बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण रोकियो, विवाह पञ्चमीमा गृहमन्त्री सिंह आउने

मङ्गलबार, २७ कात्तिक २०७५, १५ : ४२
मङ्गलबार, २७ कात्तिक २०७५

जनकपुर– रामजानकी विवाहपञ्चमी महोत्सवमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने  पक्कापक्की भएपछि गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएका छन् ।

भारतीय गृहमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जानकी मन्दिर औपचारिकरुपमा विवाहपञ्चमीको तयारीमा जुट्ने महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।

छठ पर्व सम्पन्न भएलगत्तै जानकी मन्दिर व्यवस्थापन समितिले प्रदेश नम्बर २ सरकार तथा स्थानीय निकायसँग समन्वय गरी विवाहपञ्चमीको व्यवस्थापन तथा तयारीमा जुट्ने मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले बताए ।

आउदो मंसिर २६ गते हुन लागेको रामजानकी विवापञ्चमीबारे जानकारी गराउँदै उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव दिपावलीका दिन अयोध्या पुगेर मुख्यमन्त्री आदित्यनाथलाई भेटेर निम्तो दिएका थिए ।  विवाहपञ्चमी महोत्सवका लागि दिएको निमन्त्रणा मुख्यमन्त्री योगीले स्वीकार गर्नुभएको उनले बताए ।

सो दिन जन्ती बनेर आफु जनकपुरधाम जाने घोषणा गृहमन्त्री सिंह र मुख्यमन्त्री आदित्यनाथले गरेको वैष्णवले बताए । उत्तराधिकारी महन्त दासले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तथा गृहमन्त्री र मुख्यमन्त्रीको भ्रमणको लागि भारतीय राजदूतावाससँग समेत आग्रह गरेका थिए ।

पुरानो परम्परागत मान्यताअनुसार प्रत्येक वर्ष भारतको अयोध्याबाट साधुसन्त मात्रै जन्ती बनेर जनकपुर आउने गरेका थिए । तर यसपालि भारत सरकारकै मन्त्रीहरु आउने भएकाले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतद्वारानै मन्त्रीको नेतृत्वमा आउन लागेको टोलीलाई स्वागत गराउने गरी तयारी थाल्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप