शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपाल प्रत्यारोपण र यसको साइड इफेक्ट

सोमबार, २६ कात्तिक २०७५, १० : २१
सोमबार, २६ कात्तिक २०७५

वरिष्ठ छाला तथा सौन्दर्य विशेषज्ञ  प्रोफेसर डा. धर्मेन्द्र कर्णसँग गरिएको कुराकानीः

तपाईं कपाल रोप्ने डाक्टरका रूपमा परिचित हुनुहुन्छ । वास्तवमा कपाल प्रत्यारोपण के हो ?

कपाल प्रत्यारोपण भनेको आफ्नै शरीरको कुनै भागको कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्ने प्रक्रिया हो । जस्तोः टाउकोको पछाडिको भाग, साइडको भाग, दाह्री अनि छातीको कपाल; जुन कहिल्यै झर्दैन, यस्ता स्थानका कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्नु नै कपाल प्रत्यारोपण हो ।

‘जसरी एउटा बिरुवालाई उखालेर अर्को खाली स्थानमा रोपिन्छ र त्यो बिरुवा विस्तारै ठूलो हुँदै जान्छ । उक्त बिरुवालाई काँटछाँट अनि स्याहार सुसार गर्दै गइयो भने राम्रो हुन्छ ।’ त्यही प्रक्रिया हो कपालको पनि ।

निधार र तालुको कपाल धेरै झर्छ । यो हर्मोनल डिफेक्टले गर्दा हुने हो । कपाल प्रत्यारोपण गर्न चाहने व्यक्तिमा कुनै पनि प्रकारको रोग छैन र ऊ स्वस्थ्य अवस्थामा छ भने तुरुन्तै प्रत्यारोपण गर्न सकिन्छ । लडेर, पोलेर वा दुर्घटनाबाट कुनै खत बसेको छ भने पनि त्यस्तो ठाउँमा कपाल रोप्न सकिन्छ । आइब्रो पातला भएका महिलाहरूले आइब्रोमा कपाल प्रत्यारोपण गर्न सक्छन् ।

धेरैजसोमा तालुपना देखिन्छ यो के कारणले हुन्छ ?
तालुपना कुनै रोग होइन । विश्वमा ५० देखि ६० प्रतिशत पुरुषमा तालुपना हुन्छ । त्यसैगरी १० देखि २० प्रतिशत महिलामा पनि तालुपना हुन्छ । यो वंशाणुगत हुन्छ । यस्तोमा कपाल रोप्न मिल्छ । महिलाहरूले पनि कपाल प्रत्यारोपण गर्न सक्छन् । 

कपाल प्रत्यारोपणपछि यसको साइड इफेक्ट छ कि छैन र यो के स्थायी हुन्छ ?
कपाल प्रत्यारोपण दुई प्रकारको हुन्छ । एक आफ्नै शरीरको कपाल रोप्ने र अर्को फाइबरको प्रयोग । फाइबर एक आर्टिफिसियल कपाल भएकाले त्यति राम्रो मानिदैन । त्यसैले म यो रिफर पनि गर्दिनँ । कपाल प्रत्यारोपण गर्दा आफ्नै शरीरको कहिल्यै नझर्ने कपाललाई निकालेर रोपिने भएकाले यसको कुनै साइड इफेक्ट हुँदैन । रोपेको कपाल विल्कुलै ओरिजिनल कपाल हो । मजाले आफूलाई मन पर्ने साइजमा काँट छाट गर्न सकिन्छ । कपाल र शरीर स्वस्थ्य छ भने यो लाइफ टाइम रहन्छ । 

कपाल प्रत्यारोपण गर्न कुन उमेरका व्यक्ति बढी आउँछन् ? यसका लागि कुनै निश्चित उमेर हुन्छ ?
हुँदैन, यो जुनसुकै उमेर समूहका व्यक्तिले पनि रोप्न सक्छन् । २० वर्षका युवादेखि ७० वर्षसम्मका व्यक्तिलाई मैले कपाल रोपेको छु । विशेष गरेर ३० देखि ४० वर्षका व्यक्तिहरू बढी आउँछन् । यो उमेरका व्यक्तिहरू प्रोफेसनल्ली एक्टिभ हुन्छन् र उनीहरूलाई स्मार्ट लुकको जरुरी पनि हुन्छ । यो उमेरका व्यक्तिमा धेरै नै कपाल झर्ने समस्या पनि हुन्छ । अझ पब्लिक रिलेसनमा रहने व्यक्तिहरू कपाल प्रत्यारोपण गर्न धेरै आउँछन् । कति रिटायर्ड लाइफ विताइरहेका मानिस आफूलाई स्मार्ट, फुर्तिलो अनि स्वस्थ्य देखिनका लागि कपाल रोप्न आउँने गर्छन् । 

कपाल प्रत्यारोपण गर्ने प्रकृया कस्तो हुन्छ ?

कपाल प्रत्यारेपण गर्नुपूर्व कपाल झरेको कारण पत्ता लगाउन अहिले कपालको अल्ट्रासाउन्ड गरिन्छ । अल्ट्रा साउन्डबाट कपालको जरासम्म हेरेर समस्याको खोजी गरिन्छ । कपाल प्रत्यारोपणका लागि तयार गरिन्छ । 

कपाल प्रत्यारोपण गर्ने दुई तरिका हुन्छ । एक छाला काटेर गरिने (एफयूटी फोलिकुलर युनिट ट्रान्सप्लान्ट) र अर्को मेसिनबाट गरिने (एफयूई फोलिकुलर युनिट एक्सट्राक्सन) । 

मेसिनबाट ट्रान्सप्लान्ट गर्दा खत बस्दैन तर छाला काटेर गर्दा खत बस्ने हुन्छ । त्यसैले पनि मेसिनबाट गरिने ट्रान्सप्लान्ट बढी चलनमा छ । ट्रान्सप्लान्टका लागि सबै शारीरिक चेकजाँच गरिन्छ । यदि कुनै समस्या आएमा उक्त समस्या सामान्य अवस्थामा नआएसम्म कपाल रोप्नु हुँदैन तर कुनै समस्या छैन भने ट्रान्सप्लान्ट गर्न सकिन्छ । ट्रान्सप्लान्टको समयमा पनि कुनै समस्या आउन नदिन अन्य डाक्टरहरूसँग पनि सरसल्लाह गरी तयार गरिन्छ । हेयर ट्रान्सप्लान्टपछि २–३ दिनबाटै सामान्य अवस्थामा फर्कन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप