शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो तामाकोशीको सेयर बाँडफाँट : ढिलाइ हुने तर आवेदन दिएका सबैले ४० कित्ता पाउने

शुक्रबार, ३० कात्तिक २०७५, ११ : ५६
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौँ । माथिल्लो तामाकोशीको सेयर बाँडफाँटमा ढिलाइ हुने भएको छ । कतिपय पहिले  सेयर भएकाहरुले दोहोर्याएर आवेदन दिएपछि दोहोरिएका आवेदन हटाउनका लागि  बिक्री प्रबन्धक नागरिक लगानीकोषले आवेदन जाँच गरिरहेको छ । कोषका मर्चेन्ट बैंकिङ विभागका प्रमुख रोशनजंघ कार्की आवेदन दोहोर्याएर दिएपछि समयमै सर्बसाधारणका लागि खुला गरिएको सेयरको बाँडफाँट गर्न नसकिएको बताउँछन् । 

यसअघि  कम्पनीले पहिलो चरणमा सञ्चयकोषका सञ्चयकर्ता र दोस्रो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि सेयर निष्काशन गरेको थियो । 

सो समयमा आवेदन दिएकाहरुले फेरी तेस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरिएको सेयरमा दोहोर्याएर आवेदन दिएपछि त्यस्ता आवेदकलाई हटाउने काम भइरहेको छ । कार्कीका अनुसार अहिलेसम्म १२ हजारको हाराहारीमा त्यस्ता आवेदकलाई छानिसकिएको छ । 

कार्कीले यस अघिका आवेदकलाई डिम्याट अनिवार्य नगरिएको कारण  अहिले छान्न समस्या भएको बताए । उनले भने, ‘डिम्याट भइदिएको भए सिस्टम आफैले त्यस्ता आवेदन लिदैनथ्यो । डिम्याट लागु नगरिएकाले दोहोरीको आवेदन छान्न झन्झट भइरहेको छ ।’

तेस्रो चरणको सेयरमा ३ लाख ४६ हजार १ सय ६६ जनाको ६ अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कोषले मंसिरको पहिलो साता सेयर बाँडफाँट गर्ने गरी काम अघि बढाएको छ । यदि सो समयमा पनि नसकिए दोस्रो सातामा भने बाँडफाँड हुने कार्कीले भने । कोषका अनुसार आवेदन दिएका सबैले चालिस कित्ता पाउने र केहीले ५० कित्ता पाउनेछन् । 

कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणको लागि सेयर निष्काशन गरेको थियो । सो सेयर अहिलेसम्म बाँडफाँट हुन नसकेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप