बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरसकार र दातृ निकायबीच छलफल

शुक्रबार, ३० कात्तिक २०७५, ०९ : ०७
शुक्रबार, ३० कात्तिक २०७५

बुटवल — प्रदेश नं ५ को विकास र समृद्धिका लागि विदेशी दातृ निकायले चासो देखाउन थालेका छन् । दातृ निकायका प्रतिनिधिहरुले के कस्ता क्षेत्रमा सहकार्य गरेर काम गर्न सकिन्छ भनेर प्रदेश सरकारसँग छलफल गरेका हुन् । 

उनीहरुले सङ्घीयताको कार्यान्वयन, प्रदेश सरकारको सञ्चालनको अवस्थालगायत विषयमा समेत प्रदेश सरकारसँग छलफल गरेका छन् ।

सोही क्रममा मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेरीले बिहीबार मुख्यमन्त्रीको कार्यालयमा भेट गरे । 

भेटमा सङ्घीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशको प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोगबारे छलफल भएको थियो ।

मुख्यमन्त्री पोखरेलले तीन तहको चुनावपछि प्रशासनिक पुनःसंरचनाले प्रशासनिक सङ्घीयता कार्यान्वयन हुने र वित्तीय सङ्घीयता कार्यान्वयन भएपछि सङ्घीयता पूर्णरुपमा कार्यान्वयन हुने जानकारी राजदूत बेरीलाई गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । 

भेटमा मुख्यमन्त्रीले प्रदेश ५ ‘मिनी नेपाल’को रुपमा रहेको भन्दै यो प्रदेशमा हिमाल, पहाड र तराई रहेको र नेपालका अरू सबै प्रदेशका विशेषता रहेको मुख्यमन्त्रीले राजदूतलाई जानकारी गराए । 

शहरीकरणलाई व्यवस्थित गर्न र कृषि उत्पादनको बजारलाई सुनिश्चित गर्न महानगरीय पूर्वाधार विकासको नमूना अघि सारिएको, प्रदेशको गरिबी हटाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अघि सारिएको मुख्यमन्त्रीले जानकारी गराएका थिए । 


राजदूत बेरीले नेपालको सङ्घीयता कार्यान्वयनमा अमेरिका सरकारले गर्नसक्ने सहयोगबारे जिज्ञासा राख्नका साथैे अमेरिकाले २५० वर्षदेखि सङ्घीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको बताएका थिए । 

राजदूत भएर आएपछि पहिलोपल्ट लुम्बिनी भ्रमण गरेकोमा मुख्यमन्त्रीले पोखरेलले राजदूत बेरीलाई धन्यवाद दिए । 

त्यसैगरी बिहीबार नै मुख्यमन्त्रीलाई बेलायती सहयोग नियोग डीएफआईडी अन्तगर्तको रोजगारका लागि सीप कार्यक्रमका टोलीनेता बाल्जित भोराले भेट गरेका थिए । 

भेटमा रोजगार सिर्जना, सीप विकास र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यका लागि प्रदेश सरकारसँग मिलेर कार्यक्रम गर्नेबारे छलफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप