शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका नेता–कार्यकर्तालाई नौलो बन्यो पार्टी हेडक्वार्टर !

बिहीबार, २९ कात्तिक २०७५, १० : ४५
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौँ । सबैलाई लाग्न सक्छ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय मुख्यालयमा नेता कार्याकर्ताको चहलपहल बाक्लै होला । तर, अवस्था तपाईंले सोचेभन्दा फरक छ । नेकपाका केन्द्रीय कार्यालय दुई स्थानमा छन् तर देशकै ठूलो दल नेकपाका दुवै पार्टी मुख्यालय अहिले सुनसान छन् । 

सामान्यतया सानादेखि ठूला राजनीतिक दलका केन्द्रीय कार्यालयमा नेता कार्याकर्ताको आवातजावत बाक्लो हुने गर्छ । तर, ठूलो दल नेकपाको पार्टी मुख्यालय धुम्बराही र पेरिसडाँडमा भने ठ्याक्कै उल्टो छ । सरकारको नेतृत्व गरेको नेकपाका दुवै पार्टी मुख्यालय भने सुनसान छन् । पार्टी कार्यालयमा न त नेता पुग्ने गरेका छन् न त कार्यकर्ता नै । 

पार्टी एकतापछि नेकपाले केन्द्रीय पार्टी कार्यालय धुम्बाराही रहने निर्णय गरेको थियो । त्यस्तै पेरिसडाँडा पार्टी कार्यालय जनवर्गीय सङ्गठनका केन्द्रीय कार्यालयहरू, विभाग र अन्य आवश्यक कार्यालयहरू रहने निर्णय गरेको थियो । सोही अनुरूप दुवै पार्टी कार्यालयमा शीर्ष नेताहरूको कार्यकक्ष बनेका छन् ।

तर दुवै पार्टी कार्यालयमा पार्टीका नेता र कार्यकर्ताहरू कमै मात्रामा पुग्ने गर्छन् । तत्कालीन दुई पार्टीबीच एकता भएको पनि झन्डै छ महिना पुगिसकेको छ । अहिलेसम्म नेकपाले आधारभूत तहसम्मका संगठन एकीकरणको काम सम्पन्न गर्न सकेको छैन, जसले गर्दा पार्टी एकता घोषणा समय नेता र कार्यकर्ताहरूमा देखिएको उत्साह निरासामा बदलिएको छ । पार्टी मुख्यालयबाट पार्टीका खास काम हुने गरेका छैनन् । दुवै पार्टी मुख्यालयमा बस्ने कर्मचारीहरू घाम तापेर दिन बिताइरहेका हुन्छन् । 

धुम्बाराही पार्टी कार्यालयमा अन्य नेताको तुलनामा पार्टी महासचिव विष्णु पौडेल भने पुग्ने गर्छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कमै मात्रामा पार्टी कार्यालय पुगे पनि आफ्नो कार्यकक्षमा भने पुगेका छैनन् । कार्यक्रमलाई सम्बोधन गर्न पार्टी कार्यालय पुग्ने गरेका अध्यक्षद्वय कार्यक्रम समापनलगत्तै कार्यक्रम हलबाटै फर्किने गरेका छन् । 

पछिल्लो समय नेकपाका बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने गरेका छन् । अहिलेसम्म पार्टी कार्यालयमा नेकपाका कुनै बैठक भएका छैनन् । ९ सदस्यीय सचिवालय बैठक सधैँ बालुवाटारमा बस्दै आएको छ । त्यस्तै यसअघि २ पटक बसेको स्थायी कमिटीको बैठक पनि बालुवाटारमा बसेको थियो । साउनयता स्थायी कमिटीको बैठक पनि बस्न सकेको छैन । 

प्रधानमन्त्री ओली यसबीच एक पटक मात्र पेरिसडाँडा पुगेका छन् । जेठ ४ गते पार्टी कार्यालय अवलोकनका लागि उनी पेरिसडाँडा पुगेका थिए । पार्टी एकता लगत्तै एक दुई पटक पार्टी महासचिव विष्णु पौडेललगायत केही शीर्ष नेता पेरिसडाँडा पुगेका थिए । तर पछिल्लो समय पेरिसडाँडामा तत्कालीन एमालेका शीर्ष नेता कोही पुगेका छैनन् । 

कार्यकर्ताहरू तत्कालीन आआफ्ना पार्टी कार्यालयमा मात्रै पुग्ने गर्छन् । तत्कालीन एमालेका नेता कार्यकर्ता पेरिसडाँडा पुग्ने गरेका छैनन् । त्यस्तै तत्कालीन माओवादीका नेता कार्यकर्ता पनि धुम्बाराही पुग्ने गरेका छैनन् । 

दुवै पार्टी कार्यालयमा तत्कालीन (एमालेका धुम्बाराही र माओवादीका पेरिसडाँडा) कर्मचारीहरू नै खटिएका छन् । पार्टीमा कुनै सर्कुलर जारी गर्दा पनि पेरिसडाँडाले तत्कालीन माओवादी तह र धुम्बाराहीले तत्कालीन एमाले तहलाई गर्ने गर्छ । 

‘अहिले पार्टी कार्यालयबाट केही काम भएका छैनन् । कार्यालय सुनसान छन् । पार्टीका गतिविधि खासै भएका छैनन् । पेरिसडाँडा पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने, ‘सचिवालय र स्थायी कमिटीको बैठक बालुवाटारमा बस्ने गरेको छ । नेताहरू पनि खासै कार्यालयमा आउने गर्नु भएको छैन ।’

उपाध्यायका अनुसार पेरिसडाँडामा तत्कालीन एमालेका नेता तथा कार्यकर्ता कमै मात्रामा पुग्ने गरेका छन् । अहिलेसम्म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली एक पटक मात्रै पेरिसडाँडा पुगेका छन् । प्रधनामन्त्री ओली धुम्बाराही भने पटक पटक पुग्ने गरेका छन् । 

प्रधानमन्त्रीको पार्टी कार्यालय पुग्ने सेड्युल कार्यान्वयन भएन

प्रधानमन्त्री ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका बनाए । महिनाको पहिलो दिन बिहान ११ देखि १ बजेसम्म धुम्बाराहीस्थित पार्टी कार्यालय र १५ गते पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोही समयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका उनको सचिवालयले विज्ञप्ती मार्फत सार्वजनिक गरेको थियो ।

सोहीअनुसार प्रधानमन्त्री ओली साउन १ गते धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेर कार्यकर्तासँग भेटघाट गरे । प्रधानमन्त्री ओली साउन १५ गते पेरिसडाँडा पार्टी कार्यालयमा भेटघाट गर्ने कार्यक्रम थियो । पेरिसडाँडामा सबै तयारी पनि भएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री पेरिसडाँडा आउन समय नमिलेको जानकारी दियो ।

पार्टी एकताको भाव दिन ओलीले पेरिसडाँडा जाने योजना पनि बनाएका थिए । 

प्रधानमन्त्री ओलीको दोस्रो कार्यक्रम थियो पेरिसडाँडा । तर, समय अभाव भन्दै उनी त्यहाँ गएनन् । त्यसयता प्रधानमन्त्रीको पार्टी कार्यालय पुग्ने सेड्युलले निरन्तरता पाउन सकेन । त्यसो त प्रधानमन्त्री ओलीले नेकपाका निर्वाचित सांसद भेटघाटका लागि पनि समय निर्धारण गरेका थिए । उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित नेकपाका सांसदलाई हरेक हप्ता भेट्ने गरी समय तय गरेका थिए ।

सांसदहरूले हरेक शुक्रबार अपरान्ह ३ देखि ५ बजेसम्म सिंहदरबारमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीसँग भेट्न सक्ने उनको सचिवालयले जनाएको थियो । प्रधानमन्त्री ओली नेकपाका संसदीय दलका नेतासमेत हुन् ।

संसदमा र सार्वजनिक कार्यक्रममा सरकारको नीति तथा कार्यक्रमको आलोचना हुन थालेपछि आफ्ना पार्टीका सांसदसँग छलफल सुरु गरेको बताइएको थियो । तर यो सेड्युललाई पनि प्रधानमन्त्री ओलीले निरन्तरता दिन सकेनन् । 

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटघाट आफ्नै निवास खुलमटारबाट गर्दै आएका छन् । 

पछिल्लो समय पार्टी एकताले पूर्णता नपाउँदा नेकपामा शिथिलता पैदा भएको छ । धेरै नेता कार्यकर्ता शीर्ष नेताको कार्यशैलीप्रति असन्तुष्ट बनेका छन् । पार्टी एकताले पूर्णता नपाउँदै गुट उपगुट देखिन थालेका छन् । पार्टी एकताले पूर्णता नपाउँदासम्म र बैठकहरू पार्टी मुख्यालयमा नबस्दासम्म धुम्बाराही र पेरिसडाँडा सुनसान नै हुने देखिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप