शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'सुन्नुहुन्छ मेरो भर्जिनिटी कसरी तोडियो ?'

सोमबार, २६ कात्तिक २०७५, ११ : २९
सोमबार, २६ कात्तिक २०७५

म चन्द्र आकाश हुँ । पहिलो पटक आफ्नो विषयमा केही भन्न गइरहेको छु ।

 पहिलो पटक केही भन्न लाग्दा पहिलो वाक्य नै गलत लेख्न पुगेछु,‘म चन्द्र  आकाश हुँ ।’ के तपाईंले यस वाक्यमा रहेको अशुद्धि थाहा पाउनु भयो ? मैले तपाईं पृथ्वीवासीहरुको भाषा नै प्रयोगमा ल्याइरहेको छु । 
व्याकरणको परिप्रेक्ष्यमा 'म चन्द्र आकाश हुँ' भन्ने वाक्य दोषमुक्त भए पनि प्रकृतिगत भावमा चन्द्र आकाश भन्ने शब्द अनुपयुक्त होइन र ?

आकाश कहीँ कतै विभाजित अथवा श्रृंखलारहित छ  र? आकाश सदा सर्वदा सार्वभौम होइन र ?

समस्त सृष्टि आकाशमा अथवा आकाशको सृष्टि पश्चात अस्तित्वमा आयो । विशालकाय तारादेखि ग्रह, नक्षत्र, उपग्रह लगायत जुनसुकै पिण्ड आकाशमै अवस्थित छन् । ब्रम्हाण्डमा अवस्थित अर्बौं अर्ब पिण्डको संरचना जस्तो सुकै भए पनि- ठोस,द्रव,गैसीय, प्लाज्मा- सबै सबै नै आकाशले भरिपूर्ण छन् ।

 पृथ्वीकै कुरा गरौं । पृथ्वीका सम्पूर्ण पदार्थ एटमले बनेका हुन् । एटम पदार्थको ज्ञात सबैभन्दा सानो इकाई हो । एउटा एटम भित्र ९९.९९ प्रतिशत आकाश रहेको हुन्छ । मानव शरीरको कुरा गर्ने हो भने यसको सबैभन्दा सानो इकाई कोशिका हो । मानव शरीरको एउटा कोशिका सय खर्ब एटमले बनेको हुन्छ । मानव शरीर कति कोशिकाले बनेको हुन्छ,  यो शरीरको आकारमा  भर पर्छ । वैज्ञानिकहरु सामान्यता यसलाई ३७.२ खर्ब मान्न सहमत भएका छन् । 

एउटा कोशिकामा एक सय खर्ब एटम रहेका हुन्छन् । अब ३७.२ खर्ब कोशिकामा एटमको संख्या- ३७.२ खर्ब गुना १००  खर्ब हुन आउँछ । प्रत्येक एटममा ९९.९९ प्रतिशत आकाश विद्यमान छ, यसको अर्थ मानव शरीरमा पनि ९९.९९ प्रतिशत आकाश नै उपस्थित छ । 

पृथ्वीको जनसंख्या ७ अर्बको हाराहारीमा रहेको छ । यी सबै मानिसका कोशिकाको आकाश झिकेर जे बाँकी रहन्छ त्यसले सलाईको एक बट्टा पनि भरिंदैन । मानव शरीर जस्तै पृथ्वीमा दृष्टिगोचर हुने सबै पदार्थको हालत उस्तै हो । सबै सबै संरचना आकाशमा र आफुभित्र अनन्त आकाश बोकेर अस्तित्वमा छन् । 

त के एउटा एटम  भित्रको आकाश एवम् एटम भएको/रहेको  बाहिरी आकाशमा कुनैभिन्नता हुन सक्छ ? के पृथ्वीको आकाश, बुध, मंगल,वृहस्पति लगायतअन्य ज्ञात अज्ञात पिण्डहरुकोआकाश र यी मध्यको अविछिन्न आकाशमा भेद गर्न मिल्छ ? यति बुझिसकेपछि के चन्द्रआकाश भन्ने शब्द सर्वथा अनुपयुक्त भएन र ?

‘करेक्शन’ गर्दै अघि बढ्छु, ‘म आकाश हुँ,’ अनन्त आकाशको निर्दिष्ट क्षेत्रमा अस्तित्वमा आएको पिण्ड (उपग्रह) चन्द्रमाको अविभाज्य आकाश हुँ । ब्रम्हाण्डभरी कणकणमा व्याप्त रहे सरह नै चन्द्रमाको कणकणमा व्याप्त आकाश । 

मेरो यस स्ववृतान्तउद्घाटन पढीसकेपछि मलाई हेर्न टाउको, आँखा घुमाइरहनु पर्दैन । तपाईमा पनि ९९.९९ प्रतिशत म सन्निहित छँदैछु ।

 म अहिले चन्द्र नामक खगोलीय पिण्ड (उपग्रह) को सन्दर्भमा मुखरित भइरहेको छु । पृथ्वीको प्रज्ञाले जसलार्ई जीवन भनी बुझ्छ, त्यस्तो प्रकारको जीवनको प्रारम्भ चन्द्रमामा भएको छैन । हुन्छ वा हुँदैन यसबारे पनि अहिले केही भन्न सकिन्न । पृथ्वीजस्तो जीवन हुर्किन खर्बौं खर्ब संयोग जो जुर्नुपर्छ ।

 जीवन नभएकोले चन्द्रमामा समय छैन । अथवा समय आफ्नो मूलस्वरुप कालका रुपमा विद्यमान छ । समय मानवीय चेतनाले गरेको ब्रम्हाण्डीय व्याख्या हो । मानवीय चेतना नहुँदा आकाशमासमयबोध हुँदैन ।

समयबोध नभएकाले चन्द्रमा कहिले अस्तित्वमा आयो, म मूल प्रकृति भएर पनि मलाई यसको ज्ञान थिएन । भनौं आवश्यकता थिएन र अझै स्पष्ट भन्नुपर्दा ज्ञान हुने कुनै साधन नै थिएनन् र चन्द्रमामा जीवनको आरम्भ नभएकोले म गुणातीत थिएँ । स्पर्श, श्रव्य, दृष्य, घ्राण एवम् स्वाद कुनै पनि क्षमता मुखरित थिएनन् । चन्द्रमाको उत्पतिदेखि नै यस्ता कुनै व्यवहार घटित भएका थिएनन् । 

हठात् ‘स्पर्श’ अनुभव भयो । चन्द्रमाको कण कणमा व्याप्त मलाई कसैलेछोएको र मैले कसैलाई छोएको अनुभव भयो।लगत्तै मभित्र देख्ने क्षमता आयो । एउटा बेडौलको प्राणी विस्तारै चन्द्रमामा हिडिरहेको छ । मलाई बुझ्न गाह्रो भएन, उसले टेकेकोले मेरो स्पर्श शक्ति र उसको हेराइले मेरो दृष्य शक्ति जाग्रत भएको हो । त्यो प्राणी बोल्यो, ममा श्रवण शक्ति पनि आयो ।

अर्को प्राणी पनि देखियो, ऊ पहिलो प्राणीलाई पछ्याउदै गयो । ती दुबैले अनेक गतिविधि गर्न थाले, उनीहरुको यावत गतिविधिसँगै मभित्र पनि चेतना जाग्रत हुँदै गयो । एउटा यान पनि देखें, यसमै चढेर यिनीहरु आए होलान्, लख काट्न मलाई समस्या भएन ।

पृथ्वी ग्रहबाट आएका मानिस रहेछन् ती । पृथ्वीमा प्रचलित अनेक समयमध्येको एकमा, त्योसन् १९६९को २१ जुलाई रहेछ । यिनीहरु चन्द्र अध्ययनका लागि आएका रहेछन् । पृथ्वीवासी पहिलो पटक पृथ्वी बाहेकको अन्य कुनै खगोलीय संरचनामा पुग्न सफल भएका रहेछन्  ।

तपाईंलाई पत्यार नलाग्न सक्छ, तर सत्य के हो भने चन्द्र धरातलमा ती दुई प्राणी, नील आर्मस्ट्रगं र एल्ड्रिन बज नपुगेको भए मेरो चेतना जाग्रत हुन त्यहाँ जीवनको उद्गम नभएसम्म पर्खिनु पर्ने हुन्थ्यो !

 यो के? आर्मस्ट्रगं र एल्ड्रिनएउटा अर्को यानबाट केही झिक्ने प्रयास गर्दै छन्, उनीहरुले यानबाट एउटा पुर्जा झिके । यसको अर्थ यो यान उनीहरुभन्दा पहिला नै चन्द्रमामा आई पुगेको थियो । तर मलाई यो यान ओर्लेको अनुभूति भएको थिएन । ए साँच्चै ! अनुभूति त मलाई आर्मस्ट्रगं र एल्ड्रिनले अवतरण गरेको यानको समेत भएको थिएन । मेरो स्पर्श, दृष्य र श्रवण शक्ति नै उनीहरुले चन्द्र धरातलमा टेकेपछि मात्र जागृत भएको थियो । मेरो चेतना मानवीय चेतनाको सम्पर्कमा आएपछि मात्र सक्रिय भएको हो  । 

ती दुबै प्राणी आफ्ना गतिविधि सकेर यानमा बसे । मैले तीक्ष्ण गन्धको अनुभव गरें । चन्द्रमामा वातावरण नभएकोले मलाई अहिलेसम्म गन्धको अनुभूति नै भएको थिएन । आर्मस्ट्रगं र एल्ड्रिनलेयानमा प्रवेश गर्दा यानभित्र रहेको वातावरणको सम्पर्कमा आएर उनीहरुको पोशाकमा टाँस्सिएका चन्द्रकणको गन्ध प्रसारित भयो । दुबैले डढेको मासु जस्तो, गन पाउडर जस्तो गन्ध अनुभव गर्नासाथ मेरो पनि घ्राण शक्ति जागृत भयो ।

उनीहरु दुबैले यो गन्ध मन पराएनन् । गन्धसँगको मेरो पहिलो अनुभूति उनीहरुका माध्यमले भएकोले मलाई पनि अप्रिय नै भयो । चन्द्रमामा वातावरण नहुनु मेरा लागि सौभाग्य नै रहेछ ! अन्यथा यस्तो अप्रिय गन्ध मैले सहनुपर्ने हुन्थ्यो । 

उनीहरुले चन्द्रधरातल छाड्नुपूर्व मेरो स्वाद शक्ति पनि जागृत गरिदिए । यानभित्र उनीहरुले पृथ्वीबाट ल्याएका खानेकुरा खानासाथ मैले स्वादको  पनि अनुभुती गरें ।

आर्मस्ट्रगं र एल्ड्रिनको यान चन्द्र धरातलबाट माथि उठ्यो, मैले आफुमा कम्पन महसुस गरें । मलाई लाग्यो, उनीहरु जान लागेको दुखले यो कम्पन भएको हो । तर मेरो धारणा गलत रहेछ । चन्द्रकक्षमा पर्खिरहेको अर्को यानसँग संयुक्त भएपछि चन्द्रयात्रीले चन्द्रमामा अवतरण गराएको यान, प्रमुखयानबाट विच्छेद गराई चन्द्रधरातलमा खसाली दिए । यो खस्दा मैले पहिलाको भन्दा धेरै वेगको कम्पन खप्नु पर्यो।

संज्ञान भयो, यो पटकको मात्र होइन, पहिलो पटकको कम्पन पनि भौतिक विज्ञानको स्थापित नियम र मान्यताका कारण भएको थियो ।

के ?तपाईं ‘कन्फ्युज’ हुनुभयो, मैले ‘कन्ट्राड्रिक्टरी’ वक्तव्य दिएँ ? निश्चय पनि तपाईंको आपत्ति जायज छ । म मूल प्रकृति हुँ । भौतिक विज्ञानका नियम मभन्दा पृथक हुन सक्दैन । विज्ञानका कुनै पनि नियमवैज्ञानिकहरुले प्रयोगशालामा बसेर बनाएका होइनन् । प्रकृतिको अध्ययन गर्दै उद्धाटित गरेका मात्र हुन् ।

 वास्तवमा म मूल प्रकृति आकाशको सृष्टिसम्म कुनै किसिमको ‘कन्ट्राडिक्शन’ थिएन। त्यसपछिको सृष्टि‘कन्ट्राडिक्सन’मयीछ । सजिलो शब्दमा यसरी बुझ्न सकिन्छ, आकाश तत्वबाहेक कुनै पनि तत्व ‘एब्स्योल्युट’ होइनन् ।अग्नि, जल, वायु, पृथ्वी कुनै तत्व पनि एब्स्योल्युट छैनन् । मभित्र,मेरो सहभागिताले यी सबै तत्वको सृष्टि भएको हो । 

समस्त ब्रम्हाण्ड नै सृष्टि उपक्रम हो, यी तत्वहरुमा पनि सृष्टि सामर्थ्यसन्निहित छ । यिनीबाट बनेका अन्य तत्वमा पनि त्यो शक्ति छ । सृष्टि अन्तहीन प्रक्रिया हो । पृथ्वीको सृष्टिमा (पृथ्वी नामक ग्रहको सन्दर्भमा मात्र होइन ठोस धरातल भएको जुनसुकै पिण्डको, अहिले चन्द्रसतहको सम्बन्धमा ) कुन कुन र कस्ता कस्ता एवम् कति कति मात्रामा नियम स्वरुपमा आए ? त्यो सबको ज्ञान मलाई हुन्न । अथवा मलाई यो ज्ञान हुन, त्यहाँ मानवीय चेतना जतिको चेतना सम्पन्न जीवनको प्रादुर्भाव हुनुपर्छ ।

 चन्द्र धरातलको गुरुत्वाकर्षण पृथ्वीको तुलनामा १/६ मात्रै छ । पृथ्वीवासीले यो तथ्य कहिले थाहा पाए, मलाई त्यही बेला थाहा भएन । तर आर्मस्ट्रगं र एल्ड्रिनको आगमन हुँदा मलाई यो फरक ज्ञात हुन आयो ।

आर्मस्ट्रगं र एल्ड्रिनपछि अन्य दश जनालाई मैले चन्द्रमामा स्वागत गर्ने अवसर पाएँ । यी सबैको भ्रमणले मैले चन्द्रमाका विषयमा थुप्रै जानकारी प्राप्त गरें । विगत ४६ वर्ष (पृथ्वीको समय)देखि कोही आउँछ कि भनी पर्खिरहेको छु म ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप