बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस नेताको तिहार : कसले कसरी मनाउँदैछन् ?

बिहीबार, २२ कात्तिक २०७५, ११ : ३४
बिहीबार, २२ कात्तिक २०७५

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो चाड तिहार धुमधामका साथ मनाइँदैछ । सबैले आआफ्नो गच्छेअनुसार तिहार पर्व मनाइरहेका छन् । गाउँदेखि सहरसम्म तिहारको हर्षोल्लास छ । गाउँ सहर झिलिमिली बनेका छन् । उज्यालो पर्वका रूपमा लिइने तिहारलाई दाजुभाइ तथा दिदीबहिनीको पर्वका रूपमा लिइने भएकाले दाजुभाइहरू दिदीबहिनीकोमा आउने वा दिदीबहिनी दाजुभाइकहाँ गएर भाइटीका लगाउने चलन छ । 

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सु–स्वास्थ्य दीर्घायुको कामना गर्छन् भने दाजुभाइले आफ्नो गच्छेअनुसारको दक्षिणा दिने गर्छन् । दोस्रो ठूलो चाड काङ्ग्रेसका प्रमुख नेताहरूले चाहिँ कसरी मनाउने योजना बनाएका छन् त ?  प्रस्तुत छ उनीहरूको तिहार तयारी :

सभापति शेरबहादुर देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसपालिको तिहार विगतका वर्षझैं बूढानीलकण्ठस्थित आफ्नै निवासमा मनाउने तयारी गरेका छन् । उनका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले निवासमा देउसी खेल्न आउने विभिन्न समूहसँग रमाउँदै तिहार मनाउने छन् । साथै सदाका वर्षझैँ काँग्रेस नेत्री मिना पाण्डे र बहिनी गोमा शाहका हातबाट भाइटीका ग्रहण गर्ने तयारी रहेको स्वकीय सचिव भानुले जानकारी दिएका छन् ।

वरिष्ठ नेता रामन्द्र पौडेल
काँग्रेस वरिष्ठ नेता रामन्द्र पौडेलले यस पटक भाइटीका नलगाउने भएका छन् । उनका ज्वाइँको निधन भएकाले तिहारको कुनै तयारी नगरेको पौडेलेको पारिवारिक स्रोताले जनाएको छ । सोही कारण नेता पौडेलले दशैँमा पनि भारतको  उत्तराखण्डको हिमालयमा अवस्थित तीर्थस्थल केदारनाथधाम र बद्रीनाथ धामको भ्रमण गरेका थिए । तिहारपछि भने उनी कार्यकर्तासँग राजनीतिक भेटघाटका लागि देश दौडाहामा निस्कने योजनामा रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

विमेलेन्द्र निधी, उपसभापति काँग्रेस
काँग्रेसका उपसभापति विमलेन्द्र निधीले यसपालिको तिहार प्रदेश २ मा मनाउने भएका छन् । उनी भाइटीका ग्रहण गर्न सप्तरीस्थित राजविराजमा दिदी राधादेवी कर्णकहाँ जाने भएका छन् । त्यसका लागि उनी भाइटीकाको दिन बिहानै राजविराज जाने निधीका स्वकीय सचिव विकास विक्रमले जानकारी दिए ।

विजयकुमार गच्छदार, उपसभापति काँग्रेस
काँग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदार थारु परम्पराअनुसार तिहार मनाउने भएका छन् । थारु परम्पराअनुसार गच्छदारले भाइटीकाको साइतभन्दा केही समयपछि मात्रै बहिनी (काकाकी छोरी ) को हातबाट तीका लागाउने गच्छदारका सहयोगहरूले बताएका छन् । तिहार मनाउन उपसभापति गच्छदार गोवद्र्धन पूजाका दिन गृहजिल्ला मोरङ पुग्नेछन् । उनी तिहार तथा छठ पर्व मनाएर मात्रै काठमाडौँ फर्कने तयारीमा छन् । 

शशांक कोइराला, महामन्त्री
काँग्रेस महामन्त्री शशांक काइरालाले विगतका वर्षझैँ यसपालिको तिहार काठमाडौंमै मनाउने तयारी गरेका छन् । कोइरालाले महाराजगञ्जस्थित निवासमा बहिनी सुजाता कोइरालाको हातबाट भाइटीका ग्रहण गर्ने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

पूर्णबहादुर खड्का, महामन्त्री
काँग्रेसका अर्का महामन्त्री पूर्णबहादुर खड्काले पनि यसपालिको तिहार नमनाउने भएका छन् । गतवर्ष फागुनमा आमाको निधन भएको र वर्षदिन नपुगेको भन्दै यसपालिको दशैं तिहार उनले नमनाउने भएका हुन् । विधान मस्यौदा समतिका संयोजक समेत रहेका खड्काले तिहारमा टीका नलगाए पनि तिहारमा कार्यकर्ता भेटघाट र विधानबारे छलफल गर्ने तयारी गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप