बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा छठ पर्वको रौनक: व्रतालुहरु छठ घाटतर्फ जाने क्रम सुरु (फोटोफिचर)

मङ्गलबार, २७ कात्तिक २०७५, १५ : ३०
मङ्गलबार, २७ कात्तिक २०७५

सिरहा– सिरहामा छठपर्वको आज तेस्रो दिन ब्रतालुहरु साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिन छठघाटतर्फ जाने क्रम सुरु हुन थालेको छ ।  सिरहाका पोखरी तथा जलासयमा व्रतालुहरु पुग्न थालेका छन् । छठ पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरु बोकेर ब्रतालुहरु छठको घाट जाने क्रम शुरु हुन थालेको हो ।

युवाहरु मंगलबार विहानैदेखि केराका बोट, ध्वजा पताका लगाएर घाट सजाउन व्यस्त देखिन्छन् । सिरहाका पोखरी, तलाउ, नदी तथा जलासयहरु अहिले वेहुलीझै सिंगारिएका छन् । चार दिनसम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो मुख्य दिन (षष्ठी) हो ।

आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई रातभर छठ घाटमै जागराम बसेर छठसम्बन्धि विभिन्न गीत संगीत, कथा र कहानी सुनेर, हेरेर भक्तजनहरु रात बिताउने गर्छन् । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न हुने गर्दछ ।

छठ पूजाका लागि ओखल, जाँतो वा ढिकीलाई चोख्याएर गहुँ र चामल कुटान (पिसान गरी त्यसबाट विभिन्न परिकार बनाउने चलन छ ।  सो दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरु विभिन्न भक्ति एवं लोकगीत गाउँदै पोखरी तथा जलाशयसम्म पुग्ने गर्छन् ।

छठका लागि बनाइएका परिकार पोखरी तथा जलासयको किनारमा राख्नुअघि बत्तीले पाँचपटक ढोग्ने चलन छ । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिलेनै तान्त्रिक पद्धतिअनुसार अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि ब्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् ।

यसक्रममा ब्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर, अक्षता र फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन 

जिल्ला प्रहरी कार्यालय सिरहाले छठ पर्वलाई मध्यनजर गर्दै विशेष शुरक्षा सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलका अनुसार तराइको महत्वपूर्ण पर्वलाई लक्षितगरी विशेष सुरक्ष सतर्कता अपनाइएको बताए । उनले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न जिल्ला प्रहरी कार्यालयबाट ८ सय ५० जना प्रहरी खटाइएको जनाएका छन् ।

प्रत्यक छठका घाटहरुमा प्रहरी परिचालन गरिने जनाएको छ । सिरहामा करिव एक सय ५९ स्थानमा छठका घाटहरु रहेकाले ती सवै ठाउँमा प्रहरी परिचालन गरिने जनाएको छ ।

चाड पर्वको वेला महिलामाथि दुव्र्यवहार र लुटपाटको घटना हुसक्ने भन्दै व्यपक मात्रामा प्रहरी परिचान गरिएको जनाइएको छ । सवै घाटहरुमा सादा पोसाकका प्रहरी पनि प्रयाप्त मात्रामा परिचालन गरिएको पनि प्रवक्ता खरेलले जनाए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप