बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

बुधबार, २८ कात्तिक २०७५, २१ : ३९
बुधबार, २८ कात्तिक २०७५

-रब लिभर 

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ । 

एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ । विश्वका ठूला बजारमा यी फोनको मागमा कमी आएको छ । 

स्मार्टफोनको प्रयोगलाई जीवन्त राख्न चाँडै प्रयोगमा आउन लागेको पाँचौं पुस्ताको तारविहीन नेटवर्क अर्थात् फाइभजीले सहयोग गर्ने अनुमान गरिएको छ । तर कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई अरु कुनै बिल्कुलै भिन्न उपकरणले बिस्थापित गर्ने सम्भावना औंल्याएका छन् । 

फ्युचर टुडे इन्स्टिच्यूटका संस्थापक आमी वेबले प्रविधिको बदलिँदो झुकावसम्बन्धी वार्षिक प्रतिवेदनमा सन् २०१८ ले परम्परागत स्मार्टफोनको अन्त्यको सुरुआत गर्ने उल्लेख गरेका छन् । उनले अबको युगमा यी उपकरणहरु आवाज, सङ्केत र सम्पर्ककै माध्यमबाट चल्नेछन् । 

‘स्मार्टफोनबाट स्मार्ट वेयरेबल्स (लगाउनयोग्य वस्तु) र अदृश्य इन्टरफेसतर्फको रुपान्तरणले भौतिक संसारमा आज हामीले अनुभूत गरिरहेका कुराहरुमा आमूल परिवर्तन ल्याउनेछ । जस्तै, कानमा राखेर सुन्ने वस्तुमा बायोमेट्रिक सेन्सर र स्पिकर रहनेछ, औंठी र ब्रासलेटले चाललाई थाहा पाउनेछ, स्मार्ट ग्लासले सूचनाहरु रेकर्ड गर्ने र देखाउनेछ,’ वेबले लेखेका छन् । 

बजारमा केही रोकावट आए पनि अरु कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई तत्कालै विस्थापन गर्न नसकिने बताएका छन् । 

‘स्मार्टफोनको प्रयोग रोकिन्न, तर यसको आकार र रुपमा परिवर्तन हुन सक्दछ,’ एबीआई रिसर्चसँग आबद्ध विश्लेषक डेभिड म्याकक्वीनले बताए । ‘स्मार्टफोनको बजार अझै केही वर्ष यथावत रहनेछ ।’  

म्याकक्वीनले हालै प्रकाशित एक रिपोर्टमा कमभन्दा कम छोएर चलाउन मिल्ने स्मार्टफोनको माग बढ्दै गएको बताएका छन् । 

उनले यस्ता स्मार्टफोनमा कृत्रिम प्रज्ञा (आर्टिफिसियल इन्टेलिजेन्स) तथा सङ्केतबाटै चल्ने सुविधाको खोजी भइरहेको छ । 

नयाँ स्मार्टफोनमा सुधारिएको बायोमेट्रिक राख्नेतर्फ ध्यान जान थालेको छ, जस्तै अनुहार चिन्ने । साथै मोबाइलका स्क्रिनलाई पट्याउन मिल्ने अर्थात् फोल्ड गर्न मिल्ने बनाउने प्रयत्न भएका छन् । 

एबीआईको अनुसन्धानमा भनिएको छ, गूगल र अमेजनले आगामी पाँच–छ वर्षको अवधिमा स्मार्टफोनमा नवीन प्रविधि भित्र्याउन तथा त्यससँग सम्बन्धित प्रविधिमा सुधार ल्याउनेतर्फ नेतृत्व गर्न सक्नेछन् । नवीन प्रविधिको प्रयोगका क्षेत्रमा यी कम्पनीको क्षमता निकै बढी छ । 

आइडीसी अनुसन्धान कम्पनीका अनुसार, विश्वमा सन् २०१८ मा स्मार्टफोनको बिक्रीमा ०.७ प्रतिशतले कमी आई करिब एक अर्ब ४५ लाख थान मोबाइल बिक्री भएको थियो । आइडीसीले मोबाइलको बजारमा सामान्य सुधार आउने र सन् २०२२ सम्ममा वार्षिक बिक्री करिब एक अर्ब ६४ करोड पुग्ने जनाएको छ । 

‘हाम्रो विचारमा आगामी वर्षहरुमा स्मार्टफोनको बजारमा स्वस्थ वृद्धि हुनेछ, तर बजारको खोजी गर्न तथा प्रतिस्पर्धामा टिक्न निकै चुनौतीपूर्ण हुनेछ,’ आइडीसीका विश्लेषक रायन रेथले बताए । 

संयुक्तराज्य अमेरिकामा ५० वर्षभन्दा कम उमेरका ९१ प्रतिशत वयस्कहरुले स्मार्टफोनको प्रयोग गरिरहेका छन् भने १३ वर्षदेखि १९ वर्ष उमेरका बालबालिकामध्ये ९५ प्रतिशतसँग एउटा फोन छ, पिउ रिसर्च सेन्टरले जनाएको छ । 

युरोपमा सन् २०१७ को अन्त्यसम्ममा करिब ४६ करोड ५० लाखसँग मोबाइल फोन छ । यो कूल जनसंख्याको करिब ८५ प्रतिशत हो । यी मोबाइलमध्ये दुई तिहाई स्मार्टफोन नै रहेका छन् । 

टेकएनालिसिस रिसर्चका संस्थापक बब ओ–डोन्नेलले संयुक्तराज्य अमेरिका र कतिपय विकसित मुलुकमा स्मार्टफोनको बिक्री घटेको बताए । ‘मानिसहरुले क्यारिअरको निर्भरता छाडेर सोझै बजारबाट मोबाइल खरिद गर्न थालेकाले त्यस्ता मोबाइलको प्रयोग उनीहरुले लामो अवधिसम्म गर्न थालेका छन् ।’ 

ओ–डोन्नेलका अनुसार सन् २०१९ मा फाइभजी र फोल्ड गर्न मिल्ने स्क्रिनका कारण मोबाइल बिक्री बढ्न सक्ने बताए । ‘मानिसहरुले केही समयदेखि फोल्ड गर्न मिल्ने स्क्रिनका कुरा गरिरहेका थिए र अर्को वर्ष यस्ता फोन बजारमा आउने सम्भावना बढेको छ ।’  

उनले स्मार्टफोनलाई अझ उन्नत प्रविधियुक्त र स्मार्ट बनाउने होडबाजी चलेकाले रुपान्तरित स्मार्टफोनले बजारमा प्रभाव कायमै राख्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप