङ्ख्या भएको ठाउँमा बाह्र चौध घण्टा अँध्यारोमा राख्नु कसैलाई पनि सह्य कुरा थिएन ।’ 
उनले कुरा लुकाएनन्– म केही न केही न केही गर्छु भनेर नै एमडी भएको हुँ । मैले जहिले पनि भन्दै आएको थिएँ, मेरो सही समय र सही स्थान भनेको प्राधिकरणको कार्यकारी निर्देशक भनेर मैले प्रयास गरेको हो । उपयुक्त समयमा अवसर पनि पाएँ । त्यो बेलाको तत्कालीन सरकारले अवसर पनि दियो ।’ 

अरू सबै काम मिलाउँछु अनि ४ वर्षपछि लोडसेडिङ हटाउँछु भनेर लागेको भए त अहिलेको अवस्था सिर्जना हुने नहुने उनको भनाइ छ । उपभोक्तालाई दिएको सेवालाई कसरी राम्रो बनाउने, लोडसेडिङ अन्त्य कसरी गर्ने भन्ने नै मेरो आफ्नो पहिलो प्राथमिकता रहेको उनी बताउँछन् । 

उनले भने– ‘सर्वसाधारणको प्रतिक्रियापछि देशभरी नै लोडसेडिङ अन्त्य गर्ने त भनियो तर त्यसपछि पनि माग बढ्दै जाने, आपूर्ति घट्दै जाने हुन्छ । आपूर्ति घट्दै गएपछि झन् बढी समस्या आउँछ भन्ने लागेको थियो । तर विभिन्न माध्यमबाट पावरहाउस कसरी सञ्चालन गर्ने भन्नेदेखि लिएर तल्लो तहसम्म सूक्ष्म व्यवस्थापन गरेर हामीले काम गर्यौँ ।’

काठमाडौंपछि पोखरामा लोडसेडिङ अन्त्य भयो । त्यसपछि भरतपुरमा अन्त्य भयो भने २०७३ सालको एसएलसीको समय देशभरी नै लोडसेडिङ अन्त्य गरियो । चैत–वैशाख जस्तो सुख्खा मौसममा पनि देशभरी नै लोडसेडिङ हट्दा सर्वधारणले चमत्कारको महशुस गरे । विद्युत मागकर्ता उपभोक्ताको तर्फबाट पनि सहयोग पाएपछि प्राधिकरणलाई विद्युत आपूर्ति गर्न पनि सजिलो भएको उनले बताए । 
उनले सम्झिए– ‘उपभोक्ताको तर्फबाट नै हामीलाई यति धेरै सहयोग प्राप्त भयो कि, हामीलाई लोडसेडिङ व्यवस्थापन गर्न एकदमै सजिलो भयो । लोडसेडिङ अन्त्य हुँदा सर्वसाधारणसँग भावनात्मक सम्बन्ध स्थापित हुन पुग्यो । त्यसले हामीलाई अझ धेरै प्रेरित भएर काम गर्न सजिलो भयो ।’

सर्वसाधारणको उत्साह : प्राधिकरणलाई प्रोत्साहन  
लोडसेडिङपछि सबैभन्दा ठूलो उत्साह, प्रोत्साहनसहित सर्वसधारणले प्रतिक्रिया दिन थाले ।  विद्युत प्राधिकरणको सर्वसाधारणसँग एउटा भावनात्मक सम्बन्ध गाँसियो । राजनीतिक पार्टीदेखि आमसर्वसाधारण सबैले प्रशंसा गर्न थाले ।  सबैले एउटा परिर्वतनको अुनभूति गर्न पाए । 

उनले स्मरण गरे– ‘यसले के भयो भने एकातिर ठूलो मोटिभेसन भयो भने अर्कोतिर ठूलो च्यालेन्ज थपिएको जस्तो पनि भयो । किनभने अब लोडसेडिङ हुँदैन भनिहालियो । भनेपछि त त्यसले यति ठूलो प्रेसर सिर्जना गर्यो नि, जसरी भए नि यसलाई गर्नुपर्छ, जसरी भए नि गर्नुपर्छ भन्नेमा हामी गयौँ । त्यसपछि हामी प्राविधिक रूपमा के गर्नुपर्छ देखि सबै कुरा अध्ययन गर्यौँ, देशभर यो ठाउँमा यस्तो गर्ने भन्ने १२ बुँदे योजना बनाएर काम सुरु गरियो ।’

काम गर्दागर्दै केही गरी लोडसेडिङ भइहाल्यो भने के गर्ने भन्ने प्राधिकरणको टिमलाई चिन्ता परेको उनले बताए । तर प्राधिकरणको सामूहिक प्रयास र प्रतिबद्धताका कारण बिस्तारै प्राधिकरणले सफलता पाउँदै गएको उनले बताए ।  

यस्तो भयो अघिल्लो वर्षको दीपावली  
गएको वर्षको दीपावलीमा विद्युत व्यवस्थापन गर्न खासै समस्या त थिएन । लोडसेडिङ हटिसकेको थियो तर प्राविधिक समस्या आउँछ कि भन्ने घिसिङलाई चिन्ता थियो । लक्ष्मीपूजाकै दिन केही ट्रान्सफर्मर पड्किए, तार चुडियो, कहीँ सबस्टेसन पड्कियो, ट्रान्समिसन लाइनको तार चुँडियो भने समस्या आउला भन्ने उनले सोचेका थिए । प्राविधिक समस्या आउँछ भन्ने चिन्ता हुँदाहुँदै ठ्याक्कै भक्तपुरमा सबस्टेसनमा मुसा पसेर दिउँसै आगोलागी भयो । त्यो बनाउन ३ दिन लाग्ने भए पनि लक्ष्मी पूजाको दिन भएर छ घण्टामा बनाउने काम गरेको उनले स्मरण गरे । 

जसले गर्दा बेलुकाको समयमा भक्तपुरमा केही अवरोध त भयो । अहिले पनि चिन्ता भनेको प्राविधिक समस्या आउला कि भन्ने चिन्ता मात्र रहेको उनले बताए । उनले भने– ‘कहीँ प्राविधिक समस्याले झ्याप्पै लाइन गयो भने त ठूलो समस्या आउँछ । अहिले पनि यो प्राविधिक चिन्ता चाहिँ छ । कुन ठाउँमा कुन ट्रान्समिटर, लाइन जान्छ भन्ने त थाहा हुँदैन । कतै एउटा रूख ढल्दियो, कतै टावर ढल्दियो, कतै तार झर्यो भने त समस्या आउने भयो । यस्तो भएन भने यो दिनलाई अरू केही समस्या छैन ।’

सम्भव थियो लोडसेडिङ अन्त्य
लोडसेडिङ हटाउने सरकारकै योजना थियो । तर लोडसेडिङ कहिले अन्त्य गर्ने, कसरी अन्त्य गर्ने भन्ने योजना बनाउने काम प्राधिकरणको थियो । कुलमानले फेरि स्मरण गरे– ‘त्यो बेलाको प्रधानमन्त्री, मन्त्री सबैको योजना त लाडसेडिङ अन्त्य गर्ने भन्ने थियो ।

तर त्यसलाई कसरी गर्ने भनेर यहाँ बस्ने योजनाकारहरूले नै गर्ने हो । त्यो हिसाबाले प्रधानमन्त्री, मन्त्रीदेखि सबैको सहयोगले साथ दियो । हाम्रो प्राधिकरणको टिमले एउटा योजना बनायो । प्राविधिक रूपमा कहाँ–कहाँ समस्या छ भनेर अध्ययन पनि गर्यौँ । सबै कुरा मैले मात्र गर्ने भन्ने हुँदैन,  कहाँ कहाँ लोडको अवस्था छ त्यो लोड डिस्प्याच सेन्टरका इन्जिनियरहरूलाई थाहा हुने हो । त्यो समस्या समाधान गर्नका लागि कहाँ कहाँ के के गर्ने हो, कहाँ कहाँ ट्रान्सफर्मर थप्ने, योजना कसरी गर्ने, योजना कसरी बनाउने, मर्मत योजना कसरी गर्ने, यो सबै कुराको नेतृत्व मैले गरेको हुँ तर यो एउटा टिमवर्कले गरेको मिहिनेतको फल हो । एउटा व्यक्तिले मात्र गर्ने भन्ने हैन । व्यक्तिले नेतृत्व गर्ने र कसरी गर्न सकिन्छ भनेर मार्गनिर्देशन दिने हो । यो सम्भव छ भनेर मार्गनिर्देशन दिन नसकेको भए पहिलेकै अवस्थामा रहन पनि सकिन्थ्यो ।’ 

उनले थपे– ‘लोडसेडिङ अन्त्य सम्भव छ र भनेर सबैले पश्न गर्थे । हुन्छ र ? सक्छ र ? भनेर प्रश्न गर्थे । गरौँ न भन्ने भएपछि न गर्ने हो । नेतृत्वले अगाडि धकेल्ने त एउटा कुरा छँदैछ तर यसको जस भनेको त टिमवर्क नै हो ।’ 

चमत्कार हैन, राम्रो व्यवस्थापन
देशका विभिन्न स्थानमा स्थानीयले घर अगाडिको सडकको नाम, चोकको नाम कुलमान घिसिङको नामबाट राखेका छन् । यो देख्दा उनलाई कस्तो लाग्छ होला ? उनले भने– ‘मलाई एकदम ‘अड’ लाग्छ । राख्नेले राखे, त्यसमा मलाई भन्नु त केही छैन । तर अरूभन्दा पनि मैले काम गर्ने हो । प्रचारभन्दा पनि काम गर्ने हो । मैले प्रचार गर्यो भनेर पनि आरोप लगाउँछन् । तर मलाई प्रचार गर्न त्यति मन पनि पर्दैन । तर पर्फमेन्स राम्रो गर्दै जाँदा पब्लिसिटी पनि हुँदैजाँदो रहेछ ।’ 

जहाँसुकै गए पनि नेपालीले उनको अनुहार हेर्छन् र सोध्छन्, तपार्इं कुलमान घिसिङ हैन सोध्छन् । आफूले जहाँ गए पनि नेपाली जनताको माया र प्रशंसा पाएको कुराले अझै मैले केही गर्नुपर्छ भनेर झक्झक्याउने गर्छ । कतिपयले उनको विरोध पनि गर्छन् । तर कुलमानलाई लाग्छ विरोधीहरूले बाहिर गाली गरे पनि भित्र प्रशंसा पनि गरिरहेको होलान् । उनेले भने– ‘मेरो एउटा अनुभूति नि, काम गर्दा पब्लिकबाट जुन प्रशंसा पाइँदो रहेछ, त्यो नै ठूलो उपलब्धि हो, त्यसले झन् अघि बढ्न प्रेरित गर्दोरहेछ ।’ 

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर काठमाडौंको मुटु रत्नपार्कमा रहेको प्राधिकरणको मुख्यालय छिर्दा लोडसेडिङ हटाउँछु भन्ने उनको उद्देश्य त थियो तर लोडसेडिङ हटेपछि जनताबाट यति धेरै प्रशंसा र माया पाउँछु जस्तो लागेको थिएन । जनताले दिएको त्यो साथ, सहयोग र सद्भावलाई उनले जीवनको ठूलो सम्पत्ति मानेका छन् । 

उनले भने– ‘प्रमुख पदमा पुगेपछि केही गर्छु भन्ने एउटा जोश त हुन्छ नि । चिलिमेमा हुँदा पनि १८ घण्टा काम गर्थेँ । यो प्रोजेक्ट ल्याउनुपर्छ, यसो गर्नुपर्छ भनेर लागिन्थ्यो । यहाँ आएपछि पनि फुर्सदै कहाँ छ र ? यति धेरै काम छ कि दस बाह्र हजार कर्मचारी छन् ।

यसको व्यवस्थापन अर्को पक्ष हो । नतिजा दिनु अर्को पक्ष हो फेरि । नतिजा नदिई त व्यवस्था गर्न सकिँदैन ।  वास्तवमा मेरो जीवनमा चिलिमेमा नहुँदा जसरी एक महिना रसुवालीले मलाई त्यही फिर्ता बोलाउनुपर्छ भनेर आन्दोलन नै गरे, लेख्नेले के–केसम्म लेखे भने गाई काटेर खुवाए, आन्दोलन गर्नलाई गुण्डा पठाए, कुलमानले भैँसी खुवाएर आन्दोलन गर्न लगाए भनेर पनि लेखे । मैले त्यो लेखाइमा विश्वास गर्ने पनि हैन, मैले गर्ने पनि हैन । मैले गर्नुपर्ने आवश्यकता पनि थिएन । त्यहाँका जनताले यसले राम्रो गरेको थियो, यो मान्छे नै चाहिन्छ भनेर महशुस  गरेर केही समय यहाँ बस्नुपथ्र्यो भनेर आन्दोलन गरे । त्यो कुरा म यहाँ आएपछि पनि प्रमाणित गरेको छु ।’ 

रसुवाका केही व्यक्तिहरूले उनलाई भेटे र भने–‘हामीले जेका लागि आन्दोलन गरेका थियौँ, त्यसलाई पूरा गर्नुभयो, धेरै धेरै धन्यवाद छ, बधाई छ भन्थे । उनीहरूले विरोध त गरे तर  तपाईंले देशकै लागि गरेर देखाइदिनुभयो ।’

उनले आफू चिलिमे जलविद्युत कम्पनीमा काम गर्दा त्यहाँका स्थानीयले देखाएको सद्भावलाई पनि स्मरण गरे । उनले भने– ‘चिलिमेमा हुँदा पनि काठमाडौंमा पत्रपत्रिकामा केके आए मलाई थाहा छैन, विभिन्न कोणबाट विभिन्न कुरा आए । चिलिमे कम्पनीबाट मलाई यता ल्याउँदा रसुवालीले एक महिनासम्म बन्द गरे । मैले केही नगरेको भए त रसुवा बन्द हुँदैनथ्यो होला । मैले त्यहाँ गर्नुपर्ने चिजहरू धेरै गरेको छु जस्तो लाग्छ । त्यहाँका स्थानीयलाई प्रोत्साहित कसरी गर्ने, रोजगारी कसरी दिने, काममा कसरी सहभागी गराउने भन्नेदेखि उनीहरूलाई कसरी बढीभन्दा बढी सहभागी बनाउने भन्नेमा ध्यान केन्द्रित गरेको थिएँ ।’ 

प्राधिकरणले यसपालिको तिहारका लागि एक साताअघि नै बैठक राखेर देशभरी नै यस्तो यस्तो गर्ने भनेर योजना बनाइसकेको छ । प्राधिकरणले आफ्ना मातहतका सबैतिर सर्कुलर गरिसकेको छ, सबै स्ट्यानबाई अवस्थामा छन् । कहाँ कहाँ ट्रान्सफर्मरमा तेल हाल्नुपर्ने, कहाँ कहाँ फिडरहरू निकाल्नुपर्ने, तार थप्नुपर्ने, कहाँ ट्रान्सफर्मर थप्नुपर्ने सबै कुरा गरिसकेको उनले बताए ।  

अबको बाटो के ? अबको २० वर्षपछि पनि लोडसेडिङ नहुनेगरी काम गर्छु   

लोडसेडिङ त अन्त्य भयो तर यसलाई नै उनले अन्तिम सफलताका रूपमा लिएका छैनन् । यो त एउटा सामान्य प्रक्रियाका रूपमा लिएका छन् । उनको योजना ठूलो छ, दीर्घकालीन सोचका साथ उनी काम गरिहेका छन् ।  

घिसिङले भने– ‘लोडसेडिङ त अब हुँदैन । तर अबको २० वर्षपछि पनि हुनुहँुदैन । २० वर्षपछि लोडसेडिङ नहुनका लागि अहिलेदेखि नै मैले काम गरेर जानुपर्छ । अहिले मैले आयोजनाहरू ल्याएँ, ट्रान्समिसन लाइन ल्याएँ, भौतिक पूर्वाधार बनाइदिए भने २० वर्षपछि पनि लोडसेडिङ हुँदैन नि । अहिले मैले कुनै प्रोजेक्ट ल्याइन, केही पनि गरिनँ अहिले चाहिँ हाई हाई गरेर भोलि जानासाथ त लोडसेडिङ भयो भने अप्ठ्यारो हुन्छ नि ।’ 

दीर्घकालीन रूपमा कहिले पनि लोडसेडिङ नहुने वातावरण निर्माणका लागि आयोजनाहरू ल्याउने, आन्तरिक खपत मात्र हैन, बाहिरी देशमा निर्यात गर्ने गरी पनि विद्युत उत्पादन गर्ने कार्ययोजनामा लागिरहेको उनले बताए । 

उनले थपे– ‘अर्को कुरा रिलायविलिटीको पनि हो । अहिले समय समयमा त विद्युत जान्छ, सप्लाई छ तर लाइन जान्छ । झ्याप्प जान्छ, लोडसेडिङ भनिहाल्छन् । त्यो हैन कि अब क्वालिटी अफ सप्लाई बनाउने । एकदम भरपर्दो, कुनै पनि बेला बत्ति नजाओस् न । यसका लागि लाइनहरू बनाउनुपर्यो, ट्रान्समिसन लाइन थप्नुपर्यो, सब स्टेसन थप्नुपर्यो, सबै कुरा आउनुपर्यो । भित्री रूपमा हामी ठूलो यस्ता यस्ता योजनाहरू अघि बढाइरहेका छौँ ।’ 

विद्युतीय सुरक्षाका लागि कभर कन्डक्ट इन्सुलेसन तान्ने, अन्डरग्राउन्ड केबुलिङ गर्ने, सहरमा तार व्यवस्थित गर्ने र बाँकी ३० प्रतिशत जनतासम्म विद्युत पुर्याउने उनको योजना छ ।  

उनले भने– ‘लोडसेडिङ अन्त्य त ७० प्रतिशत जनताका लागि मात्र भयो, ३० प्रतिशत जनताले त अझै बत्ति पाएका छैनन् । उनीहरू त २४सै घण्टा लोडसेडिङमा छन् । सबैले बिजुली बाल्नुपर्छ भनेर सबैलाई शतप्रतिशत नेपालीलाई बिजुली दिने, सबैले बिजुली बाल्न पाउनुपर्छ । हामी यो प्रक्रियामा अगाडि बढेका छौँ ।’ 

विगतका वर्षहरूमा विद्युत प्राधिकरण घाटामा थियो, अहिले २ वर्ष लगातार नाफामा गएको छ । प्राधिकरणले डेढ अरब नाफामा गएको घोषणा गरे पनि अन्तिम लेखापरीक्षणपछि दुईदेखि तीन अरब नाफामा हुने उनले बताए ।  

राज्यको पुनर्संंरचना जस्तै प्राधिकरणको पुनर्संरचना गर्ने, स्मार्ट मिटर रिडिङ प्रणाली, सबै कुरामा डिजिटल प्रणाली, सर्भिस डेलिभरीलाई प्रभावकारी, सिस्टमलाई विश्वासनीय बनाउने, विद्युतीय सवारी, इन्डक्सन चुल्होदेखि नेपालमा विद्युतबाट सञ्चालन हुन सक्ने सबै चिज चलाउने, कहिल्यै लोडसेडिङ नहुने र विद्युत ब्यापारबाट नेपाललाई समृद्ध मुलुक बनाउने सपना लिएर अघि बढिरहेका छन् कुलमान । 


 

  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप