केन्द्रीय संस्करण

नर्सको तिहार : ‘भाइटीका लगाइदिने समयसमेत मिल्दैन’

person access_timeकात्तिक २३, २०७५ chat_bubble_outline0

काठमाडौं– बसुन्धाराको ग्रिनसिटी अस्पतालको आकस्मिक कक्ष । जहाँ एक जना व्यक्ति छिर्ने बित्तिकै सबैको चासो बढ्छ । 

उनी त्यहाँ पुग्नेबित्तिकै नर्सदेखि बिरामीका आफन्त उनलाई सोधपुछ गर्न हतारिन्छन् । 

तिहारको आज अन्तिम दिन अर्थात भाइटीका ।

सबैलाई तिहारले झपक्कै छोपेको छ । घर, टोल, समाज र देश नै दैउसी, भैलोसँगै तिहारमय भएको छ । तर सुलोचना बाँस्तोलालाई भने बिरामीको सेवा गर्दैमा दिन बितेको छ । 

निरन्तर ५ वर्षदेखि तिहार न दसैं, कुनै पनि पर्व उनलाई पर्व जस्तो लागेको छैन । आकस्मिक कक्षमा आउने बिरामीहरूलाई हतारिँदै उपचारमा खट्दै उनको दैनिक बित्छ । 

उनका परिवार र आफन्त सबै काठमाडौँमै छन् । तर पनि उनले परिवारसँग बसेर चाडपर्व मनाएको अत्यन्त कम छ । 

आज त भाइटीका हो नि किन बिदामा बस्नु भएन ? भन्ने प्रश्नमा उनी भन्छिन्– ‘आज भाइटीका हो, भाइलाई टीका लगाउने समय मिल्छकी भनेर आज बिहानैको ड्युटी आएको छु । हेरौँ कुनै त्यस्तो गम्भीर केस आएन भने १ बजे ड्युटी सकेर जान्छु ।’

‘तर म घर पुग्दा सबैले टीका लगाइसकेका हुन्छन् । म एक्लै हुन्छु’, यो वर्ष भाइलाई टीका लगाउन पाइन्छ कि पाइन्न भन्ने सुलोचनालाई चिन्ता लागेको छ । 

सुलोचनाको अस्पतालमै बितेको यो पहिलो तिहार भने होइन । विगत ५ वर्षदेखि उनको दसैं, तिहार यसैगरी बित्दै आइरहेको छ । दसैं बिदामा आधा समय घरमा बिताउने मौका पनि कहिलेकाहीँ खोसिएको उनको अनुभव छ । 

अघिल्लो वर्ष तिहारको ड्युटी सकेर भाइटीका लगाउन जान फुरुङ्ग परेकी सुलोचना, सोही समयमा नुवाकोटको सवारी दुर्घटनाको केस आयो । उपचारपछि घर जाँदा तिहारको रौनक सकिसकेको रैछ  । त्यो साल साँझमा भाइटीका लगाउनु पर्दा निकै नमज्जा लागेको अनुभव उनले सुनाइन् ।

‘एउटा भाइका ४ दिदीबहिनी भए पनि सबै आऊन् भन्ने चाहना हुन्छ । अहिलेसम्म साइतको टीका लगाउने र लगाइदिने मौका पाएकै  छैन’, उनलाई यसमा नमज्जा लागेको रहेछ । त्यसो त उनले दशैंमा ८५ वर्षीय हजुरआमाको हातबाट टीका नलगाएको पनि ५ वर्ष भएछ ।  पुख्र्यौली घर लमजुङ भएकाले उनकी हजुरआमा उतै हुनुहुन्छ । सुलोचना भन्छिन्– ‘हजुरआमाले प्रत्येक वर्ष टीका थाप्न नआउने भनेर फोन गर्नुहुन्छ । ८५ वर्ष पुग्नुभएको उहाँलाई भेट्ने रहर अधुरै रहने होकि भन्ने लाग्छ ।’ 

सुलोचनाले तिहारको समयमा साथीसङ्गीसँग देउसीभैलो खेल्न नपाएको त ८ वर्ष भइसकेको छ  । सुलोचनाको परिवारमा ४ दिदीबहिनीको एक जना मात्रै भाइ । उनी परिवारको कान्छी छोरी मात्र नभएर अस्पतालको एक जिम्मेवार कर्मचारी पनि हुन् । 

सुलोचना ग्रिनसिटी अस्पतालको आकस्मिक कक्षको इन्चार्ज हुन् । 

इन्चार्ज भएको नाताले पनि चार्डपर्वमा बिदा मिलाउने जिम्मा उनकै हातमा हुन्छ । तर सँगैका अन्य साथीहरूले इन्चार्ज भएको नाताले पर्व आउनुभन्दा १५ दिन पहिलादेखि नै मलाई बिदा चाहिन्छ भनेर

अनुरोध गरिरहेका हुन्छन् । अरूको कुरा काट्न नसकेर उनी आफै अस्पतालमा डियुटी बस्छिन् अनि अन्य साथीहरूलाई घर पठाउँछिन् । 

उनले ग्रिनसिटी हस्पिटलको आकस्मिक कक्षमा काम गर्न थालेको ५ वर्ष पुगिसकेको छ । उनलाई लाग्छ, चार्डपर्वभन्दा पनि काम ठूलो रैछ । उनलाई नर्सको जिम्मेवारी काँधमा आएदेखि अहिलेसम्म दसैंतिहार लागेको छैन । 

उमेरले २४ लागिन् । सुरुमा सुलोचनालाई यति छिटै आफ्नो कामले अरूको मन जित्न सक्ला भन्ने लागेकै पनि थिएन । 

पर्वको समयमा रमाइलो गर्न र नाच्न निकै मन पराउने सुलोचना नर्स अध्ययन गर्न सुरु गरेदेखि नै देउसीभैलो खेल्न नपाएको बताउँछिन् । 

उनी सम्झन्छिन्, ‘त्यो समयमा देउसीभैलो खेलेको पैसाले नयाँ कपडा किन्ने अनि केही आफ्नै लागि खर्च राख्ने गरिन्थ्यो ।’ तर अहिले सुलोचनालाई पैसाको अभाव छैन । समयको मात्रै अभाव छ ।

सुलोचना भन्छिन्, ‘२४ वर्षको उमेर खासै परिपक्व त होइन तर मलाई समय र जिम्मेवारीले परिपक्व बनायो । म आकस्मिक कक्षको प्रमुख भए पनि मैले आफूभन्दा ठूला व्यक्तिलाई अराई –पराई गर्नुपर्छ ।

सबै कामको जिम्मेवारी आफैले लिनुपर्छ’, उनी थप्छिन्, ‘स्वास्थ्य क्षेत्रमा लागेपछि दसंै, तिहार केही पनि भन्ने नपाइने रैछ । अरू समयमा काममा व्यस्त भए पनि दसैं तिहारले म स्वास्थ्य क्षेत्रमा लागेको मान्छे हुँ । मैले यही क्षेत्रमा खुशी हुनुपर्छ भन्ने याद दिलाउँदो रैछ ।’
  
उनी आफ्नो इच्छाले यो क्षेत्र रोजेकी हुन् । उनलाई सानैदेखि नर्स, डाक्टरले लगाउने सेतो ड्रेस निकै मनपथ्र्याे । त्यसबेला आफूले पनि भविष्यमा यस्तै बन्ने प्रण गरेको उनी स्मरण गर्छिन् ।

परिवारसँगै बसेर टीका लगाउन नपाउँदा खल्लो भए पनि अस्पतालमा दुर्घटनाको बिरामीको उपचार गरेर सामान्य जीवनमा फर्काउन पाउँदा भने उनलाई आनन्द हुदोरहेछ । ‘पर्वभन्दा पनि कसैको जीवन बचाउँन पाउँदा खुशी लाग्छ’, उनले सुनाइन् ।

अस्पतालको आकस्मिक कक्षमा फरकफरक प्रकारको बिरामीहरू आउने गर्छन् । मुख्यतः ग्रिनसिटीको आकस्मिक कक्षमा दुर्घटनाको बढी बिरामीहरू आउने गरेको उनको अनुभव छ । त्यसरी आउने सबै बिरामीको समस्यालाई बुझेर उपचारमा लाग्ने  सुलोचनाको बानी छ ।

 ‘अस्पताल भनेको यस्तो ठाउँ हो, जहाँ मान्छे समस्या परेपछि मात्रै आउँछन् । आतिँदै भौँतारिँदै आफ्नो जीवन कसरी बचाउँने भन्दै आएका मान्छेलाई उपचार गर्नु र सामान्य जीवनमा फर्काउने अस्पताको दायित्व हो । त्यसमा पनि ड्युटीमा खटेका कर्मचारीले छिटोभन्दा छिटो उपचार गर्नुपर्छ । धेरै पीडामा आएका बिरामी केही समयपछि सामान्य जीवनमा फर्कन्छन्’, सुलोचनाको अनुभव छ । 

त्यसो त आकस्मिक कक्षमा आउने बिरामी अनेक प्रकारका हुन्छन् । उनीहरू सबै आफ्नो बिरामीको तत्काल उपचार होस् भन्ने चाहान्छन् । ‘आकस्मिक कक्षमा बिरामीहरु आत्तिँदै र आक्रोसित हुँदै आउँछन्, ठूलो स्वरमा बोल्ने, गाली गर्ने गर्छन् तर म नम्र हुन्छु’, उनले आफ्नो स्वभाव सुनाइन् ।

अन्तिममा सुलोचनाको सरकारलाई अनुरोध पनि छ । ‘हामी यसरी दिनरात, चाडपर्व नभनी सेवामा खट्ने नर्सको मासिक तलब कति हो ? सरकारले भन्नुपर्छ ।’ 

उनका अनुसार सरकारले नर्सहरुले तलब स्पष्ट नपार्दा निजी अस्पतालहरुले आफ्नै तरिकाले  सेवासुविधा दिँदै आएका छन् । ‘हामीले हजाराैं मान्छेको पीडामा मलम लगाउने काम गरेका छौँ तर हाम्रो पीडा कसले बुझ्ने ? 

ड्युटी हुँदा अहिलेसम्म समयमा खाना खान पाइन्न । झन आकस्मिक कक्षमा काम गर्नेले त कैयाँै पटक खाना नखाई नै काम गर्नुपर्छ ।

 यसरी सेवा दिने नर्सको पीडा नर्सिङ सङ्घ र सरकारले बुझ्न जरुरी छ । सरकारी तथा गैरसरकारी हस्पिटलले पनि सरकारको निणर्य मान्नु पर्छ’, उनको सुझाव छ ।   
 

अञ्जु तामाङ

अञ्जु तामाङ रातोपाटीका लागि  स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन् ।   

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ