बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो महिला टेम्पो ड्राइभरको कथा : बटन लेडीदेखि सफल उद्यमीसम्म

आइतबार, २५ कात्तिक २०७५, १२ : ४३
आइतबार, २५ कात्तिक २०७५

मान्छेको आत्मबल जितबाट मात्र आउँछ भन्ने होइन । जब सङ्घर्ष गरिँदै गइन्छ नि त्यसपछि मानिसको आत्मबल पनि निखारिँदै जान्छ । कठिन परिस्थिति आयो भन्दैमा आत्मसमर्पण नै समस्याको समाधान बन्न सक्तैन भन्ने पाठ लक्ष्मी शर्माले सिकेकी छिन् । 

कठिन परिस्थितिसँग सङ्घर्ष गर्ने हिम्मत लक्ष्मीसँग हुँदैनथ्यो भने आज हामीले कुरा गरिरहेकी लक्ष्मी शर्मा बन्ने थिइनन् ।  

जब सङ्घर्ष गर्ने हिम्मत राखिन्छ नि त्यतिबेला देखिन्छ मान्छेको स्ट्रेन्थ । हरेक समस्यामा जोगाइराखेको उनको स्ट्रेन्थले आज उनी उद्योगी व्यवसायीसमेत बन्न सकेकी छिन् । 

उनका जीवनमा कैयौँ कठिन परिस्थिति आए, बाटोहरू सबै सीधा भएनन् । ऋण गरेर किनेको टेम्पो गुण्डाहरूले फुडाइदिए । कूटनीतिज्ञको घरमा काम गर्न बस्दा आफ्ना छोरी गम्भीर बिरामी हुँदा २ घण्टाको छुट्टीसमेत मालिकले दिएनन् । १३ वर्षको उमेरमा गरेको विवाहले पनि सफलता पाएन, पसल गरेर बस्दा बिक्रि गरेको सामानको पैसा माग्दा ग्राहकहरूको नै कुटाइसमेत खानुपर्यो । जुन पेसा समात्यो त्यही पेसामा अपमान सहनुपर्ने । कैयौँ मोडहरू उनका लागि कहालीलाग्दा मोड बने तर पनि उनीभित्रको स्ट्रेन्थ अझै जीवित रह्यो । 

त्यही साहसको प्रतिफल हुनुपर्छ उनका कोठाभरी देखिएका उनका नामका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू । केठामा देखिन्थे दुर्लभ किताब, हाड तथा काठका कलात्मक हेन्डिक्राफ्ट ।  

त्यसैले त आज उनी इतिहासको पानामा पहिलो महिला टेम्पो ड्राइभरको नामले पनि सुरक्षित छिन् । उनलाई दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राइभर भनेर चिन्छन् भने उनको अर्को उपमा बटन लेडी पनि हो । यस्तै उनलाई सफल महिला उद्यमीसमेत भन्ने गरिन्छ । जसले जुन रूपमा चिने पनि उनी त्यही लक्ष्मी शर्मा हुन् ।

उमेरले ६९ वर्ष टेक्यो तर उनको हिम्मत र लगावमा अझै पनि कतै बुढ्यौलीको छनक देखिँदैन । विगतका हरेक पलको स्मरण गर्दा उनका आँखामा आँशु छचल्किन थाल्छन् । हामीसँग कुरा गर्दा उनको आँखामा आँशु बगिरह्यो तर पनि विगतका सङ्घर्षका कथा सुनाइरहिन् ।

६ वर्षको उमेरदेखि राजपरिवारको सुसारे
६ वर्षको कलिलो उमेर काम के हो, कस्तो कामले कस्तो प्रतिफल दिन्छ थाहा थिएन । बालमष्तिष्क जहाँ खोलौना, भाँडाकुटी मात्र दिमागमा झल्झली याद आउँथ्यो । त्यही उमेरमा उनलाई समाजले राजपरिवारमा घरेलु कामदारका रूपमा पठायो । ६ वर्षकै उमेरमा उनको परिचय बदलियो एउटा घरेलु कामदारका रूपमा । 

उनले ६ वर्षको उमेरदेखि ११ वर्षसम्म राजा त्रिभुवनकी कान्छी बहिनी बुनु महारानीको घरमा सुसारे भएर काम गरिन् । त्यो क्षण सम्झँदै उनी भन्छिन्, ‘मलाई केही थाहा थिएन, राज परिवारको घरमा किन लगियो ? तर पछि थाहा भयो त्यतिबेला राजपरिवारमा १०, ११ जना कन्याको माग भएको रहेछ । कामदार राख्दा ज्योतिषलाई हेराएर मात्र राख्ने राजपरिवारको संस्कारले गर्दा मलाई पनि त्यहाँको कामदार बन्न योग्य ठहरिएपछि बुनु महारानीको घरमा पठाएछन् । 

म बिहानै उठेर पूजाको कोठा सफा गर्ने, फूल टिपेर माला बनाउने, भगवानका मूर्तिहरूलाई नुहाइ धुहाइ गरेर कपडा फेरिदिने काम गर्थें । म काम गरिरहेको छैन, मूर्तिहरूसँग खेलिरहेको जस्तो अनुभव पनि हुन्थ्यो । हरेक दिन प्रवचन सुनाइन्थ्यो । राजपरिवारमा काम गरेकाले मैले कसरी बोल्ने, कसरी खाने, कसरी बस्ने भन्ने संस्कार सिकेँ । राजपरिवारले छोरी मान्छेलाई लक्ष्मीको अवतार मानेर सम्मान गथ्र्यो । मैले पनि त्यस बखत निकै राम्रो संस्कार पाएँ’ । 

उनलाई याद थिएन, राजपरिवारमा सुसारेको रूपमा कसले पुर्याइदियो भनेर । तर हरेक गतिविधिमा सभ्यताको माग हुने दरबारले उनलाई सभ्यता र संस्कार भने पक्कै पनि सिकायो । 

उनी ११ वर्ष हुँदा बुनु महारनीको देहावसान भयो । उनको काम पनि त्यहीँबाट सकियो र उनीसँगै धेरै कामदारलाई त्यहाँबाट निकालियो । घर फर्केर फेरि डोको, नाम्लो, कुटो, कोदालो गर्न थालिन् । त्यसपछि उनी २ वर्ष आमासँग बसिन् र १३ वर्ष भएपछि विवाह गरेर पठाइदिए । 

ऋण गरेर किनेको टेम्पो गुण्डाहरूले फुटाइदिए
विवाह भएर तीनवटा सन्तान जन्मेपछि श्रीमानले अर्को श्रीमती ल्याएको थाहा भायो । श्रीमानसँग अर्की श्रीमती हुँदाहुँदै त्यही श्रीमानसँग बसिरहनु उचित नठानेपछि उनले श्रीमानको घर छोडेर तीनवटा सन्तानसहित माइतीमा बस्न थालिन् । उनीलाई  आम्दानी नभएपछि छोरीहरूलाई कसरी पढाउने, खान लगाउन के दिने भन्ने पीरले सताउन थाल्यो । उनको दिमागमा आइहाल्यो टेम्पो किनेर चलाए राम्रै आम्दानी गर्न सकिन्छ । तर सोचले मात्र टेम्पो किन्न सकिँदैनथ्यो साथमा एक रूपैयाँ पैसा थिएन । उनले साइँलीआमासँग १० हजार ऋण लिएर पुरानो  टेम्पो किनेर चलाउन थालिन् । पछि उनले अरू टेम्पो पनि थपिन् र कमाइ राम्रै हुन थाल्यो । महिलाका लागि मात्र भनेर उनले छुट्टै टेम्पोको व्यवस्था गर्न खोज्दा गुण्डाहरूले महिलाहरूका लागि मात्र राख्छेस्, हामीलाई चाहिँ छैन भन्दै टेम्पो फुटाइदिए । 

अरू मानिसहरू टेम्पो फुटाइदिएको रमिते बनेर हेरिरहे । कसैले यस्तो नगरसमेत भनेर ती गुण्डाहरूलाई रोकेनन् । त्यही बेलादेखि उनलाई समाजसँग वितृष्णा जाग्यो । 

टेम्पो चलाएर हिँड्दा पुरुषहरूले कुदृष्टि लगाउँथे । झ्यालबाट कपाल तान्ने मसँग बिहे गर्छेस भन्दै जिस्क्याउने र कतिले त भाडै नतिरी उल्टै गाली गरेरसमेत हिँड्थे । कैयौँ अप्ठ्याराका बाबजुत पनि टेम्पो चलाउँन छोडिनन् तर पछि आफ्ना छोरीहरूलाई टेम्पो ड्राइभरकी छोरी भनेर हेप्न थालेपछि उनले टेम्पो चलाउन छोडिन ताकि छोरीहरू आफ्नै कारणले अपमानमा पर्न नपरोस् भनेर । 

पसलको सामान बेचेर पैसा माग्दा कुटेर मुख फुटाइदिए 

टेम्पो चलाउन छोडेपछि उनले नर्सिङ चोक ठमेलमा पसल गरेर बस्न थालिन्  । हरेक पेसामा ठक्कर खाएकी उनलाई फेरि पनि त्यो पेसा उचित भएन । समान सबै उधारोमा मात्र बिक्ने पैसा उठाउन निकै कष्ट गर्नुपर्ने अवस्था आयो । उनलाई पैसा उठाउँन जाँदा अर्को जमातले  कुटेर घाइते बनाइदिए ।  नराम्रोसँग उनको ओठ फुटाइदिए । टाँका लगाएको आफ्नो ओठ देखाउँदै भावुक हुँदै लक्ष्मीले भनिन्, ‘दुःख मेरो साथी रहेछ जस्तो लाग्न थाल्यो । सङ्घर्ष नै मेरो जीवन रहेछ जस्तो लाग्यो । भगवानले धर्तीमा पठाएको यही दिन देख्न र भोग्न रहेछ । सुख र खुसीहरू सबै विरानो भएको धेरै भएछ जस्तो लाग्यो । अब त हरेक सङ्घर्षहरू मेरा साथीजस्ता लाग्न थालिसके ।’

लक्ष्मी उड क्र्याफ्टमा जम्न थालिन 
एक दिन उनीसहित अन्य केहीलाई भारतको उड क्र्याफ्टमा एउटा एनजीओले भ्रमण गर्न लगेछ । उनलाई एनजीओको नाम त थाहा थिएन तर त्यही मार्फत उनले भारतमा ६ महिने अब्जरभेसन कोर्स लिइन् । त्यहाँको देखेर आएपछि उनलाई पनि फ्याँकिएका जनावरका हड्डी र छालाको सदुपयोग गरेर केही बनाउन मन लाग्यो र सुरु गरिन् २०४३ सालमा ह्यान्डि क्राफ्ट उद्योग । ७०, ८० हजार रूपैयाँ लगानीमा आफ्नै नामको उद्योग खोलिन् लक्ष्मी उड क्राफ्ट भनेर । उनले टेम्पो बेचेको पैसा त्यही उद्योगमा लगानी गरिन् । व्यवसाय राम्रै चल्यो । विदेशमा समेत बटन र हेन्डिक्र्याफ्टहरू  निर्यात गर्न सक्ने भए । त्यतिबेला ३ सय ७५ जनासम्मले लक्ष्मीको उद्योगमा काम पाए । उनी सफल उद्यमीको रूपमा चिनिन थालिन् । बल्ल पाउन थालिन उनले विगतका सङ्घर्षका मीठा मीठा प्रतिफलहरू । उनको उद्योगमा सबैभन्दा चलेको भनेको कपडामा लगाउने बटन हो । यसकारण पनि उनलाई बटन लेडी भनेर चिन्न थालिएको हो । लक्ष्मी उड क्र्याफ्टमा बन्ने सामान काठ, राँगा, बाख्रा, भेडा, घरपालुवा जनावरका हाड तथा सिङबाट बन्छन् । एक जमानामा उनका उद्योगमा ७, ८ हजार डिजाइनसम्मका बटम बने । ती धेरैजसो जापान, अमेरिका, अस्ट्रेलिया, जर्मन लगायतका मुलुकमा निर्यात हुन्थे । 

तर, अहिले उनको कम्पनीमा त्यो उत्साह छैन ।  उनले भनिन्, ‘मेरो उद्योगलाई राजनीतिले खायो । ट्रेड युनियनले सखाप पार्यो । कम्पनीमा आन्तरिक मुद्दा पर्यो । ग्राहकहरू भड्किए । माओवादीले उद्योग तोडफोड गरिदिए ।’

अहिले उनको उद्योगमा बटनहरू मात्र छन् । कामदारहरू मुस्किलले ५० जना पनि छैनन् । अब उनी त्यो उद्योगलाई म्युजियम  र लाइब्रेरी बनाउने योजनामा छिन् । दुई वर्षभित्र आफ्नो योजना सफल हुनेमा ढुक्क छिन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप