शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१३ वर्षीया बालिका हत्यामा संलग्न अभियुक्त सार्वजनिक

बिहीबार, २९ कात्तिक २०७५, १३ : ५१
बिहीबार, २९ कात्तिक २०७५

गाईघाट– गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन् । प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नामपरिवर्तन) र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याका अभियोगमा चार दिनको अनुसन्धानपछि आज सार्वजनिक गरिएको हो । 

प्रहरीका अनुसार गत शनिबार बालिका खड्का एक्लै घरनजीकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् । बालिका एक्लै देखेर दुई अभियुक्तले बालिका भएको स्थानमा गएर पक्रेर बलात्कारपछि हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेको अनुसन्धानले देखाएको प्रहरी प्रमुख राईले बताए ।

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजिकैको खरबारी पाखाको एक रूखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, घाँटीमा नीलडाम र मुखमा कपडा खादेको अवस्थामा मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ । 

घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शवपरीक्षणको लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ । अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तहरुलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको प्रहरीले बताएको छ । 

अभियुक्तहरु नेपालको कानूनअनुसार बालक नै भएको कारण पहिला अदालतको परामर्शअनुसार सुधारगृहमा पठाउने तयारी भइरहेको र पछि अदालतको दण्डसजायबमोजिम कारवाही अगाडि बढाउने प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप