बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र र वैद्य माओवादी एक हुन चाहेकै हुन् ? यस्तो छ वास्तविकता

आइतबार, ०८ साउन २०७४, २१ : ३७
आइतबार, ०८ साउन २०७४

नारायण पंगेनी 

काठमाडौं– नेकपा माओवादी केन्द्रले एकीकृत नेकपा माओवादीबाट विभाजित भएका पार्टीहरुलाई औपचारिक रुपमै पार्टी एकताका लागि अपील गरेको छ । साउन २ गतेदेखि ७ गतेसम्म बसेको माओवादी केन्द्रको सचिवालय समितिको विस्तारित बैठकले पार्टी एकताका लागि अपील गरेको हो । 

‘वैठकले पार्टी एकता प्रक्रियालाई पूर्णता दिने कुराको महशुस गर्दै मुख्यतः मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको घटक र सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीलाई अपील गरेको छ ।’– सचिवालय वैठकको निर्णय सार्वजनिक गर्न आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

केही दिनअघि मात्रै सकिएको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको पूर्ण बैठकले पनि माओवादी एकतामै जोड दिएको छ । असार २५गतेदेखि ३० गतेसम्म बसेको क्रान्तिकारी माओवादीको बैठकले पार्टी एकीकरण र ध्रुवीकरणका लागि क्रान्तिकारी समूहलाई आह्वान गर्ने निर्णय गरेको छ । क्रान्तिकारी माओवादीले एकताका लागि केही आधारहरुसमेत तय गरेको छ । 

‘दश वर्षको जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरुले गम्भीर धक्का खाएको, राष्ट्रियता जनतन्त्र तथा जनजीविकाको समस्या झनै गम्भीर बन्दै गएको र दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रभावी रहेको अहिलेको स्थितिमा एकतावद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यमाथि आवश्यक ध्यान दिँदै एकता र ध्रुवीकरणका लागि आह्वान गर्ने निर्णय लिइएको’ क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

क्रान्तिकारी माओवादीले ६ वटा आधारसमेत तय गरी पार्टी एकताको लागि आह्वान गरेको दुई दिनपछि बसेको माओवादी केन्द्रले पार्टी एकताका निम्ति अपील गरेको छ । पार्टी विभाजित भएका कारण माओवादी आन्दोलन कमजोर भएको भन्दै यसअघि पनि एकताको प्रयास थालिएपछि झण्डै पाँच वर्षअघि विभाजित भएको वैद्य नेतृत्वको माओवादीबाट रामबहादुर थापा ‘बादल’ सहितका नेताहरु एकतामा समाहित भएका थिए । ‘वैद्यले क्रान्ति नगर्ने भए’ भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ले छाडेको एक वर्षमै बादल समूह पनि बाहिरिएपछि वैद्य नेतृत्वको पार्टी झनै साघुँरिदै गयो । 

विप्लव, बादलसहित हुँदा दोस्रो संविधानसभाको चुनाव सक्रिय बहिष्कार गरेको वैद्य नेतृत्वको पार्टीबाट दुवै समूह बाहिरिएपछि हालै भएको स्थानीय तहको निर्वाचन उपयोग गर्ने भन्दै भाग लिए पनि नतिजा शून्य रह्यो, जसलाई क्रान्तिकारी माओवादीले स्वभाविक भनिरहेको छ । यता, सबै माओवादी एक भएको ह्वीम फैलाएर माओवादी केन्द्र बनाए पनि स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको नतिजा दोस्रो संविधानसभाको निर्वाचनकै हैसियतमा रह्यो । विभाजित हुँदा माओवादी आन्दोलन नै कमजोर भएको स्वीकार गरे पनि वैचारिक रुपमा भने दुवै पार्टी धेरै टाढा पुगिसकेका छन् । 

माक्र्सवाद–लेनिनवाद–माओवाद अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, क्रान्तिमा बल प्रयोगको सिद्धान्तलाई मान्ने, वर्तमान पश्चगामी संविधानलाई अस्वीकार गर्ने, वर्तमान सत्ता तथा ब्यवस्थाको मन्त्रिपरिषद्मा नरहने र जनवादी केन्द्रीयताको सिद्धान्तलाई स्वीकार गर्ने सैद्धान्तिक राजनीतिक तथा सांगठनिक मान्यता आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरण गर्ने वैद्य माओवादीको प्रस्ताव माओवादी केन्द्रसँग कुनै पनि हालतमा मेल खाँदैन ।

तर पनि संविधान नै नमान्ने बताएको क्रान्तिकारी माओवादी संविधान कार्यान्वयनका लागि भएको निर्वाचनमा सहभागी भएको छ भने पार्टीलाई सात प्रदेशमा लैजाने निर्णय गरिसकेको छ । 

एकता र ध्रुवीकरणको आह्वान गरेको क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ स्वयं प्रचण्डसँग एकता हुनै नसक्ने बताउँछन् । क्रान्तिकारी माओवादीका एक नेता भन्छन्– ‘माकेसँग होइन, विप्लवसँग एकताको सम्भावना छ ।’ स्रोतकाअनुसार पछिल्लो समय अध्यक्ष वैद्य स्वयंले विप्लवसँग एकताका छलफल चलाइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप