बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँमा कहिलेदेखि मनाउन थालियो छठ ?

आइतबार, २५ कात्तिक २०७५, १२ : ३७
आइतबार, २५ कात्तिक २०७५

काठमाडौँ – तिहारको समाप्तिसँगै छठको तयारी सुरु भएको छ । 

तराई मधेशमा मात्र होइन, काठमाडाैंमा पनि यसको व्यापक तयारी सुरु भएको छ । 

काठमाडौँमा बस्ने ९० प्रतिशत मधेशीले यहीँ छठ मनाउन थालेका छन् । 

भाषाविज्ञ एवम् प्रध्यापक डा. योगेन्द्र यादवले यस पटक काठमाडौँमै छठ मनाउने भएका छन् । 

उनको घरमा छठ हुँदैन तैपनि उनी घर जान्थे तर यस पटक काठमाडौँमै बस्ने उनको योजना छ । 

उनी भन्छन्, ‘मेरो छठ हुँदैन तर मेरो भाइको हुन्छ । त्यहाँ गएर मनाउँछु । अब काठमाडौँमा पनि तराई मधेशमा जस्तै छठ हुन थालेको छ । 

त्यही भएर यतै मनाउने योजना बनेको छ । डा. यादव मात्र होइन, थुप्रै यस्ता व्यक्तिहरू छन्, जो छठमा घर जान छाडेका छन् ।

पत्रकार अनन्त अनुराग काठमाडौँ बसेको १५ वर्ष भयो । तर उनी त्यसैबेलादेखि छठमा कहिल्यै घर गएका छैनन् ।

 उनको घरमा पनि छठ हुँदैन तर उनी काठमाडौँमा छठ राम्रोसँग मनाउँछन् । 

रानीपोखरीमा छठको सुरुवात गर्दा उनी त्यसमा सक्रियपूर्वक लागेका थिए । उनी भन्छन्, ‘छठ पर्वमा तराई मधेशको झल्झको काठमाडौले पनि दिन थालेपछि अब घर जाने मन नै हुँदैन, यहीँ रमाइलो हुन्छ ।’
डाक्टर शरद यादवको पनि धारणा त्यही छ । उनले दशैं घर (सप्तरी) मै मनाए पनि छठ काठमाडौँमै मनाउने सोच बनाएका छन् । 

अब काठमाडौँमा पनि रमाइलो र धुमधामका साथ छठ मनाउने भएका कारणले पनि यही राम्रो लाग्न थालेको यादव बताउँछन् । 

उनीहरूजस्तै थुप्रै मधेशी काठमाडौँकै छठमा रमाउन थालेका छन् । छठ र तिहारमा लामो बिदामा घर बसेको र छठमा लामो बिदा नभएका कारणले पनि कतिपय मधेशीहरू घर जाँदैनन् ।

काठमाडौँमा कहिलेदेखि छठ ?
काठमाडौँमा २०४५ सालदेखि नै संस्थागत रूपमा छठ मनाउन थालिएको हो । 

नेपाल सरकारका पूर्वसचिव योद्धा साहको अगुवाइमा थापाथालीको वागमती पुलमुनि छठ मनाउन सुरु भएको पर्सा मिलन केन्द्रका ललनप्रसाद साह बताउँछन् । 

सुरुसुरुमा पाँच सात घरका मान्छे मात्र छठ मनाउन आउँथे । छठ पर्व मनाउने सङ्ख्या विस्तारै बढ्दै गएपछि अहिले काठमाडाँैका कुनै पनि जलाशय बाँकी छैनन्, जहाँ छठ नमनाइएको होस् । यहाँसम्म कि अहिल चैती छठ पनि धुमधामका साथ काठमाडौँ उपत्यकामा मनाउन थालेका छन् । 

छठपूजा समिति राजतिथि सानेपाका प्रतिनिधि राकेश मेहता भन्छन्, राममन्दिर नजिक आफैले पोखरी खनेर छठ मनाउँदा १२५ भन्दा बढी घरपरिवारबाट व्रतालु आउने गरेका छन् । दर्शन गर्ने दर्शालुहरू त हजारौँको सङ्ख्यामा हुन्छन् ।

यो त एकठाउँको आँकडा मात्र हो । काठमाडौँ उपत्यकामा यस्ता थुप्रै ठाउँ छन्, जहाँ हजारौँको सङ्ख्यामा मधेशी व्रतालुहरू छठ मनाउन जान्छन् । 

दशैंतिहारमा काठमाडौँ सुनसान भएजस्तै छठमा मधेशीहरू पनि काठमाडौँ छाडेर गाउँ जान्थे । तर अहिले ९० प्रतिशत मधेशीहरू काठमाडौँ उपत्यकामा छठ मनाउन थालेका छन् । 
काठमाडौँमा मधेशीको सङ्ख्या कसरी बढिरहेको छ, त्यसको अनुमान यो आँकडाबाट लगाउन सकिन्छ । 

बोलवम कमिरिया सङ्घले २०५१ सालमा सुन्दरी जलबाट पशुपतिमा जल चढाउन सुुरु गरेपछि ११ जना मात्र सहभागी थिए । २०५२ सालमा २५ जना पुग्यो भने ०५३ सालमा पाँच हजार, ०५४ सालमा ११ हजार, ०५५ सालमा ३० हजार हुँदै अहिले डेढ लाख जनाको सहभागिता हुन थालेका छन् । 

छठको तयारीमा लागेका बोलबम कमरिया सङ्घका अध्यक्ष रामयज्ञा रौनियारले भने, ‘छठमा मधेशीहरूको यतिको उपस्थिति बढ्छ भने मैले कल्पना नै गरेको थिइनँ । पहिला बोलाई बोलाई ल्याउनु पथ्र्यो तर अहिले काठमाडौँमा बस्ने ९० प्रतिशत मधेशीले छठ मनाउन थालेका छन् ।’ 

कमरिया सङ्घको काठमाडौँ उपत्यकाको भक्तपुर, सल्लाघारी, कोटेश्वर, लगनखेल, सातदोबाटो, सानेपा, सुन्दरीजल, जोरपाटी, चावेल, कपन, बसुन्धारा, महाराजगञ्ज, बलाजु, नयाँ बसपार्क, शम्भु, खुशिवु टाउन प्लानिङ, असन, कालिमाटी, ताहचल, डल्लु, कुलेश्वर, कलङ्की, थानकोट लगायतका ठाउँमा ३८ जना क्षेत्रीय अध्यक्षहरू छन् । 

ती सबै अध्यक्षहरूले आआफ्नो क्षेत्रमा छठ पूजाको व्यवस्थापनमा लागेका छन् । काठमाडौँमा छठ पूजा गराउने काममा सुरुदेखि लागेका आनन्द गुप्ताले रानीपोखरीमा छठ मनाउन नदिएकोमा चित्त दुखाएका छन् । 

उनी भन्छन्, ‘रानीपोखरी सबैको धरोहर हो, यसको जति प्रचार हुन्छ, त्यति नै राम्रो । छठ पर्वले पनि रानीपोखरीलाई धेरै हदसम्म चिनाएको हो तर सरकारले त्यहाँ मनाउन दिइरहेको छैन । त्यहाँ मनाउन दियो भने हामी पानी राखेर पनि मनाउँछौँ ।’

रानीपोखरीमा छठ मनाउन नदिएपछि त्यहाँका व्रतालुहरू गहना पोखरीमा सरेका छन् । दुई वर्षदेखि गहना पोखरीमा मनाउन थालेका छन् । तर रानी पोखरी जस्तो रौनक त्यहाँ हुँदैन भन्छन्, गुप्ता । 

सङ्घका अध्यक्ष रामअज्ञाका अनुसार अहिले छठका लागि टकेश्वर मन्दिर, कमलापेखरी, कलङ्की, गौरीघाटलगायतको ठाउँमा तयारी सुरु भएको छ । सरसफाइ गर्नुको साथै घाटहरू बनाउने काम सुरु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप