मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्स उच्च जोखिममा, ऋणमात्रै ३२ अर्ब ८७ करोड पुग्यो

तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग
बिहीबार, २९ कात्तिक २०७५, १७ : ४२
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं–नेपाल वायुसेवा निगम उच्च जोखिममा रहेको निगमले बिहिबार सार्वजनिक गरेकोे स्वेतपत्रले देखाएको छ ।

श्वेतपत्रमा निगमको ऋण ३२ अर्ब ८७ करोड पुगेको देखाइएको छ । दीर्घकालिन पुँजी  जम्मा ३९ अर्ब ८२ करोड रहेको कम्पनीको ऋण नै ३२ अर्ब ८७ करोड पुगेको  हो । 

ऋणको  ब्याजमात्रै साढे १० प्रतिशतका दरले  भुक्तानी गर्नुपर्ने हुँदा निगमलाई उच्च दवाव छ । जसका कारण निगमको तरलता र नाफामा सिधै असर पर्न गएको श्वेतपत्रमा उल्लेख छ । 

स्वेतपत्रमा समस्या समाधानमा चाल्नुपर्ने कदमका बारेमा पनि उल्लेख गरिएको छ । 

यस्तो वित्तीय अवस्थालाई निगमको अनुकुल बनाउन नेपाल सरकारले तुरुन्तै पुँजी भित्र्याएर वित्तीय जोखिम न्यूनीकरण गर्न  सक्ने भन्दै श्वेतपत्रमा उल्लेख गरिएको छ ।

यस्तै  निगमले तिर्नुपर्ने दायित्व उच्च रहेको र  बाइडबडी जहाजले व्यावसायिक योजना अनुसार काम गर्न नसकिरहेको अवस्थामा सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोड दिइएको छ । 

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले वाईडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरिएको बताए । 

 वाइडबडी विमानको व्यवसायिक योजना अनुसार संचालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न तत्कालै नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक भएको उनको भनाई छ ।

यद्यपी अध्यक्ष खरेलले यो आर्थिक संकट भने अस्थायी रहेको जानकारी दिए ।  चार महिना भित्र वाइडबडी विमानले जापान, दक्षिण कोरिया, चीन र साउदी अरेवियाको उडान भर्ने र त्यसपछि निगमले अधिकतम मुनाफा आर्जन गर्ने अध्यक्ष खरेलको दाबी छ । 

निगमले सीमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेको पनि स्वेत पत्रमार्फत् जानकारी दिएको छ । 

अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्था गर्नुपर्ने पनि बताए । 

हाल निगमसँग १०१२ स्थायी   कर्मचारी र ४८३ करारका कर्मचारी रहेका छन् । 

‘वाइड बडी’ प्रकरणमा निगम मौन
यसैबीच दुईवटा ‘वाइड बडी’ विमान खरिद प्रक्रियामा आर्थिक चलखेल भएको भन्ने विषयमा भने निगम मौन बनेको छ । 

कार्यकारी अध्यक्ष मदन खरेलले वाइड बडी खरिद प्रक्रियामा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिन आलटाल गरे । 

उनले भने,‘ श्वेतपत्र जारी सम्बन्धीको जानकारीका लागि गरिएको पत्रकार सम्मेलन हो । वाइड बडी खरिदबारे उठेका प्रश्नको जवाफ दिन अर्को पत्रकार सम्मेल गछौँ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप