केन्द्रीय संस्करण

किन व्यावहारिक हुन सकेन नेपाल संवत् ?

person access_timeकात्तिक २२, २०७५ chat_bubble_outline0

नेपाल संवत् सुरु भएको ११३९ वर्ष भएको छ ।

म्हपूजा र नेपाल संवत् एकै दिन पर्छ । ‘नयाँ संवत् भित्र्याएर म्हपूजा गर्ने चलन चलाइएको छ,’ संस्कृतिविद् सत्यमोहन जोशीले दाबी गरे, ‘नेपाल संवत् ११३९ मात्रै भयो । म्हपूजा ११३९ वर्षदेखि मात्रै गर्न थालिएको होइन । नेपाल संवत्भन्दा अघिदेखि नै म्हपूजा गरिन्थ्यो ।’ 

शंखधर साख्वालाई नेपाल संवत्को प्रवर्तक मानिन्छ । राष्ट्रिय विभूति साख्वाले काठमाडौं उपत्यकाका गरिब जनतालाई ऋणमुक्त गराएको खुसियायलीमा नेपाल संवत् प्रचलनमा ल्याइएको बताइन्छ । विक्रम संवत् ९३६ देखि नेपाल संवत् प्रचलनमा ल्याइएको थियो । उनले लिच्छविकालका भक्तपुरे राजा राघवदेवको आज्ञानुसार नेपाल संवत् प्रचलनमा ल्याएका थिए ।  

नेपाल संवत्लाई राष्ट्रिय संवत् पनि भनिन्छ । आफ्नैपनको भएकाले नेपाल संवत् मौलिक संवत् हो भन्ने गरिन्छ । ‘प्रत्येक संवत्मा राजाको नाम हुन्छ । कि जातिको नाम जोडिन्छ,’ संस्कृतिविद् जोशीको भनाइ छ, ‘यसमा नेपाल संंवत् भनेर देशकै नाम जोडिएको छ । नेपाल संवत्लाई किन आफ्नो नमान्ने ?’

मौलिक संवत्का रूपमा प्रचलित नेपाल संवत् चन्द्रमासमा आधारित हुन्छ । चन्द्रमासमा आधारित संवत् कत्तिको व्यावहारिक छ ? ‘व्यावहारिक त विक्रम संवत् नै हो,’ उनले भने, ‘विक्रम संवत्मा १, २, ३ गतेबाट सुरु हुन्छ भने नेपाल संवत् तिथिमित्ति प्रतिपदा, द्वितीयाका आधारमा गणना गरिन्छ । मेरो जन्म विक्रम संवत्अनुसार वैशाख ३० गते हो ।  सालिन्दा वैशाख ३० गते मेरो जन्मदिन पर्छ । करेक्ट र साइन्टिफिक लुनर क्यालेन्डर मानिए पनि व्यावहारिकचाहिँ विक्रम संवत् नै हो ।’ 

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियामा लेखिएको छ, ‘नेपाल संवत्को पहिलो दिन भारतीय विक्रम संवत्को कार्तिक शुक्ल पक्षको दिन हुन्छ । यसमा एक औंसीबाट अर्को औंसीलाई एक चन्द्रमास भनिन्छ । १२ औंसीको एक वर्ष हुन्छ । त्यसो हुनाले ३५४ दिनको एक वर्ष हुन आउँछ । तीन वर्षमा एकपटक अनला महिना अथवा पुश्रषोत्तम महिना १३औं महिना हुन आउँछ ।’ 

तसर्थ, नेपाल संवत् व्यावहारिक नभएको हो । नेपाल संवत्अनुसार एक वर्षमा १३ महिना हुँदा त्यत्तिकै तलब दिनुपथ्र्यो । यसलाई आधार मानेर पृथ्वीनाराण शाहको शासनकालमा राष्ट्रिय संवत्को मान्यता पाएको नेपाल संवत् अव्यावहारिक भयो भन्दै चन्द्रशमशेरको पालामा विक्रम संवत् प्रचलनमा ल्याइयो । नेपाल संवत्अघि शक् संवत् प्रचलनमा थियो ।    

विक्रम संवत् २००७ सालपछि प्रजातन्त्र पुनःस्थापना भयो । त्यसपछि नेपाल संवत् पुनः प्रचलनमा आयो । ‘यो नेवारको मात्रै संवत् होइन,’ संस्कृतिविद् सत्यमोहन जोशीले प्रस्ट्याए, ‘नेपाल संवत् भनेको मुलुकको नामबाट सुरु गरिएको संवत् हो । कसरी नेवारको मात्रै संवत् हुन्छ ?’ 

प्रजातन्त्र स्थापनापछि नेवार समुदायका प्राज्ञिक, बौद्धिक, राजनीतिक नेता तथा सामाजिक अभियन्ताले नेपाल संवत्लाई पुनः राष्ट्रियता मान्यता दिन अभियान थाले । नभन्दै संवत् २०६५ मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिएका थिए । चन्द्रशमशेरले प्रतिबन्ध लगाएको सय वर्षपछि नेपाल संवत्ले पुनः राष्ट्रिय मान्यता पाउनु आफैंमा ऐतिहासिक मानिन्छ ।

विक्रम संवत् १९६० अघिसम्म नेपाल संवत्ले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाएको जोशीले बताए । भारत आसामको कुच विहारका राजा प्राणनारायणले नेपाल संवत् अंकित मुद्रा प्रचलन ल्याएको बताइन्छ ।  

नेपाल संवत् प्रचलनमा ल्याइनुका कारणबारे थुप्रै भनाइ छन् । इतिहासकार बावुराम आचार्य, डा. डिल्लीरमण रेग्मी र इटालियन इतिहासकार लुसियानो पेटेकले पशुपतिनाथको सम्मान गर्दै नेपाल संवत् प्रचलनमा ल्याइएको अड्कल काटेका छन् । 

नेपाल संवत्का प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको छ । विक्रम संवत् २०५७ मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको हो । उनै विभूतिले प्रचलनमा ल्याएका नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउनु र शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिनु त्यत्तिकै ऐतिहासिक काम हो ।

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ